Comments Add Comment

संगम होटल हत्याकाण्डका मुख्य नाइके भारतमा पक्राउ

११ जेठ, भीमदत्तनगर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा रहेको सङ्गम होटलका दुईजना मजदुरलाई हत्या गर्ने मुख्य नाइके भारतबाट पक्राउ परेका छन् ।

प्रहरी निकट स्रोतका अनुसार हत्याका मुख्य नाइके कञ्चनपुरको वेदकोट नगरपालिका घर भएका माओवादीका पूर्वलडाकुसमेत रहेका तारा बोहरा भारतको चण्डीगढ क्षेत्रबाट पक्राउ परेका हुन् ।

गत वैशाख २३ गते राति बोहराले यहाँस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलमा कार्यरत मजदुर बाजुराका २१ वर्षीय भीम रोकाया र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४५ वर्षीय कृष्ण विष्टको होटलभित्रै हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । “हत्या गरिनुअघि बोहराले दुवै जनासित होटलमै मादकपदार्थ सेवन गरेको देखिएको छ”, प्रहरीले भन्यो–“हत्यामा हँसियाको प्रयोग गरिएको छ ।”

हत्यापछि सोही राति उनी भीमदत्तनगरकै एक होटलमा बास बसेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोली अभियुक्त बोहरालाई पक्राउ गर्न चण्डीगढ पुगेको थियो । भारतीय सुरक्षा निकायको सहयोगमा उनलाई पक्राउ गरेर भीमदत्तनगर पुर्याएको भए पनि घटनाबारे प्रहरीले जानकारी गराउन चाहेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले घटनाका बारेमा बुधबार पत्रकारसम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिए ।

प्रारम्भिक प्राप्त जानकारीअनुसार बोहराले केही समयअघि सोही होटलमा काम गरेको र सोही बेला हत्या गरिएकाहरुसित खटपट भएको थियो । बीच बजारमै मजदुरको हत्या भएपछि दबाब महसुस गरेको प्रहरीले घटनाको विस्तृत अनुसन्धान थाल्नुका साथै केन्द्रीय अनुसन्धान ब्युरोलाई समेत खटाएको थियो ।

हत्यालगत्तै फरार रहेका बोहरालाई बिहान भीमदत्तनगर पुर्याएसँगै प्रहरीले घटनाको विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको छ । उनले हत्यापछि आफूसित रहेको मोबाइल सेट भारतीय सीमावर्ती सहर बनबासामा बिक्री गरेको भएपछि प्रहरी टोली बनबासा पुगेको थियो ।

त्यसैगरी, सोही घटनामा गम्भीर घाइते भएका अर्का मजदुर पदमराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment