Comments Add Comment

भारतीय मिडियाको दावीः भारतले बौद्ध सम्मेलन बहिष्कार गर्ने

India-Flag

३० वैशाख, काठमाडौं । नेपालमा अर्को साता आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भारतले औपचारिकरुपमै बहिष्कार गरेको दावी एक भारतीय अनलाइनले गरेको छ । क्याचन्युज डटकममा प्रकाशित समाचारअनुसार सम्मेलनमा चीनले हात हालेको निस्कर्ष निकाल्दै आफ्नो तर्फबाट सहभागीता नजनाउने निर्णय भारतले लिएको हो ।

क्याचन्युज डटकमका सम्पादक एवं वरिष्ठ पत्रकार भरतभुषण आफैंले लेखेको समाचारमा कुनै स्रोतको हवाला भने दिइएको छैन । तर, भारतका कुनै पनि तहका सरकारी अधिकारी सम्मेलनमा उपस्थित नहुने ठोकुवा गरिएको छ । नेपालले सम्मेलनमा भाग लिन विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुलाई निमन्त्रणा गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने सम्मेलन अवधिभरी इरानमा हुने भएकाले उनको अनुपस्थिति स्वतः निश्चित भइसकेको छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय सम्मेलनमा सहभागी हुन करिब दुई दर्जन देशमा निमन्त्रणा पठाइएको बताउछन् । भारतबाट कसैको पनि सहभागीता नहुने भन्ने आफ्नो जानकारीमा नरहेको उनले उल्लेख गरे ।

‘हामीले श्रीलंका र चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री तथा १३ देशका संस्कृति मन्त्रीहरुलाई निमन्त्रणा पठाएका छौं । सम्वन्धित देशहरुबाट कन्फर्मेसन आउने क्रम जारी छ,’ उनले भने । अहिलेसम्म कुनै पनि देशबाट हाइप्रोफाइल भ्रमण तय नभएको उपाध्यायले जानकारी दिए ।

दुई कारणले भारत रिसायो

भुषणले आफ्नो लेखमा दुई वटा कारणले भारतीय अधिकारीहरु नेपालसँग दुखी बनेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘नेपालको संस्कृति मन्त्रालयले सम्मेलन र लुम्बिनीमा बुद्ध जयन्तीका लागि १५ लाख डलरको सहायता चीनबाट लिएको आशंका भारतीय संस्थापनको छ ।’

सो रकमको एउटा अंश चीनको माउन्ट वुटाइ, माउन्ट इमेइ, माउन्ट पुटुओ र माउन्ट जिउहुवामा रहेका चिनियाँ धार्मिक स्थलहरुमा अवस्थित चार ठूला गुम्बाहरुमार्फत चन्दाका रुपमा हस्तान्तरण गरिएको लेखमा दावी गरिएको छ । प्रत्येकबाट एक लाख डलर लिइएको र बाँकी रकम चीनको बुद्धिस्ट एसोसिएसन, लुम्बिनीस्थित चाइनिज टेम्पल र काठमाडाैंमा रहेका विभिन्न चाइनिज होटल तथा वाणिज्य एसोसिएसनहरुमार्फत आएको पनि लेखमा उल्लेख छ ।

दोस्रो कारणका रुपमा नेपालको संस्कृति मन्त्रालयले चिनीया प्रभावमा परेर सम्मेलनको नारा परिवर्तन गरेको भुषणले उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘पहिले यसको नारा ‘नेपालको बौद्ध सम्पदाको विकास र संरक्षण’ रहेकोमा यसलाई परिवर्तन गरी नेपाल बर्थप्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेनहेड अफ बुद्धिज्म राखिएको छ ।’ संस्कृति मन्त्रालयका प्रवक्ता उपाध्यायले भने सुरुमै यही नारा तय गरिएको अनलाइनखबरलाई बताए ।

चीनकै सहयोगमा नेपाललाई बुर्द्ध धर्मालम्बिहरुको आस्था केन्द्रका रुपमा विकास गरेर भारतको बोधगयालाई ओझेलमा पार्न खोजेको आरोप भुषणले लगाएका छन् । ‘नेपालका प्रधानमन्त्री केपी ओलीले मिडियासँग सम्मेलनले बुद्धत्व र बौद्ध दर्शन नेपालबाट प्रारम्भ भएको तथ्य प्रमाणित गर्ने र अन्य सबै भ्रमहरु निवारण गर्ने दावी गरेका छन्,’ आलेखमा भनिएको छ । नेपालका उग्र राष्ट्रवादीहरु सिद्धार्थ गौतमले भारतमा रहेको बोधगयामा ज्ञान प्राप्त गरेको तथा आधुनिक भारतमा उनको जन्म भएको कुरा सुन्दा मात्रै पनि उत्तेजित हुने आरोप लेखकले लगाएका छन् ।

उनी अगाडि लेख्छन्, ‘केपी ओली अहिले के तर्क गर्छन् भने यदि बुद्धले लुम्बिनीमा नै ज्ञान प्राप्त गरेका थिएनन् भने उनी कसरी आफ्नो परिवार, राजमुकुट र आफ्ना बहुमूल्य वस्तुहरु त्याग गर्न सफल हुन्थे ?’

नेेपालका संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले बोधगयामाथि लुम्बिनी हावी गराउन नेपाल र चीनबीच पुलको काम गरिरहेको दावी पनि गरेका छन् भरतभुषणले । उनी लेख्छन्, ‘मन्त्री पोखरेलले मिडियासँग अन्तर्राष्ट्रिय सम्मेलनले नेपाल बौद्ध दर्शनको स्रोत भएको र बुद्धको जन्मभूमि र कर्मभूमि भएको मिडियालाई बताएका छन् । यसलाई भारतीय संस्थापनले नेपालका बौद्धमार्गीहरुलाई विभाजित गर्ने नेपाली षडयन्त्रको उपज मानेको छ, ताकि उनीहरु बोधगयाको साटो लुम्बिनी मात्र भ्रमण गरुन् ।

यसलाई नेपालको आफ्नै नभएर चीनले तराई (जहाँ लुम्बिनी अवस्थित छ) मा आफ्नो पकड जमाउन गरेको रणनीतिक योजनाको प्रतिफल मानेका छन् उनले ।

‘लुम्बिनीमा ठूलो संख्यामा चिनियाँहरुको उपस्थिति चिन्ताको विषय हुने छ,’ एक अधिकारीलाई उद्वृत गर्दै भरतभुषण लेख्छन् ।

लेखको अन्त्यमा भनिएको छ, ‘सिद्धार्थ गौतम एक मात्र मधेसी हुन् जसलाई केपी ओली आफ्नो साथमा राख्न चाहन्छन् ।’

बौद्ध सम्मेलन आउँदो ६ र ७ जेठमा काठमाडौंमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment