+
+
Shares

गायक पंगेनी भन्छन्ः भारतको अध्यागमनका कर्मचारीले गीत गाउन आदेश दिए

'नेपाली कलाकार भनेपछि बिमानस्थलदेखि नै तुच्छ व्यवहार हुन्छ'

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ५ गते १७:०४

badri-pangani५ जेठ, काठमाडौं । बलिउड नायिका सोनाक्षी सिन्हालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका जर्नेलले स्वागत गरेको लोक गायक बद्री पंगेनीलाई मन परेको छैन । ‘संस्कृतिमन्त्री वा उप-प्रधानमन्त्री नै गएको भए बरु केही फरक पर्दैन थियो । तर, जर्नेलहरु जान हुन्थेन,’ उनी भन्छन् ।

नेपाली सेनाको आफ्नै गौरबशाली इतिहास र प्रतिष्ठा भएको भन्दै बद्रीले भने ‘यस्ता झिना मसिना काममा अल्झिन थाल्यो भने सेनाको गरिमा घट्न सक्छ ।’

स्वस्थ्य उद्देश्य बोकेर आउने कुनै पनि देसका कलाकारको स्वागत गर्न कन्जुस्याई गर्न नहुने धारणा राख्दै उनी भन्छन् ‘कसलाई कसले कसरि स्वागत गर्ने हो स्पष्ट हुनुपर्छ ।’

भारतमा सांस्कृतिक कार्यक्रम गरेर केही दिनअघि नेपाल फर्केका छन् गायक बद्री पंगेनी । भारतबाट फर्केपछि बद्रीले देखे, भारतीय हिरोइनहरुको नेपाली मिडियामा धुमधडाक समाचार ।

भारतबाट आएका कलाकारलाई एयरपोर्टदेखि नै हाई-हाई भयो र मिडियाले लगातार पछ्याए । बद्री भारत जाँदा चाहिँ के भयो होला ?

अमेरिका लगायत विश्वका धेरै मुलुकको भ्रमण गरिसकेका बद्रीले भारतको बिमानस्थलमा नेपाली कलाकारलाई सबैभन्दा तुच्छ व्यवहार गरिने अनुभव संगालेका छन् । उनी भन्छन्, ‘नेपाली कलाकार भनेपछि भारतको विमानस्थलदेखि नै हेप्ने क्रम सुरु हुन्छ । अध्यागमनका कर्मचारीले हदैसम्मको फाल्तु प्रश्नहरु गर्छन् ।’

भारतको बिमानस्थलमा अध्यागमनका कर्मचारीले यसपटक पनि उनलाई दिएका रहेछन् । ‘आफू नेपालको गायक भएको बताउँदा गीत गाएर सुना भन्छन्,’ पंगेनीले भने । गीत गाउन भन्नेहरुलाई आफूले पनि ठाडो जवाफ दिएको बताए उनले । ‘म तिम्रो अफिसमा हैन प्रोग्राममा गीत गाउन आएको हुँ भनिदिएँ,’ बद्रीले भने ।

आफूले ठाडो जवाफ दिँदा कहिले होटलको टेलिफोन नम्बर मिलेन त कहिले  के मिलेन भनेर अल्मल्याएको उनले सुनाए । अन्य नेपाली कलाकारलाई पनि यस्तै गरी भारतीय अध्यागमनका कर्मचारीले हेपेको देखेका छन् बद्रीले ।

भारतीय प्रहरी र कर्मचारीको नेपालप्रतिको दृष्टिकोण नै नकारात्मक भएको अनुभव गरेका बद्रीले भने- ‘ठूलो देशमा जन्मेपछि सबै हिसाबले ठूला छौं भन्ने मानसिकता राख्छन् भारतीय ।’

भारतीय जनता साथमा छन्

वल्र्ड गोर्खा फाउन्डेसन ट्रष्टको निम्तोमा भारतको नयाँ दिल्लीमा आयोजित सांस्कृतिक कार्यक्रममा गीत प्रस्तुत गरेर फर्किएका लोक गायक बद्री पंगेनीले नयाँ सन्देश लिएर आएका छन् । तीन दिन दिल्लीमा बिताएका बद्रीलाई दिल्ली पुग्नु अघिसम्म लागेको थियो त्यहाँ भएका भारतीय र नेपाली जनताबीचको दुरी बढेको होला ।

कार्यक्रम सुरु भयो । स्टेजमा उभिएर हेरे, भारतीय र नेपाली दर्शक बराबर थिए । भारतले गरेको अघोषित नाकाबन्दीको पिडा उनको मनमा ताजै थियो । गीत पनि त्यस्तै थियो ।

सर्लाहीको उखुले राम्रो भाउ पाउदैन
भारतीय चिनीको भाउ बढ्दैछ
हुने खानेहरु महलमै रमाउछन
मधेशमा मधेशी भोकै लड्दैछन् …

गीत सुनेर वाह वाह भन्ने त कति हो कति । यस्तै यस्तै थुप्रै राष्ट्रवादी गीत गाए उनले । उनको प्रत्येक गीतमा ताली बजाएर साथ दिनेहरुमा भारतीय जनता धेरै थिए । नेपाली मुलका मात्रै हैन, भारतीय मुलकाहरुले समेत बद्रीको राष्ट्रवादी गीत सुनेर मनोरञ्जन लिए ।

कार्यक्रम सकिएपछि भारतीय दर्शक र बद्रीको कुराकानी भयो । धेरैको भनाई थियो ‘भारतीय शासकले नेपाली जनतालाई दुःख दिए तर,  हामी दुःखी छौं ।’ भारतीय जनता सँधै नेपाली जनताको साथमा रहेको भन्दै अघोषित नाकाबन्दीले नेपालीले दुःख पाउदा आफ्नो पनि मन दुखेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?