+
+
Shares

विमानस्थलभित्र ठेक्काको म्याद थपिएकोमा संसदीय समितिको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३१ गते १९:३०

TIA Airport (7)

३१ वैशाख, काठमाडौं । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार सम्बन्धमा विभिन्न ठेक्काको म्याद बढाइएकामा आपत्ति जनाउँदै छानविन गरेर दोषी कर्मचारीमाथि कारवाही गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले शुक्रबार पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, सचिव प्रेमकुमार राई लगायतलाई बोलाएर छलफल गरी सम्झौतामा तोकिएको समयसीमा अनुसार काम गर्नुको साटो ठेक्काको म्याद बढाउने तथा भेरियसन समेत परिवर्तन गर्ने काम भइरहेको भन्दै छानविन गरेर दोषी कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत आधा दर्जनभन्दा बढी काम सुरु गरिएकामा कुनै पनि काम समयमा पूरा हुन सकेका छैनन् । समितिले हवाइ उडान तोकिएको समयमा नै गर्ने, लगेजहरु समयमा दिने तथा सेवाग्राहीलाई मैत्रीपूर्ण व्यवहार गर्ने व्यवस्था मिलाउन, विमानस्थलको सरसफाइमा सुधार गर्न र पसलहरुलाई व्यवस्थित तुल्याउन पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ । समितिले ठोस मापदण्डका आधारमा विमानको भाडा निर्धारण गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउने काम भइरहेको तर पसल हटाउन भने नसकिएको बताए । उनले आफूले हटाउने निर्णय गरेका पसलहरु अदालतबाट अन्तरिम आदेश गराएर संचालनमा रहेको भन्दै मन्त्रालय एक्लैको प्रयासले मात्र विमानस्थलको सुधार सम्भव नदेखिएको दुखेसो गरे ।

बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने लगायतका अधिकृतहरुले आ आफ्नो जिम्मेवारीमा पर्ने काममा सुधार गरेर विमानस्थलको अवस्था सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?