Comments Add Comment

धरहराको ईंटा डम्पिङ साइट लगिँदै, सरकारी अधिकारी भन्छन्ः मतलब छैन

Tundhikhel-dharahara
६ जेठ, काठमाडौं । गत वैशाख १२ को भूकम्पमा ढलेको काठमाडौं सुन्धारास्थित धरहराका थुप्रै ईंटा चोरी भए । पुरातात्विक महत्वको ईंटाको चोरीमा सरकारी हाकिमदेखि सर्वसाधारण पनि लागेको खबर एक वर्षअघि अनलाइनखबरले प्रकाशित गर्‍यो ।

(यो पढ्नुस्ः धरहराका ईंटा चोर्न सहसचिवको निर्देशन ! )

यसैका आधारमा सरकारले धरहराका क्षतिग्रस्त भग्नावशेष टुँडिखेलको दक्षिण भागमा लगेर राख्यो । तर, भूकम्प गएको एक वर्ष बितेपछि फेरि ति ईंटाको संरक्षणमा प्रश्न उठेको छ ।

टुँडिखेलका राखिएका धरहराको पुरातात्विक ईंटासहितका भग्नावशेषलाई अहिले काठमाडौं महानगरपालिकाले उठाएर डम्पिङ साइटमा लैजान सुरु गरेको छ । यसमा महानगरले आफ्नै गाडी प्रयोग गरिरहेको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पहिलो चरणमा सर्वसाधारणको घरका भग्नावशेष हटाउन लागिएको बताए । उनले केही दिनभित्रै धरहरा र बसन्तपुरबाट ल्याएर थुपारिएका भग्नावेशष पनि हटाउन सुरु गरिने बताए  ।

‘एक सातापछि प्रहरी र पुरातत्वका अधिकारीहरु राखेरै बसन्तपुर र धरहराका भग्नावशेष पनि डम्पिङ गरिनेछ’ सापकोटाले भने-‘धरहरा र वसन्तपुरको ईंटा छुट्याएर राखिँदैन, त्यसभन्दा कुनै महत्वपूर्ण पुरतात्विक वस्तु भेटियो भने पुरतत्व विभागका अधिकारीको जिम्मा लगाउँछौं ।’

उनकाअनुसार पुरतात्विक वस्तुसहितको भग्नावशेष डम्पिङ गर्दा पुराना ईंटालाई नछान्ने निर्णय भइसकेको छ । यी भग्नावशेषलाई पुर्नुपर्ने सार्वजनिक जग्गमा लगेर व्यवस्थापन गरिने उनले बताए ।
‘ईंटा छानेर साध्ये नै छैन, पुरतत्व विभागसँग पनि कुरा भइसकेकाले अब सबै फोहोर बटाएर टुँडिखेल सफा गरिनेछ’ उनले भने ।

पुरातत्व विभागकै स्वीकृति 
सुन्धारा र वसन्तपुरका स्थानीय बासिन्दाहरुले भने धरहराको ईंटा नछुट्याई डम्पिङ सुरु गरिएको भन्दै आपत्ति जनाएका छन् ।

dharahara-bricks
यी ईंटामा ‘श्री जुद्ध १९९१’ लेखिएका छन् । ईंटा संरक्षणको विषयमा जिज्ञासा राख्दा पुरातत्व विभागका एक उच्च अधिकारी यस विषयमा आफूहरुलाई मतलब नभएको बताउँछन् ।

वि.सं १९९० सालको भूकम्पले धरहरा भाँचिएपछि यो ईंटाको प्रयोग गरेर यसको पुनर्निर्माण गरिएको थियो । स्थानीहहरु यो ईंटा पुरातात्विक महत्वको भएकाले संरक्षण गर्नुपर्ने पक्षमा छन् ।

तर, पुरातत्व विभाग यो ईंटा संरक्षण गर्ने पक्षमा देखिएको छैन । यी ईंटा संरक्षण गरेर राख्नुपर्ने किसिमको ‘पुरातात्विक बस्तु’ नभएको उसको तर्क छ ।

‘यो ईंटा खासै पुरातात्विक महत्वका होइनन्, राणाहरुको घरमा पनि यस्ता ईंटा प्रयोग भएका छन् । तीनलाई भत्काएर ट्रकका-ट्रक बेचिन्छ,’ एक पुरातत्व अधिकारीले भने, ‘त्यसैले ति ईंटालाई हामीले संरक्षण गर्ने कुनै योजना बनाएका छनौं ।’

जताततै सहजैै पाइने बस्तुलाई संरक्षण गर्नुको खासै अर्थ नभएको विभागका अधिकारी बताउँछन् । ‘ठूला सम्पदाको संरक्षणमा हामी बढी केन्द्रित छौं,’ ति अधिकारी भन्छन्, ‘यो विषयमा धेरै कुरा बोल्न मिल्दैन । तर, धरहराको ईंटालाई संरक्षण गर्न विशेष कुनै कार्यक्रम बनेको छैन ।’

भत्किएको धरहराको अधिकांश ईंटा काम नलाग्ने अवस्थामा रहेको विभागका अधिकारीको तर्क छ । त्यसैले ति ईंटाको संरक्षण गर्नुको औचित्य नहुने भनाई अधिकारीहरुको छ ।

विभागका महानिर्देशक भेषनारायण दाहाल पुरानो धरहराबाट निस्किएका काम लाग्ने सबै ईंटा नयाँ धरहरामा प्रयोग गरिने बताउँछन् । तर, ईंटा संरक्षणका लागि भने विभागले चासो दिएको छैन ।

धरहराको संरचना डम्पिङ साइटमा लगिएकोबारे जिज्ञासा राख्दा दाहालले सेनाले टुँडीखेल सफा गर्न पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment