News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
- नेता सिंहले पार्टीभित्र विशेष र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह देखिएकाले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताए ।
- उनले सदस्यता अद्यावधिक गर्ने नाममा कार्यकर्तामा डर त्रास सिर्जना नगर्न र प्रविधिको दुरुपयोग गरी विधि मिच्ने प्रवृत्ति रोक्न चेतावनी दिए ।
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधिको शासन स्थापित गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका हुन् ।
नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधानको रक्षा गर्दै जनताका इच्छा र आकांक्षाहरू पूरा गर्न पार्टीले आफ्ना कमी–कमजोरीहरू सुधार गर्नुपर्ने बताए ।
पार्टीको आन्तरिक विवाद र आसन्न १५ औँ महाधिवेशनका विषयमा चर्चा गर्दै नेता सिंहले हाल पार्टी दुई धारमा विभाजित देखिएको टिप्पणी गरे । उनले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह देखिएकाले १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्नेमा जोड दिए ।
यसका लागि दुवै पक्षलाई विश्वासमा लिने गरी एउटा साझा र भरपर्दो संयन्त्र निर्माण गरेर मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने उनको सुझाव छ ।
‘हाम्रा आदरणीय संस्थापक नेताहरूले जुन संस्कार र मूल्य–मान्यताका आधारमा कांग्रेस स्थापना गर्नुभयो, त्यसलाई जीवन्त राख्नु आजको मुख्य चुनौती हो,’ उनले भने, ‘१५ औँ महाधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ वितरण भइसकेको अवस्थामा फेरि अद्यावधिक गर्ने नाममा कार्यकर्तामाझ डर र त्रास सिर्जना गर्नु उचित हुँदैन ।’
प्रविधिको प्रयोगको नाममा विधि र प्रक्रिया मिचेर आफ्ना पक्षकालाई मात्र स्थान दिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने चेतावनी समेत उनले दिए ।
देशको वर्तमान राजनीतिक परिस्थिति र लोकतान्त्रिक प्रणालीमाथि आइलागेका चुनौतीहरूको सामना गर्न कांग्रेस एकढिक्का हुनुपर्ने उनको तर्क छ ।
प्रतिक्रिया 4