Comments Add Comment

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सहभागिता हुने

१८ वैशाख, सियान । यसवर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष एवम् उच्चस्तरीय सहभागिता हुने भएको छ ।

भगवान गौतम बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा (बुद्ध पूर्णिमा) लाई नेपालले अन्तर्राष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने घोषणा गरेको छ ।  यसवर्ष आगामी जेठ ८ गते परेको यस जयन्तीका क्रममा नेपाल सरकारले जेठ ६ गतेदेखि काठमाडौं र लुम्बिनीमा तीन दिनसम्म सम्मेलनका विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

चीनबाट ठूलो सङ्ख्यामा बौद्धमार्गी, विद्धान विदुषी तथा बौद्ध भिक्षु र बौद्ध दर्शनका अद्येताहरुका साथै चीन सरकारका तर्फबाट ठूलो सहभागिता हुने भएको बताइएको छ ।

सोही सम्मेलनका क्रममा लुम्बिनीमा चिनियाँ भिक्षु सुआन चाङको मूर्ति पनि राख्ने तय भएको छ । चाङ्ले नै नेपालबाट बुद्ध धर्म चीन लगेर प्रचारप्रसार गरेका थिए ।

यस सम्मेलनमा चीनको सान्सी प्रान्तका प्रमुख उपमन्त्री याओ यिनलिङ नेपाल आउने र उहाँकै उपस्थितिमा लुम्बिनीमा चाङ्का मूर्तिको अनावरण गरिने कार्यक्रम रहेको छ ।

त्यस्तै हेनान प्रान्तका बौद्धगुम्बा विभागका प्रमुख पनि सम्मेलनमा सहभागी हुने निश्चित भएको छ ।  चिनियाँ सान्सी प्रान्तको सियानमा अवस्थित सियान विश्वविद्यालयका प्राध्यापक डा. राजिवकुमार झाले केही महिनादेखि सान्सी, हेनान, सिचुवान प्रान्तका साथै राजधानी बेइजिङ्मा यस विषयमा व्यापक प्रचार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत महिना भएको चीन भ्रमणका क्रममा सिचुवान प्रान्तीय सरकारले प्रा डा.झालाई नेपाल र चीनको सिचुवान प्रान्तबीचको मैत्री सम्बन्ध प्रवद्र्धन गर्ने सद्भावना दूतका रुपमा नियुक्त गरेको थियो ।

चीनका उच्च सरकारी अधिकारीसँग नै सहभागिताका लागि कुराकानी भइरहेको तर अहिलेसम्म व्यक्ति को भन्ने बारेमा भने निश्चित नभएको उनले जानकारी दिए ।

गौतम बुद्धको २५६० औँ जयन्तीका अवसरमा मनाइने यस सम्मेलनमा ४० देशका भिक्षुलाई आमन्त्रण गरिएको र अहिलेसम्ममा २२ देशको सहभागिता निश्चित भएको जानकारी  सरकारले दिएको छ । सम्मेलनमा ४०० प्रतिनिधिको सहभागिता हुने बताइएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले यस पटकको सम्मेलनमा विश्वका कैयौँ देशको प्रतिनिधित्व हुने हुँदा यसले नेपालमा धार्मिक पर्यटनको आगमनमा ठूलो सहयोग पुग्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment