+
+

धरहराका ईंटा चोर्न सहसचिवको निर्देशन ! (भिडियोसहित)

१६ वैशाख, काठमाडौं । बुधबार दिउँसो अनलाइनखबरको टोली भूकम्पले भत्काएको धरहरामा पुग्दा त्यहाँ छरिएका ऐतिहासिक ईंटाहरु धमाधम चोरी भइरहेको दृश्य देखियो ।

हाम्रो क्यामेराले नीलो टोपी लगाएका एक भलाद्मीलाई पछ्यायो । चामल हाल्ने बोरामा ईंटा हालिरहेका ती व्यक्ति एकजना सरकारी हाकिमका सवारी चालक रहेछन् । दाबीअनुसार उनी आफ्ना हाकिमको निर्देशन पालना गरिरहेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १६ गते १९:०५

राजकुमार श्रेष्ठ/श्रीधर पौडेल

१६ वैशाख, काठमाडौं । बुधबार दिउँसो अनलाइनखबरको टोली भूकम्पले भत्काएको धरहरामा पुग्दा त्यहाँ छरिएका ऐतिहासिक ईंटाहरु धमाधम चोरी भइरहेको दृश्य देखियो ।

हाम्रो क्यामेराले नीलो टोपी लगाएका एक भलाद्मीलाई पछ्यायो । चामल हाल्ने बोरामा ईंटा हालिरहेका ती व्यक्ति एकजना सरकारी हाकिमका सवारी चालक रहेछन् । दाबीअनुसार उनी आफ्ना हाकिमको निर्देशन पालना गरिरहेका थिए ।

dharahara (4)

ईंटा उठाएर घरतर्फ लैजाँदै गरेका केही मानिसहरुको भीडमा भेटिए पशु सेवा निर्देशनालयका उपमहानिर्देशक विजयकान्त झाका सवारी चालक हरिकृष्ण लामा । ईंटा चोर्ने कार्यमा उनलाई अर्का एक व्यक्तिलेसमेत साथ दिइरहेका थिए ।

चामल हाल्ने बोरा बोकेर धरहरा पुगेका लामाले वर्ल्ड हेल्थ डे २०१५ लेखेको टोपी लगाएका थिए । टोपीमा नेपाल सरकारको छापसमेत छाप थियो । प्रौढ उमेरका उनी हेर्दाखेरि निकै भलाद्मी र हँसमूख देखिन्थे ।

dharahara (1)

लामा एकएक गरी ‘श्री जुद्ध १९९१’ लेखिएका ईंटा छान्दै बोरामा हाल्दै थिए । हामीले केही अग्लो ठाउँमा बसेर उनलाई पछ्यायौं । उनी आधा बोरा ईंटा छानेपछि बोरा बोकेर अघि बढे ।

ईंटा बोकेर केही अघि पुगेका लामालाई हामीले वीचैमा रोक्यौं । यो ईंटा कहाँ लैजान लागेको ? हाम्रो प्रश्नपछि लामाले भने- म कृषि मन्त्रालयका सहसचिवको ड्राइभर हुँ, हाकिमले घरमा सजाउने होलान्, ल्याउनू भनेको हो ।’

क्यामेरा देखेपछि लामाले आफ्ना हाकिमको नाम खुलाउन मानेनन् । तपाईहरुलाई हुनमानढोका लैजान्छौं भन्दै धेरैबेर केरकार गरेपछि लामाले आफूले चलाउने सरकारी कार्यालयको गाडी नम्बर ९९६९ भएको बताए ।

सो गाडी पशुसेवा विभागका उपमहानिर्देशक विजयकान्त झाले चढ्ने गरेको छन् । ईंटा लिन जाँदा झाको गाडी महानगरपालिका छेऊमा राखेको लामाले बताए । लामाले प्रहरीकै सहमतिमा ईंटा टिपेको दाबी गरे ।

960_brick

सरकारी हाकिमका चालकले ईंटा चोरिरहेको समय मध्यान्ह भएकाले त्यसबेला सरकारी कार्यालयहरु बन्द थिएनन् । सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयमा अनिवार्य हाजिर हुन कर्मचारीलाई उर्दी गरेको थियो । ईंटा टिप्न सवारी चालकलाई पठाउनुको कारण सोध्न झालाई कार्यालयमा पटक-पटक टेलिफोन गर्दा कसैले फोन रिसिभ गरेन ।

dharahara (3)

चोर र प्रहरी एकै ठाउँ

बहुमूल्य ईंटाहरु चोरी भइरहेको स्थानमा प्रहरी मूकदर्शक थियो । केही प्रहरी त चोरहरुसँग ठोक्किँदै हिँडेको दृश्य पनि देखियो । माक्स लगाएका असईको कमाण्डमा धरहरामा टोली खटिएको थियो । तर, उनीहरु कसैलाई ईंटा चोर्नबाट रोकिरहेका थिएनन् ।

dharahara (6)

धरहराको भग्नावशेष भएको क्षेत्रमा कुनै सुरक्षा दिइएको छैन । न त घेरा लगाएर प्रवेशमा रोक लगाइएको छ । जो सुकै जान्छन् र ईंटा उठाएर लगिरहेका छन् । विज्ञहरुका अनुसार ती पुरातात्विक महत्वका ईंटाहरु निकै महंगोमा विदेशमा समेत बिक्न सक्छन् ।

मंगलबारमात्रै सिंहदरबारको विकास समितिमा भएका छलफलमा एकजना पूर्वाधार विज्ञले धरहराको इर्ंटा ५ सय डलरमा बिक्न सक्ने बताएका थिए । तर, मानिसहरुले धरहराको ईंटा उठाएर घर लगिरहँदा त्यहाँ खटिएका असई भने हात बाँधेर हेरिरहेका थिए । उनले च्याँठि्ठएर भने- ‘कति भन्नु ? भन्दाभन्दा दिक्क भइसकियो ।’

रुखो ढंगले प्रस्तुत भएका असईले उल्टै यो काम मिडियाको हो भन्दै आफू पन्छिने प्रयास गरे । उनले आफ्नो नाम भन्नसमेत मानेनन् । नामै छैन भन्ने जवाफ दिए ।

बसन्तपुर जोगाउन स्थानीय सक्रिय

Basantapur (9)

बसन्तपुर दरबार क्षेत्रमा भने पुरातात्विक वस्तुहरुको संरक्षणमा स्थानीयबासी सक्रिया भएर जुटेका छन् । भूकम्पले बसन्तपुर दरबारका साथै इन्द्रजात्राका क्रममा दश अवतार देखाउने मन्दिर, ठूलो देवल आर्थत शिव मन्दिर, काष्टमाण्डप, कृष्ण मन्दिर भत्किएको छ ।

स्थानीयबासीले सबै मन्दिरका सामानहरु छुट्टा छुट्टै रुपमा राखिरहेका छन्, जसलाई जाइका र भियतनामबाट आएका स्वयंमसेवीले सघाएका छन् । बसन्तपुर क्षेत्रमा पुरातात्विक बस्तुहरु संरक्षणमा जुटेका स्थानीय एवं पत्रकार श्रीलोचन राजोपाध्यायले भने-पुरातात्वयिक बस्तुहरु संरक्षण गर्न सके पुनः प्रयोगमा ल्याउन सकिन्छ कि भनेर हामी स्थानीय सक्रिय भएका हौं ।’

Basantapur

बसन्तपुर क्षेत्रलाई जाइकाको सहयोगमा सुरक्षा घेरा बनाएर सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । सुरक्षाकर्मीहरुले पनि त्यसमा सहयोग गरिरहेका छन् ।

संरक्षण चुनौतीपूर्ण

काठमाडौंका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणको जिम्मा पाएको गुठी संस्थान काठमाडौं शाखा आफैं भूकम्पबाट पीडित भएको छ ।

त्रिपुरेश्वरमा रहेको कार्यालय भत्किएको छ । कागज पत्र सबै भूकम्पमा परेको छ । बुधबार विहान हामी पुग्दा संस्थान काठमाडौं शाखा प्रमुख हरिप्रसाद जोशी कार्यालयका सामानहरु जम्मा गर्न लगाइरहेका थिए ।

Gung-hirranya

उनले भने-हामीसँग भएको सबै कागज पत्र, रेकर्डहरु केही बाँकी छैन । सांस्कृतिक सम्पदाका रुपमा रहेका मन्दिरहरु नै भत्किएका छन् । अब के छ भन्दा पनि के बाँकी छ भन्ने अवस्था छ ।’

उनका अनुसार कार्यालय अगाडि रहेको जंग हिरण्य हेमनारायण मन्दिरका पुरातात्विक बस्तुहरु जम्मा गरिएको छ । तर, मूर्ति भत्नावशेषमै छ । वि.सं १९३१ मा बनेको यो मन्दिरको ठूलो घन्ट अहिले पनि भत्नावशेषमै छ । केही मानिसले रेखदेख गरिरहेका छन् । जोशीले भने-हामीले कर्मचारी त खटाएका छौं तर, प्रहरी नभएका कारण संरक्षण गर्न निकै गाह्रो छ ।’

स्रोतका अनुसार भक्तपुर र ललितपुरका ऐतिहासिक धरोहरहरुका बहुमूल्य सामान पनि चोरी हुन थालेका छन् । बहुमूल्य मूर्तिहरु विदेश पुग्न सक्ने खतरा रहेको स्थानीयवासीको चिन्ता छ ।

भिडियो हेर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?