+
+

मृगौला पीडित विश्वकर्मालाई युएईबासी नेपालीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते ८:३३

rahat bitaran in jhapaझापा । रोजगारीका सिलसिलामा युएईमा रहेका नेपालीहरुले तोपगाछी-७, झापाका मृगौलारोग पीडित घनश्याम विश्वकर्मालाई आर्थिक सहयोग गरेका छन् ।

सोही कार्यक्रममा झापा जिल्लाबाट पहिलोपटक सगरमाथा आरोही दुवागडीका अनिश लुइँटेललाई झापाली समाज, युएईले सम्मान गरेको छ ।

समाजको अग्रसरतामा संकलित करिब २५ हजार रुपैयाँ पीडित विश्वकर्माको उपचारमा सहयोगका लागि प्रदान गरिएको कार्यक्रम संयोजक तथा समाजका दुबई क्षेत्रीय कमिटी सचिव प्रेम अघिकारीले बताए ।

केर्खा बजारको श्री सहिद धर्मभक्त उमाविको प्राङ्गढमा जेठ २४ गते सोमबार एक कार्यक्रम गरी उक्त राहत प्रदान गरिएको हो । निम्न आय भएका विश्वकर्माको दुबै मिर्गौला खराब भएका कारण उनको उपचारमा सहयोग गर्नु स्ामाजको कर्तव्य भएको समाजका अध्यक्ष मोहन शिवाकोटीले प्रतिक्रिया दिएका छन् ।

राहत तथा सहयोग वितरण कार्यक्रममा बोल्दै सोही विद्यालयका प्रधानाध्यापक काजीमान पौडेलले रोजगारीमा युएईमा रहेका झापालीहरु तथा अन्य नेपालीहरुले गरेको सहयोग अति नै प्रशंसनीय भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
समाजका दुबई क्षेत्रीय कमिटी सचिव प्रेम अघिकारीको संयोजनमा भएको कार्यक्रम समाजका आजीवन तथा केन्दि्रय सदस्य चेतनारायण भट्राईले कार्यक्रमको सभापतित्व गरेका थिए ।

समाजका सल्लाहकार तथा नेपाल प्रतिनिधि भुपाल शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन युएईबाटै नेपाल बिदामा गएका समाजका केन्दि्रय सदस्य हरि कट्वालले गरेका थिए ।

कटवालले झापाली समाज, युएईले गरेका सामाजिक गतिविधिबारे प्रकाश पारेका थिए । एकता, सहयोग र सहकार्यका लागि स्थापित समाजले झापामा रहेका अनाथ तथा बेसाहारा बालबालिकाहरुको शिक्षाका लागि १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको कट्वालले कार्यक्रम सञ्चालनको क्रममा जानकारी दिएका थिए ।

प्रमुख अतिथि शिवाकोटीले रोजगारीमा युएईमा गएका झापालीहरुले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि तोपगाछी गाविसका सचिव वीरेन्द्र खड्का उपस्थित भएर समाजको सहयोगका लागि सबै चन्दादातालाई धन्यवाद दिँदै मिर्गौलापीडित विश्वकर्माको उपचारका लागि गाविसले गरेका सहयोगबारे प्रकाश पारेका थिए । स्थानीय जेसिसका अधिकारीले झापाली समाज, युएईसँग मिलेर भविष्यमा सहकार्य गर्ने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रमको सफलताका लागि स्थानीय सामाजिक व्यक्तित्वहरु, रोजगारीमा विदेश गएका परिवारका सदस्यहरु, शिक्षक, पत्रकार, स्थानीय बुद्धिजीवीहरु, स्थानीय क्लबका पदाधिकारीहरु, समाजका केन्दि्रय तथा क्षेत्रीय पदाधिकारीका परिवारका सदस्यको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?