Comments Add Comment

बैद्य माओवादी फुट्यो, मोहन बैद्यले भने-बादल समूह अवसरवादी गुट

Mohan baidhya Kiran

१ जेठ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले पार्टी फुटबारे औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले छुट्टै बैठक गर्ने रामबहादुर थापा बादल समूहलाई नवसंशोधनवाद परस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटको संज्ञा दिएका छन् ।

निवर्तमान महासचिव बादलले शनिबार आफ्नै अध्यक्षमा केन्द्रीय समितिको बैठक राखेर एमाओवादीसँग भएको १२ बुँदे समझदारी अनुमोदन गरेको छ र पार्टी एकता अघि बढाउने निर्णय गरेको छ ।

यससँगै बैद्य माओवादी फुटेको छ । पार्टीमा आएको फुटपछि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले विज्ञप्ति जारी गर्दै बादल गुटलाई अवसरवादी गुट भएको आरोप लगाएको छ ।

बैद्यले बादल र एमाओवादीबीच भएको १२ बुँदे सहमतिबारे पनि बालेका छन् । बादल र देव गुरुङले एमाओवादीसँग साँठगाँठ गरेर तयार पारिएको उक्त सहमति आफूलाई थमाइएको र मान्न भनिएको भन्दै बैद्यले भनेका छन्, सांगठनिक रूपमा यसले जनवादी केन्द्रीयताको गम्भीर उल्लंघन गरेको छ । यो गुटवाद तथा फुटवादमा आधारित छ ।’

दक्षिणपन्थी नवसंशोधनवादी राजनीतिक कार्यदिशा लिएको र संविधानको प्रश्नमा यो प्रस्ताव मूलतः एमाओवादीकै नीति, मान्यता र दृष्टिकोणमा आधारित रहेको भन्दै उनले १२ बुँदे कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा र आफ्नो पार्टीविरुद्ध छलछामपूर्ण तथा षड्यन्त्रमूलक ढङ्गले ल्याइएको बताएका छन् ।

क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले आफूहरु इतिहासको अत्यन्तै जटिल मोडमा रहेको भन्दै पााचबुादे योजना पनि अघि सारेका छन् ।

पहिलोः कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई जुनसुकै शर्तमा पनि बचाएर राख्नुपर्छ र क्रान्तिकारी धारालाई ध्वस्त पार्ने षड्यन्त्रविरुद्ध निर्मम सङ्घर्ष चलाउनुपर्छ । नेकपा क्रान्तिकारी माओवादीलाई दक्षिणपन्थी संशोधनवादी, संसदवादी तथा प्रतिक्रियावादी राज्यसत्ताको धारमा फसाउन र देश, जनता, मुक्ति तथा क्रान्तिको धारालाई ध्वस्त पार्नका लागि साम्राज्यवाद, विस्तारवाद, घरेलु प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादद्वारा भयानक षड्यन्त्र भइरहेको छ भन्दै बैद्यले त्यसको दृढतापूर्वक सामना गर्नु पर्ने बताएका छन् ।

दोस्रोः क्रान्तिकारी सिद्धान्त र कार्यदिशाको रक्षाको प्रश्न हाम्रो कार्यसूचीको प्राथमिक महत्वको विषय बन्न गएको बैद्यले बताएका छन् । उनले पार्टीले लिएको नयाा जनवादलाई न्यूनतम र समाजवाद तथा साम्यवादलाई अधिकतम कार्यक्रमका रूपमा स्वीकार गर्ने नीति सही भएको बताए । अब पार्टीले क्रान्तिकारी सिद्धान्त, विचार र कार्यदिशालाई अवलम्बन, प्रयोग र विकास गर्नु पर्नेमा जोड दिएका छन् ।

तेस्रोः रामबहादुर थापा बादल समूहका विरोध र क्रान्तिकारी धाराको पक्षमा उभिई बेहिचक अगाडि बढ्नु आजको ऐतिहासिक आवश्यकता भएको उनले बताए ।

चौथोः राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न निकै गम्भीर बन्दै गएको उनले बताए । जनजीविकाका समस्या निकै विकराल बन्दै गएका भन्दै उनले भनेका छन्, यसस्थितिमा वर्गसङ्घर्षसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि क्रान्ति अनिवार्य रूपमा आवश्यक छ र त्यसको नेतृत्वका लागि हामी वैकल्पिक शक्तिका रूपमा पहल गर्न पुनः प्रतिबद्धता जाहेर गर्दछौं ।

पाँचौंः अब केन्द्रीय समितिको बैठक बसेर पार्टीको तात्कालिक तथा दीर्घकालीन कामका बारेमा आवश्यक रूपरेखा तयार पार्ने र निर्णय लिनु पर्ने बैद्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment