Comments Add Comment

कपिलवस्तुका दुई गाविस शतप्रतिशत भर्नायुक्त घोषित

kapilbastu-100%-admit
३१ वैशाख, कपिलवस्तु । कपिलवस्तुको सुदूर पश्चिममा पर्ने शिवगढी र राजपुर गाविस जिल्लाकै पहिलो शतप्रतिशत भर्नायुक्त गाविस घोषित भएका छन् । प्राथमिक विद्यालय उमेर समूह (३-१२ वर्ष) का सबै बालबालिकाहरु विद्यालय भर्ना भइसकेकाले दुई गाविसलाई शतप्रतिशत भर्नायुक्त घोषणा गरिएको हो ।

शिवगढी गाविसको कार्यालय, गाउँ बाल संरक्षण तथा सम्बर्द्धन उपसमिति र गाउ शिक्षा समिति र गाविसस्थित सबै विद्यालयहरुको संयुक्त पहलमा गाविसलाई शतप्रतिशत भर्नायुक्त गाविस घोषणा गर्न सफल भएको गाविस सचिव शान्ति प्रसाद सुवेदीले बताए ।
गाविसलाई शतप्रतिशत भर्नायुक्त घोषणा गर्न कालिका स्वावलम्बन सामाजिक केन्द्रको आर्थिक एवं प्राविधिक सहयोग तथा जिल्ला शिक्षा कार्यालयको समन्वय रहेको थियो ।

भर्ना अभियानका क्रममा गाविसभर विद्यालय बाहिर रहेका ३-१२ वर्ष उमेर समूहका ४ सय ८० बालबालिकाहरु पायक पर्ने नजिकको विद्यालयमा भर्ना भइसकेको तथ्यांकका आधारमा गाविसलाई शतप्रतिशत भर्नायुक्त गाविस घोषणा हुन सफल भएको गाउँ
शिक्षा समिति सदस्य सचिव पर्शुराम सुवेदीले बताए ।

विद्यालय उमेर नपुगेका ८२ बालबालिका मात्र विद्यालय बाहिर रहेको भर्ना अभियानका क्रममा फेला परेको सुवेदीले जनाए । सरस्वती निमावि बनियाभारका प्रधानाध्यापक विक्रम केसीका अनुसार सेवाक्षेत्रमा भर्ना अभियानका क्रममा अभिभावकहरुको हस्ताक्षर संकलन गर्दै बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन सफल भएको हो ।

भर्ना अभियानका क्रममा प्रकाश उच्च माविमा २१४ बालबालिका, नेपाल राष्ट्रिय निमावि भगवानपुरमा ४० बालबालिका, सरस्वती निमावि बानियाभारमा ८०, शिवगढी प्रावि बिजगौरीमा २७, शिव प्रावि रमवादहमा ४७ र शिवराज निमावि धानखोलामा ३० बालबालिका यस शैक्षिक सत्रमा विद्यालय भर्ना भएका छन् । यसैगरी ४२ जना बालबालिकाहरु निजी विद्यालय ग्रेट एम एकेडमीमा भर्ना भएको बताइएको छ ।

पूर्ण साक्षर घोषणा सभामा स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले दुर्गममा भएपनि सबैले शिक्षाको महत्वलाई बुझेर जिल्लामै पहिलो शतप्रतिशत भर्नायुक्त गाविस घोषणा गर्न सफल भएकोमा धन्यवाद दिए ।

कार्यक्रमका जिल्ला शिक्षा अधिकारी हरि गौतमले जिल्लामै पहिलो शतप्रतिशत भर्नायुक्त गाविस घोषणा हुन सफल भएकोमा खुशी व्यक्त गर्दै जिल्ला शिक्षा कार्यालयबाट हुनसक्ने हरेक क्षेत्रमा सहयोग पुर्‍याउने प्रतिबद्धता जाहेर गरे ।

राजपुर गाविसमा कुल १ हजार ३ सय ३५ जना निरक्षर पाइएपछि उनीहरुलाई १४ माहिना कक्षा सञ्चालन गरी साक्षर बनाइएको छ ।
जिल्लाका ६ नगरपालिका र ५३ गाविसमध्ये शतप्रतिशत भर्ना गराउने पहिलो सूचीमा जिल्लाको सुदूर पश्चिमी शिवगढी  र राजपुर गाविसले यो सफलता पाउनुलाई धेरैले खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment