Comments Add Comment

राष्ट्रिय सहिद स्मारक तीन वर्षमा सम्पन्न हुने

१२ जेठ, काठमाडौँ । विसं २००७ देखि २०६२÷०६३ को जनआन्दोलनसम्म स्वतन्त्रता प्राप्तिका लागि जीवन अर्पण गर्ने सहिदका नाममा सरकारले निर्माण गरिरहेको राष्ट्रिय सहिद स्मारक तीन वर्षमा सम्पन्न हुने भएको छ ।

स्मारकको १० औँ स्थापना दिवसका अवसरमा  गोकर्णमा आजोजित कार्यक्रममा सो जानकारी दिइएको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले तोकिएको समयमा स्मारक निर्माण सम्पन्न गर्नका लागि आफ्नातर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए ।

“यो स्मारकलाई सहिद र लोकतन्त्रको स्तम्भका रुपमा स्थापित गरिनुपर्छ, सबै राजनीतिक दलको सहमति जुटाएर स्मारकले उदाहरणीय काम गरेको छ”–उनले भने ।

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि बलिदान दिनुहुने धर्मभक्त माथेमाका नाममा अहिलेसम्म कुनै संस्थागत संरचना नबनेकाले स्मारक उनकाे  नाममा निर्माण गरिनुपर्ने माग गरे ।

नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले सहिद स्मारकका नाममा ६५० रोपनी जग्गाको संरक्षण भएको बताए । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले जनताका छोराछोरी राष्ट्र प्रमुख हुनेगरी राजनीतिक परिवर्तन भइसकेपछि आर्थिक समृद्धिमा ध्यान दिइनुपर्ने बताए ।

स्मारकका अध्यक्ष सुदर्शन कुईंकेलले आउँदो माघ १६ गते सहिद दिवसका अवसरमा सहिद स्मारक र सहिद सङ्ग्रहालय उद्घाटन गर्ने गरी काम भइरहेको जानकारी गराए ।

कार्यक्रममा स्मारकका सदस्यसचिव गोविन्दबहादुर श्रेष्ठ, कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले तीन वर्षमा स्मारक निर्माण गरिसक्ने जानकारी गराए  । मन्त्रिपरिषद्ले २०६४ जेठ ११ गते गोकर्णमा राष्ट्रिय सहिद स्मारक निर्माण गर्ने निर्णय गरेबमोजिम शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राथमिकता प्राप्त आयोजनाका रुपमा स्मारक निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment