७ जेठ, बुटवल । मनसुन सुरु भएसँगै सिद्धबाबाको सडकबाट हिँड्ने यात्रु तथा चालकहरुमा चिन्ता छाउँछ । बुटवल र पाल्पामा पर्ने सिद्धबाबाको कहालीलाग्दो ढुंगे पहिरोले कतिखेर किच्याउने हो, टुंगो हुँदैन ।
गगनचुम्बी ठाडो चट्टाने पहाडबाट खसिरहने पहिरोले धेरै जनाको ज्यान लिइसकेको छ । पछिल्लो पाँच वर्षको अवधिमा पहिरोमा परी २५ जनाले अकालमा ज्यान गुमाएका छन् । त्यसभन्दा अगाडि पनि यहाँको पहिरोले धेरैको ज्यान लिइसकेको स्थानीय बताउँछन् ।
गत साल असार २ गते सिद्धबाबामा गुडिरहेको लु १ च १७० नम्बरको प्राइभेट गाडी पहिरोमा पर्यो । ढुंगाले गाडी पुरिएपछि डाक्टर दम्पत्तीले अकालमा ज्यान गुमानुपर्यो । लुम्बिनी मेडिकल कलेजका ४ जना भारतीय चिकित्सक सवार उक्त गाडीमा दुई जना भने बाँच्न सफल भए ।
त्यसको लगत्तै साउन २२ गते सिद्धबाबामै अर्को ठूलो दुर्घटना भयो । पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ५७७१ नम्बरको यात्रुवाहक बसलाई पहिरोले धकेलेर तिनाउ नदीमा खसाल्दा ३ जनाको ज्यान गयो ।
उक्त बसमा २० जना यात्रु रहेका थिए । गाडी पल्टिने संकेत पाएपछि केही यात्रु बाटोमा हाम्फाले । संयोगले बस पल्टिएर छाँगोमा अडि्कयो र थप यात्रुहरु बाहिर निस्कन सफल भए । पछि बस छाँगोबाट तिनाउमा खस्दा तीन दिनसम्म भेटिएन ।
त्यतिबेला खसेको पहिरोले पाँचजनालाई घाइते र मोटरसाइकल सहित आधा दर्जन सवारी साधनलाई क्षतिग्रस्त बनाएको पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयले जानकारी दियो । कार्यालयका अनुसार बाहिरबाट गोताखोर लगेर नदिमा खोजी गर्दा ४ दिनपछि बस भेटिएको थियो ।
आर्थिक वर्ष ०६८/०६९ मा सिद्धबाबामा ४ वटा सडक दुर्घटना भए । जुन दुर्घटनामा दुईजनाले ज्यान गुमाएको र पाँचजना घाइते भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । आव ०६९/०७० मा तीनवटा दुर्घटन हुँदा तीन जनाकै मृत्यु भयो, १० जना घाइते भए ।
यसैगरी, ०७०/०७१ मा १० वटा दुर्घटना भएका थिए । दुर्घटनमा परेर ११ जनाको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए । ०७१/०७२ मा पाँच जना र ०७२/०७३ को वैशाखसम्म ४ जनाले ज्यान गुमाइसकेको ट्राफिक कार्यालयले जनाएको छ ।
सिद्धबाबा पहिरोमा पाँच वर्षमा भएको दुर्घटना
आर्थिक बर्ष | दुर्घटना संख्या | मृत्यु संख्या | पुरुष मृत्यू | महिला मृत्यू | बालक मृत्यू | बालक मृत्यू | घाइते संख्या |
---|---|---|---|---|---|---|---|
२०६८/०६९ | ४ | २ | १ | १ | – | – | ५ |
२०६९/०७० | ३ | ३ | ३ | – | – | – | १० |
२०७०/०७१ | १० | ११ | ७ | ४ | – | – | ८ |
२०७१/०७२ | ८ | ५ | ४ | १ | – | – | ५ |
२०७२/०७३ बैसाखसम्म | ३ | ४ | २ | २ | – | – | २ |
जम्मा | २८ | २५ | १७ | ८ | – | – | ३० |
पाँच वर्षको अवधिमा सिद्धबाबामा २८ वटा दुर्घटना भएको देखिन्छ । उक्त दुर्घटनामा परेर २५ जनाले ज्यान गुमाएका छन् भने ३० जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये १७ जना पुरुष र ८ जना महिला छन् ।
यात्रुको मनमा सधैं आतंक
नरम माटोमा अडिएको चट्टाने भीरबाट वषर्ामा मात्र होइन, हिउँदमा पनि पहिरो खसेर यात्रुलाई च्याप्ने गरेको छ । बुटवल र पाल्पा खण्डमा पर्ने सिद्धबाबा सडकमा ठूलो भीर छ । साँघुरो खोँचमा रहेको सडकको तल तिनाउ नदी बगेको छ, जसले यात्रु र चालकलाई आतंकित बनाउँदै आएको छ ।
यहाँ गाडी चलाउने चालकले माथिबाट कतिखेर ढुंगा खस्छ र किच्याउँछ भन्ने डरले पहाडतिर हेर्दै गाडी चलाउँछन् । चालक तथा यात्रुलाई सिद्धबाबामा पहिरोको डरले कतिबेला सडक पार गरौं भन्ने चिन्ता हुन्छ । पहिलोपटक सिद्धबाबा पुग्ने जोसुकैको ज्यान यहाँको छाँगो देखेर सिरिङ्ग हुन्छ ।
तम्घास-काठमाडौं बस चलाउने विमल थापाले अनलाइनखबरसँग भने- ‘अप्ठ्यारो ठाउँमा गाडी तीव्रगतिमा दौडाउन मिल्दैन, जहाँ पहिरोको जोखिम छ, त्यहीँ नै बिस्तारै हिँडेपछि यात्रुहरु आत्तिन्छन् ।’
यहाँको पहिरोले यात्रु र चालकको ज्यान लिन थालेको वर्षौं बितिसकेको छ । तर, यो पहिरोबाट छुटकारा दिलाउन सम्बन्धित निकाय मौन देखिन्छ । केही वर्ष अघिसम्म यहाँ लेदो माटो बगेर बाटो भत्काउँथ्यो । अहिले माटोको पहिरो खस्न धेरै कम भएको छ ।
करिव तीन किलोमिटर दुरीको सिद्धबाबा सडक खण्डमा माटोसहितको पहिरो खस्न कम भए पनि ढुंगे पहिरो भने रोकिएको छैन । ठाडो पहाडमा चर्किएको पहरोका कारण अहिलेकै अवस्थामा यहाँको पहिरो रोकिने सम्भवना निकै कम छ ।
‘सिद्धबाबा पुगेपछि यात्रा सफल हुन्छ कि हुँदैन भन्ने डरले हामी आत्तिन्छौं, मनमा अनेक थरी कुराहरु खेल्छन्’ पाल्पा मस्याम घर भएका सवारी धनी दिलिप कार्की भन्छन् – ‘गाडीमा गरेको लगानी सम्झेर सधै चिन्ता भइरहन्छ, हामी चाँडै सडक सुरक्षित होस् भन्ने कामना गरिरहेका छौं ।’
लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलको प्रवेशद्वार मानिने शिद्धार्थ राजमार्ग निकै व्यस्त रहने गर्छ । यहाँबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, बेनी लगायतका जिल्लामा गाडी गुड्छन् । दैनिक सयौंको संख्यामा गाडी गुड्ने यो सडक यस क्षेत्रका मानिसका लागि ‘ज्यानमारा’ सावित भइदिएको छ ।
धेरै मानिसहरु यही पहिरोमा परिने डरले वषर्ातमा यात्रा गर्न डराउँछन् । कतिपय समयमा यहाँ पहिरो खसेर धेरै दिन सडक नै अवरुद्ध हुने गरेको छ । जसले गर्दा यो सडकबाट यात्रा गर्ने यात्रु र चालकले निकै सास्ती भोग्नुपरेको छ ।
यहाँको चर्चित सिद्धबाबा मन्दिरमा भक्तजनको ठूलो भिड लाग्छ । भक्तजनहरु ठूलो जोखिम मोलेर मन्दिरमा पुगी पूजाआजा गरेर फर्किने गर्छन् ।
विकल्पको खोजी
यहाँको समस्या समाधान गर्नका लागि सरकारले पहलै नगरेको पनि होइन । पहाडमा गि्रनरी गरेर, ढुँगाको तल वाल उडाएर विभिन्न माध्यमबाट त्यहाँको पहिरो रोक्न खोजिएको छ । यो पहलले हिले पहिरो केही हदसम्म रोकिएको छ । तर, ढुंगा खस्न रोकिएको छैन ।
शिद्धबाबा खण्ड असुरक्षित भएपछि विकल्पको पनि चर्चा भइरहेको छ । सरकारले पनि यो सडक खण्डलाई सुरक्षित बनाउन विभिन्न विकल्पहरु ख्ाोजि गरिरहेको छ । तर, यात्रु तथा चालकहरु तत्कालै यो सडक सुरक्षित बनाउनुपर्ने बताउँछन् ।
सरकार आगामी वर्षको बजेट निर्माणमा जुटिरहेको छ । सरकारका अर्थमन्त्री विष्णु पौडेल पनि यही क्षेत्रका बासिन्दा हुन् । यो सडकलाई सुरक्षित बनाउन तत्कालै बजेट छुट्टाएर काम अगाडि बढाउनुपर्ने स्थानीयको माग छ ।
प्रतिक्रिया 4