Comments Add Comment

बजेटको समर्थन र विरोधमा सांसद बिभाजित

बजेटले आहत दिन्छः डा. महत, विष्ट भन्छन्- अतिरञ्जीत नगरौं

Mahat-and-Bista२० जेठ, काठमाडौं । सांसदहरु बजेटको समर्थन र विरोधमा बिभाजित भएका छन् । संसद बैठकमा जारी बजेटमाथिको छलफलमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले बिभाजित भएर धारणा राखिरहेका छन् ।

बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री डा प्रकाशशरण महतले बजेट प्राथमिकताविहीन भएको जिकीर गरे । बजेटले मूल्यवृद्धि गर्ने र जनतालाई राहतभन्दा आहत दिने उनले बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले ४० प्रतिशतभन्दा बढी राजस्वको स्रोत आयात निर्भर भएकाले राजस्व बढाउँछु भन्नु हास्यापद रहेको तर्क गरे । उनले यसबाट परनिर्भरता बढ्ने र सामाजिक भत्तासमेत दिन नसक्ने स्थिति आउने दाबी गरे ।

चालु आर्थिक वर्षमा २५ अर्बको चामल आयात भएको सन्दर्भमा दुई वर्षभित्र देश धानमा आत्मनिर्भर हुन्छ भन्नु पूर्णतः गलत भएको महतले दाबी गरे ।

यसैगरी नेकपा एमालेका सांसद गोकर्ण विष्टले केही व्यक्तिलाई मन नपरे पनि बजेट व्यावहारिक र प्रभावकारी रहेको दाबी गरे । उनले बजेट राम्रो भएन भनेर अतिरञ्जीत तरिकाले प्रचार नगर्न विपक्षी सांसदहरुलाई सुझाव दिए ।

धरातलीय यथार्थतालाई आत्मसात् गरेर बजेट प्रस्तुत गरिएको भन्दै उनले भूकम्प प्रभावित जिल्लालाई पुनर्निर्माणमा जोड दिइएकाले पुनःनिर्माणलाई समयमा नै अगाडि बढाउन सकिने दाबी गरे ।

केही महत्वपूर्ण आयोजना समयमै सुरु गरियो भने त्यसले सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सक्ने भन्दै उनले कृषि, सिँचाइमा दिइएको अनुदान र सामाजिक क्षेत्रलाई दिइएको महत्वले आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

ठूला र महत्वपूर्ण आयोजनामा बजेट व्यवस्था गरिएको, राजस्व परिचालन अनुमानयोग्य र जायज रहेको, सामाजिक सुरक्षामा ध्यान दिइएको, ऊर्जा क्षेत्र, पूर्वाधार विकास, काठमाडौं-तराई मधेस द्रुतमार्ग, उत्तर दक्षिण करिडोरलाई ध्यान दिइएका कारण बजेटले आमजनतामा आशा जगाएको विष्टको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment