News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको सात महिना पुग्दा पनि केन्द्रीय कमिटीबाहेकका सांगठनिक संरचनाहरू समायोजन हुन सकेका छैनन् ।
- २५ सय सदस्यीय विशाल केन्द्रीय कमिटीको बैठक बस्न नसक्दा पार्टीका निर्णयहरू ‘केन्द्रीय कार्य संयोजन’ समितिले गर्दै आएको छ ।
- नेकपाले आगामी ११ देखि १५ मंसिरमा एकता महाधिवेशन गर्ने निर्णय गरे पनि जेठ मसान्तभित्र समायोजन टुंगिने सम्भावना न्यून देखिन्छ ।
१४ जेठ, काठमाडौं । पार्टी एकता भएको सात महिनासम्म पनि नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को संगठनात्मक संरचना एउटै बन्न सकेको छैन ।
अहिलेसम्म एउटै संरचनामा रहेको भनेको केन्द्रीय कमिटी मात्रै हो ।
गत १८ कात्तिकमा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा लगायतबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह-संयोजक भएर सुरु भएको एकतामा दुई दर्जन पार्टी एवं समूह मिसिएका छन् ।
धेरै वटा समूहबीचको एकता हुँदा केन्द्रीय कमिटीको आकार बैठक बस्नै नसकिने खालको छ । २९ पुसमा केन्द्रीय सदस्यहरूलाई शपथ गराउन समेत भर्चुअल माध्यमको उपयोग गर्नु परेको थियो ।

केन्द्रीय मुख्यालय पेरिसडाँडाको खुल्लाचौरमा उभिएर अथवा भर्चुअल माध्यमबाट केन्द्रीय सदस्यहरूले शपथ लिएका थिए । त्यसबेला २३ सय जना केन्द्रीय सदस्य रहेको अनुमान गरिन्छ । त्यो संख्या बढाएर २५ सय पुर्याउने निर्णय नेताहरूले गरेका थिए ।
यति ठूलो आकारको केन्द्रीय कमिटी बस्न नसक्ने बुझाइकै कारण पार्टी निर्णय लिन ‘केन्द्रीय कार्य संयोजन’ समिति बनाइएको छ । र, अहिलेसम्म नेकपाको औपचारिक निर्णय र गतिविधि यही संयोजन समितिबाट हुँदैआएको छ ।
‘पार्टीको निर्णय लिन र बैठक बस्नसक्ने संरचना भनेकै यही संयोजन समिति हो,’ एक शीर्ष नेता भन्छन्, ‘यसले पनि पार्टीलाई गति दिन सक्नेगरी निर्णय लिएको छैन । एकताको काम असाध्यै ढिलो भइसकेको छ । ’
राष्ट्रिय राजनीतिमा पार्टीका तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्न वक्तव्य निकाल्न संयोजन समितिलाई नेताहरूले प्रयोग गरिहँदा मातहतका नेता–कार्यकर्ताहरूसँग भने एकीकृत पार्टीको परिचय दिने कमिटी समेत छैन । कतिपय नेताहरूले खुलेरै असन्तुष्टि जनाउन थालेका छन् ।
‘माथि नेताहरू छन्, प्रदेश इन्चार्ज, सह-इन्चार्ज, संयोजक, सह-संयोजक सबै छन्, ’ केन्द्रीय सदस्य ओसिम आलमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर प्रदेश कमिटी अझै तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी नै छन् । जिल्लामा पनि यही दुई पार्टी, नगर र वडामा पनि उही दुई पार्टी । जनसंगठनहरू समेत दुईवटै छन् ।’
२५ वटा समूहबीचको एकता भनिए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी यसका मुख्य घटक भएकाले आलमले दुई पार्टी अभ्यास कायमै रहेको संकेत गरेका छन् । आलमकै जस्तो असन्तुष्टि जनाउने नेताहरू थुप्रै छन् ।

‘पार्टी एउटै भएको सात महिना भएपनि जनसंगठनहरूमा हामी अलग-अलग अभ्यास गर्दै आएका छौं,’ अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष मदन ढकाल भन्छन्, ‘एकता टुंग्याउन भनेर इन्चार्ज र सहइन्चार्ज तोकेको छ । अब चाँडै समायोजन टुंगिने आशा गरौं ।’
सरकारका निर्णयहरुविरुद्ध लगातारजसो भइरहेको प्रदर्शनमा नेकपा निकट विद्यार्थीहरूले अलगअलग ब्यानर प्रयोग गरिरहेका छन् ।
माओवादी तर्फका विद्यार्थीहरूले अनेरास्ववियु (क्रान्तिकारी) र एकीकृत समाजवादी तर्फका विद्यार्थीहरूले अनेरास्ववियूको ब्यानर बोकिरहेका छन् । नेतृत्व र संगठनात्मक संरचना पनि अलगअलग अभ्यास भइरहेको छ ।
पर्टी केन्द्रीय कार्यालयका उपप्रमुख मिना ज्ञवालीका अनुसार, अहिलेसम्म समायोजन टुंगिएको जानकारी केन्द्रीय कार्यालयमा पुगेको छैन ।
‘समायोजन सक्ने भनेर काम भइरहेको थुप्रै जानकारी आएको छ । तर अहिलेसम्म टुंगियो भनेर एउटा पनि आएको छैन,’ ज्ञवाली भन्छिन् ।
नेताहरूका अनुसार सात महिनासम्म समायोजन प्रक्रिया नुटंगिनुको अप्ठ्यारो तल्ला कमिटीहरूमा परिरहेको छ ।
‘हामी नेकपा भएको यतिका महिना भइसक्यो । अहिलेसम्म जिल्ला कमिटी अलगअलग छ, नगर र महानगर अलगअलग छ,’ केन्द्रीय सदस्य आलम भन्छन्, ‘यता संगठन अलपत्र पारेर नेताहरू भने एमालेसँग एकता गर्ने भन्ने हल्लातिर लागेको देखिन्छ ।’
यो बीचमा पार्टी फागुन २१ गतेक चुनावमा भाग लिइसक्यो । चुनावमा निकै ठूलो पराजय बेहोरेको नेकपाले त्यसपछि पनि पार्टीको संगठनात्मक काम पुरा गर्न सकेका छैनन् ।
जेठभित्र टुंगिन गाह्रो
गत १४ वैशाखमा सम्पन्न संयोजन समितिको बैठकले अलगअलग अभ्यासमा रहेको संगठनको समायोजन जेठ मसान्तभित्र सक्ने निर्णय गरेको थियो ।
आगामी ११–१५ मंसिरमा एकताको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय सहित कार्यतालिका नै सार्वजनिक गरेको नेकपाले असारदेखि सदस्यता नवीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
तर, अहिलेसम्म भएका कार्य प्रगतिविवरण हेर्दा जेठ मसान्तभित्र पार्टीको समायोजन प्रक्रिया टुंगिने सम्भावना देखिँदैन ।
भूगोल र जनसंगठनहरूका इन्चार्ज तोकेर समायोजन प्रक्रिया अगाडि बढाइएपनि अहिलेसम्म ठोस प्रगति देखिएको छैन ।
युवाको समायोजन टुंगाउन लक्ष्मण केसी, मजदुरकाे रामदीप आचार्य र विद्यार्थीको रत्न ढकाललाई जिम्मा दिइएको छ । सबै जनसंगठनहरूको समायोजन टुंग्याउनेगरी राजेन्द्र पाण्डे नेतृत्वमा मोर्चा संयोजन समिति बनेको छ ।
‘समायोजन टुंग्याउनेगरी छलफलहरु भइरहेका छन् । जिम्मेवारी पाउनु भएका नेताहरूले भेला र बैठक राखिरहनु भएको छ,’ केन्द्रीय कार्यालय प्रमुख गणेशमान पुनले भने, ‘यो महिनाभित्रै समायोजनका मुख्य काम सक्ने योजना छ ।’
नेताहरूका अनुसार जनसंगठनहरूमा संयोजक र सह–संयोजक तोक्नेगरी गृहकार्य भइरहेको छ । यी दुई पद टुंग्याएपछि केन्द्रीय कमिटी बनाउने र तल्लो कमिटी समायोजन प्रक्रिया बढाउने तयारी छ । तर अहिलेसम्म कुनैपनि जनसंगठन समायोजन हुन सकेका छैनन् ।
भूगोलको कमिटी समायोजन गर्नपनि निश्चित नेताहरूलाई जिम्मेवारी दिएर परिचालन गरिएको छ । कोशीमा राजेन्द्र राई इन्चार्ज र हर्क नेम्वाङ संयोजक तोकिएका छन् । उनीहरूले प्रदेश, जिल्ला र स्थानीय कमिटी समायोजनबारे काम गरिरहेका छन् ।
मधेशमा महिन्द्र राय यादव इन्चार्ज र राजु खड्का संयोजक छन् । बागमतीमा गंगालाल तुलाधार इन्चार्ज र सरल सहयात्री संयोजक, गण्डकीमा देवेन्द्र पौडेल इन्चार्ज र कृष्ण नेपाली संयोजक, लुम्बिनीमा चक्रपाणि खानाल इन्चार्ज र अब्दुल हुसेन संयोजक रहेर काम गरिरहेका छन् ।
कर्णालीमा चन्द्रबहादुर शाही इन्चार्ज र विमला केसी संयोजक, सुदूरपश्चिममा भानुभक्त जोशी इन्चार्ज र हरिराम चौधरी संयोजक भएर समायोजनको काम गरिरहेका छन् ।
‘प्रदेश र जिल्लाहरूको समायोजन टुंग्याउने काम पनि भइरहेको छ । केही प्रदेशले बैठक राखिसकेको छ भने केहीको मिति तोकिएको छ,’ पुनले भने । उनका अनुसार लुम्बिनीमा १८-१९ जेठ र गण्डकीमा १७ जेठमा बैठक बस्दैछ ।
प्रतिक्रिया 4