Comments Add Comment

मधेस पुगेर गगन र कृष्ण सिटौलाले भने- प्रधानमन्त्री सुनको खाटमा सुतेर बर्बराउँदैछन्

'चुनाव गर्छु भन्नु हास्यास्पद, हामी सरकार परिवर्तनको खेलमा छौं'

Krishna-Sitaula-and-Gagan-thapa

१० जेठ, सप्तरी । पार्टीको महाधिवेशनमा एउटै गुटबाट सभापति र महामन्त्रीमा चुनाव लडेका नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला र गगन थापा मधेस आइपुगेका छन् । दुबै नेताले अहिलेको अवस्थामा स्थानीय चुनाव हुनै नसक्ने भन्दै आफूहरु सरकार परिवर्तनको खेलमा लागेको स्वीकार गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने भनिरहँदा कांग्रेसका नेता सिटौलाले यसलाई ‘नाटक’ को संज्ञा दिए । कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ले सदरमुकाम राजविराजमा आयोजना गरेको कार्यक्रममा नेता सिटौला र गगन थापाले यो सरकारले मंसिरका लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचन हुनै नसक्ने जिकिर गरे ।

‘मुलुकमा राजनीतिक सहमति बन्न सकेको छैन र विश्वासको वातावरण बन्न सकेको छैन, कसरी निर्वाचन हुन्छ ?’ सिटौलाले प्रश्न गर्दै भने, “यस्तो अवस्थामा निर्वाचन गर्छु भन्नु हास्यास्पद हो ।’

सिटौलाले निर्वाचन लोकतन्त्रको प्राण भएको हुँदा स्वतन्त्र र निष्पक्षताको वातावरण नबनेसम्म सम्भव नभएको बताए । उनले एमाले नेतृत्वको सरकारले आफ्नो मनोमानी तरिकाले काम गरिरहेको र चुनाव गराउने वातावरण समेत नबनाएर एक्कासी घोषणा गर्नु ठीक नभएको बताए ।

उनले कांग्रेसले राष्ट्रिय सहमति कायम गराउनका लागि सबै दलसँग वार्ता गरिरहेको जानकारी दिए । उनले भने- ‘राष्ट्रिय सहमति कांग्रेसले नै गराउँछ ।’

कांग्रेसमाथि किन आरोपै आरोप ?

युवा नेता गगन थापाले वर्तमान सरकार उखान टुक्का भनेर आफ्नो आयु लम्ब्याउन मात्रै खोजेको बताउँदै निर्वाचन गराउनै नसक्ने दाबी गरे । ‘सरकारले मंसिरमा स्थानीय निकायको चुनाव घोषणा गर्‍यो र कांग्रेस पछि हट्यो भन्ने वास्तविक होइन’ थापाले भने, “यथार्थ त सरकारले आयु बढाउनका लागि मात्रै चुनावको चर्चा गरेको छ ।’

‘स्थानीय निकायको निर्वाचन गराउँछु भनिएको छ तर स्थानीय निकायमा गरिनुपर्ने कामहरु हुन सकेको छैन’ उनले भने, “गाउँपालिका, नगरपालिका छुट्याउने कामै भएको छैन कहाँ, कुन ठाउँका लागि निर्वाचन हुन्छ ?”

निर्वाचनमा जानका लागि कांग्रेस नचाहिरहेको बताउनु आफ्नो मुख ऐनामा नहेर्नु झैं भएको थापाको भनाइ छ ।

नेताद्वयले अहिले सबैतिरबाट कांग्रेसमाथि प्रहार भइरहेको बताए । उनीहरुले कांग्रेसमाथि आरोप लगाउने र आफू चोखो बन्ने प्रयास भइरहेको बताउँदै यसले मुलुकमा झन समस्या बढाउने दाबीसमेत गरे ।

‘पहाडमा एमालेले कांग्रेसलाई भारतपरस्त भनिरहेको छ, मधेसमा मधेसवादी दलले हामीलाई मधेसविरोधी भनिरहेका छन्,’ युवा नेता थापाले भने, ‘उपत्यकामा विकास विरोधी भनेर कांग्रेसमाथि आरोप लगाउने काम भइरहेको छ, यी आरोपहरुलाई चिरेर अगाडि बढ्नु आवश्यक छ ।’

कांग्रेसमाथि यस्ता आरोपहरु आफ्नो सत्ता लम्ब्याउन, स्वार्थ पूरा गर्नका लागि मात्रै हो’ थापाले आफ्ना कार्यकर्ताहरुलाई भने, ‘कांग्रेस यी भ्रमहरु चिर्न सफल हुन्छ, त्यसका लागि तपाईंहरु जनता माझ भएर काम गर्नुस् ।’

गगन थापासँगै स्वर मिलाउँदै नेता सिटौलाले पनि एमाले, माओवादी र मधेसवादीसहित साना दलहरुले कांग्रेसलाई नै पेलिरहेको बताए । ‘कांग्रेस ठूलो दल भएकाले पनि सबैले पेल्नु पनि स्वभाविक हो’ सिटौलाले भने, ‘तर आफूलाई पनि हेरेर अगाडि बढे मुलुकको समस्या चाँडो समाधान हुन्छ ।’

गगनले भने-हो सरकार परिवर्तनको खेलमा छौं

नेता थापाले कांग्रेस सरकार परिवर्तनको खेलमा रहेको बताए । ‘हिजो पनि थियो, अहिले पनि छ र भोलि पनि रहनेछ’ उनले भने, ‘हालै पनि काँग्रेसले सरकार परिवर्तन गर्न खोजेकै हो र भोलि संख्या पुगेमा परिवर्तन गर्छ पनि ।’

‘वर्तमान सरकारका प्रधानमन्त्री सुनको ओछयानमा सुतिरहेका छन्, सपनामा बर्बराउँछन् अनि उखान टुक्का सुनाउने काम मात्रै गर्छन्’ थापाले भने, “यसले देश चल्दैन, राम्रोसँग देश चलाउनका लागि कांग्रेसको नेतृत्व आवश्यक छ ।’

नेता सिटौलाले अन्य कसैको नेतृत्वमा मुलुकमा परिवर्तन भएको इतिहास नरहेको हुँदा कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुने बताए ।
मधेसको समस्याका बिषयमा बोल्दै नेता थापाले मुलुकलाई सबैको साझा फूलबारी बनाउनुपर्ने बताए । उनले फूलबारीमा सबैथरिका फूल फुल्न जरुरी रहेको बताउँदै एउटा तोरीको फूल मात्रै फुलेर देशको एकता बलियो हन नसक्ने बताए ।

मधेसीले नेपालीको पुनव्र्याख्या मागेको बताउँदै उनले यो माग उपेन्द्र यादव, राजेन्द्र महतोको नभई समग्र मधेसी जनताको भएकाले मधेसीलाई नेपाली नसम्झेसम्म समस्याको समाधान नहुने बताए । ‘हामी ९० प्रतिशत सांसदले संविधान बनाएको भनेर दाबी गछौं, तर मधेसको ठूलो हिस्सा यसको बिरोधमा छ’ थापाले भने, ‘यसलाई थिचेर, मिचेर अथवा बल प्रयोग गरेर समाधान हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment