Comments Add Comment

चितवनको माडीमा विद्युत् परीक्षण सफल

२ जेठ, चितवन । दक्षिण चितवनको माडी नगरपालिकामा दुई दशकको प्रयासपछि विद्युत् परीक्षण सफल भएको छ । उपभोक्ताको फिडरमा इतिहासमै पहिलो पटक शनिबार रातिदेखि विद्युत् पुगेको हो ।

Madi-Chitwanसाँझ माडीको उपभोक्ताका लागि पठाउने विद्युत् प्रसारण लाइनमा विद्युत् पठाएर परीक्षण सफल भएको ऊर्जा मन्त्रालयअन्तर्गत उक्त परियोजना हेर्दै आएको योजना तथा प्राविधिक सेवा विभागका सहायक प्रवन्धक विश्वरञ्जन मिश्रले जानकारी दिए ।

‘हामीले अहिले सफल परीक्षण गर्यौँ, अब स्थानीयलाई विद्युत् दिन कुनै समस्या छैन,’ मिश्रले भने, ‘मागअनुसार प्राथमिकताका आधारमा विद्युत् वितरण हुन्छ ।’

माडीमा २०५१/५२ देखि नै विद्युत् ल्याउनका लागि पहल भए पनि सफल हुन सकेको थिएन । उक्त समयमा गाडिएका पोलका अझै केही अवशेष बाँकी भएका बेला दुई दशकपछि बल्ल माडीमा विद्युत् पुगेको छ । अहिलेसम्म स्थानीय सोलार र टुकीको सहारामा थिए ।

एक वर्षअघि नै विद्युत् उपभोग गर्नुपर्नेमा प्राविधिक समस्याका कारण सफल हुन सकेको थिएन । अहिले भने सबै परीक्षण सफल भएपछि माडीवासी उत्साहित भएका छन् ।

माडीमा विद्युत् पठाउन दुईवटा फिडर रहेका छन् । सो फिडरमै शनिबार विद्युत् परीक्षण भएको हो ।

दुर्ई दशकको पर्खाइपछि स्थानीयको बिजुली बाल्न पाउने आशा पूरा हुन लागेकाले आफूहरु खुसी रहेको स्थानीय गोविन्द न्यौपानेले बताए ।

गएको बुधबार माडीको शव स्टेसनमा विद्युत् पुर्याइएको भएपनि उपभोक्ताको फिडरमा छाडिएको थिएन ।

अहिलेसम्म विद्युत् बाल्ने आशा बोकेर बसेका उपभोक्ता यो वर्षदेखि भने उपभोग गर्न पाउने भएपछि खुसी भएको स्थानीय ओमनाथ पाण्डेले बताए ।

चितवनको सदरमुकाम भरतपुरबाट करिब ४० किमी दक्षिणमा माडी नगरपालिका पर्छ । यो क्षेत्र जान चितवन निकुञ्ज पार गरेर जानुपर्ने भएकाले अहिलेसम्म विद्युत् बाल्न नसकेको हो । अहिले निकुञ्जमा करिब आठ किमीमा जमिनमुनिबाट तार लगिएको छ ।

विगतका समस्यालाई समाधान गरेर विद्युत् माडी पुर्याइएको चितवनका विद्युत् इन्जिनियर राजेन्द्र पौडेल बताउँछन् । भरतपुर–माडी ३३ केभी ग्रामीण विद्युतीकरण आयोजना र चनौली–जगतपुर ३३ केभी विद्युतीकरण आयोजनाले यहाँ काम गर्दै आएको छ ।

अहिले माडीको एक तिहाइ क्षेत्रमा पोल गाडेर तारसमेत टाँगिएको छ । पहिलो चरणमा पोल गाडेको क्षेत्रमा पनि विद्युत् प्रवाह गर्न स्थानीयले दबाब दिँदै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment