+
+

सेवानिवृत्त कर्मचारी र विदेशबाट फर्केका युवाबाट कसरी रोजगारी सिर्जना गर्ने ?

नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई बढावा दिन सरकारी क्षेत्रबाट अवकाश लिने कर्मचारी र वैदेशिक रोजगारीबाट फर्केका युवाहरू एक बहुमूल्य स्रोत हुन सक्दछन् ।

डा. कैलाश तिमिल्सिना डा. कैलाश तिमिल्सिना
२०८० फागुन २२ गते ९:००

अहिले विश्वको मुख्य दाता बन्न सफल चीन खुल्ला र उदार नीति ल्याउनुअघि विश्वबाट धेरै अनुदान सहायता लिने राष्ट्रमा पर्थ्यो । आधुनिक चीनका परिकल्पनाकार तेङ सियाओ फिङले खुल्ला र उदार नीति लिंदै विशेष आर्थिक क्षेत्रको स्थापना, श्रम रोजगारीलाई प्राथमिकतामा राख्ने, उद्योग र सामान्य जनशक्तिलाई बजारमुखी र सीपमूलक तालिम प्रदानको अख्तियार गर्दै पर्याप्त रोजगारीको सिर्जना गरे ।

तेङ सियाओ फिङले खुल्ला र उदार नीतिको कारण, पर्याप्त रोजगारीको सिर्जनाले चीनले पछिल्लो एक दशकयता करोडौं नागरिकलाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न सकेको छ ।

नेपालमा पनि नयाँ रोजगारीका अवसरको सिर्जना प्रत्येक सरकारको प्राथमिक कार्यसूचीमा नै पर्छ । गरिबी उन्मूलन हरेक आवधिक योजनाको मुख्य लक्ष्य भनिए पनि न्यूनीकरण नभइरहेको सन्दर्भमा संघीयताले यो भयानक समस्याको निराकरण गर्छ भनेर आश्वासन बाँड्ने राजनीतिक नेतृत्वका लागि गम्भीर विषय समेत बनेको छ, जुन राजनीतिप्रतिको वितृष्णाको कारण बन्ने गरेको छ । कतिपय अवस्थामा आक्रोशको रूपमा समेत प्रकट हुने गरेको छ ।

मुलुक संघीयतामा प्रवेश गरेसँगै जनअपेक्षा अनुसार बेरोजगारी र गरिबी समस्याको समाधानका लागि स्थानीयदेखि संघीय सरकारले जुन सार्थक पहल गर्नुपर्ने हो त्यो सोचे मुताविक हुन नसकेको भन्दै संघीयतामाथि नै अनेक प्रश्न उठिरहेकै छन् । मुलुकको आर्थिक क्षेत्र अपेक्षाकृत रूपमा चलायमान भएर पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा सक्रिय जनशक्ति नै दिनानुदिन पलायन हुने विषय सामान्य जस्तै बनेको छ ।

कुन विषय आफू अध्ययन गर्न जाने हो भन्नेसम्म पनि थाहा पाउन नसक्ने विद्यार्थी अमूक देशको भिसा लाग्यो भन्दै लड्डु बाँड्दै रमाएको परिवेश साँच्चिकै उदेकलाग्दो हो । हरेक व्यक्ति गुणस्तरीय जीवनयापन गर्न चाहन्छ । जसका लागि पर्याप्त आयआर्जनको अवसर अनिवार्य छ । जसको सुनिश्चितता रोजगारीको अवसरले मात्र गर्न सक्दछ ।

प्राकृतिक सम्पदा, जलस्रोत, वनजंगल, जडीबुटी साथै भौगोलिक, सांस्कृतिक एवं भाषिक विविधतायुक्त र त्यसमाथि पनि दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र भारतको बीचमा रहेको नेपाल आर्थिक समृद्धिका लागि उदाहरणीय बन्न सकेको छैन । यसको प्रमुख कारण नागरिकहरूलाई जीविकोपार्जनका लागि समेत रोजगारीको अवसर सिर्जना गर्न नसक्नु हो ।

रोजगारीले गरिबी न्यूनीकरण गर्न सहयोग गर्ने र समग्र सामाजिक कल्याणका लागि अग्रसरता बढाउँछ । रोजगारी सिर्जनाले विकास प्रक्रियामा समृद्धिका लागि पुलको रूपमा काम गर्छ । साथै व्यक्तिको सशक्तीकरण, घरायसी आम्दानी बढाउन र समुदायहरूलाई आत्मनिर्भरताका लागि प्रेरित गर्ने मार्गनिर्देशन प्रदान गर्छ ।

विकासोन्मुख राष्ट्रहरूमा रोजगारीको सिर्जना बहुपक्षीय दृष्टिकोण, पूर्वाधार, शिक्षा, साना तथा मध्यम आकारका उद्योग जस्ता प्रमुख क्षेत्रहरूमा रणनीतिक लगानी समावेश गर्नुपर्दछ । साथै पूर्वाधारको विकास गरेर सरकारले आर्थिक गतिविधिलाई उत्प्रेरित गर्नुपर्दछ ।

विदेशी लगानी आकषिर्त गर्नु र निर्माण सम्बन्धी उद्योगहरूमा रोजगारीका अवसर सिर्जना गर्नुपर्दछ । यसका साथै अन्तर्राष्ट्रिय सहयोग र सार्वजनिक, निजी, साझेदारीले निणर्ायक भूमिका खेल्दछ । सरकारी संयन्त्र, गैरसरकारी संगठन, निजी उद्यम, समावेशी सहयोगी प्रयासहरूले संसाधन, विशेषज्ञता र नवीन समाधानको लाभ उठाउन सक्दछन् । लक्षित वैदेशिक सहायता, लगानी प्रोत्साहन र साझा कार्यक्रम जस्ता पहलहरूले व्यवसाय फस्टाउनका लागि सक्षम वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउँदछ ।

सूचना र प्रविधिको विकाससँगै खुल्ला व्यापार नीति तथा उदारीकरणले विश्वलाई साँघुरो बनाइरहेको छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रले हरेक स-साना पक्षहरूबाट कसरी देशको आर्थिक वृद्धि र बेरोजगारीको न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु र उपयुक्त उपायहरूको अवलम्बन गरिनु अत्यन्त जरूरी देखिन्छ ।

विकासोन्मुख देशहरूमा रोजगारीका अवसरहरू सिर्जना गर्न, नेपालको सन्दर्भमा शिक्षा, पूर्वाधार, उद्यमशीलता र प्रविधिलाई सम्बोधन गर्ने उपयुक्त दृष्टिकोण चाहिन्छ । यी रणनीतिहरू लागू गरेर नेपाल सरकार र सरोकारवालाहरूले दिगो आर्थिक वृद्धि, समुदायहरूलाई गरिबीबाट बाहिर निकाल्न र आफ्ना नागरिकहरूको उज्यालो भविष्यको जग बसाल्न सक्नेछन्

खासगरी देशमा रहेका सेवानिवृत्त कर्मचारीहरू र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको क्षमता अवलम्बन गर्दै उनीहरूको उचित ढंगबाट प्रयोग गर्ने हो भने रोजगारी सिर्जना मार्फत नवीनतम कार्यमा अभ्यास गर्न सकिन्छ ।

कृषि क्षेत्रमा आधारित देश जहाँ सोचे मुताविक आधुनिकीकरण हुनसकेको छैन । यस्तो अवस्थामा देशका नीति, कार्यक्रम प्रायः औपचारिक क्षेत्रमा कामदारहरूलाई लक्षित गरी तयार भएका छन् । सरकारले यस्तो अवस्थामा औपचारिक र अनौपचारिक दुवै क्षेत्रलाई सम्बोधन गर्न कृषि, घरेलु उद्योग, साना तथा मझौला उद्योगको विकास, कार्यान्वयनयोग्य नीतिहरू तर्जुमा गरी तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गरी लगानी गर्ने, अनुगमनलाई प्रभावकारी बनाउने जस्ता कुराहरूमा अग्रसर हुनु आवश्यक छ ।

सरकारले आफ्नोतर्फबाट रोजगारी सिर्जना गर्न सूचनाप्रविधिको विकासका साथै खुल्ला व्यापार, शिक्षा, स्वास्थ्य, पूर्वाधारका विकास कार्यक्रम नल्याएको होइन । यद्यपि यस्ता कार्यक्रमहरू सफल हुनसकेका छैनन् । पर्याप्त जनशक्तिको कमि र लगानीको अभाव यसको मुख्य कारणको रूपमा छ ।

यसै सन्दर्भमा नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई बढावा दिन सरकारी क्षेत्रबाट अवकाश लिने कर्मचारीहरू र वैदेशिक रोजगारीबाट फर्केका युवाहरू एक बहुमूल्य स्रोत हुनसक्दछन् । यसका लागि सरकारी सेवाबाट निवृत्त जनशक्तिलाई निवृत्त हुनुभन्दा ६ महिना पहिलेबाट उनीहरूको क्षमता र रोजाइ अनुसारको कम्तीमा १८० दिनको व्यावसायिक उद्यम तालिम प्रदान गरी स्वदेशमा नै आत्मसम्मानका साथ व्यवसायमा लाग्ने वातावरण सिर्जना गर्न सकिन्छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उनीहरूले विदेशमा सिकेका सीप अनुसारका प्रविधि तथा नवप्रवर्तनबारे तालिम दिएर स-साना उद्योग र व्यवसाय गर्नका लागि उत्प्रेरित, प्रोत्साहन र निर्देशन गर्न सकिन्छ ।

जनशक्तिलाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्व मार्फत शान्तिपूर्ण र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । शिक्षा, रोजगार, स्वास्थ्य र सामाजिक सुरक्षा लगायत युवा विकासका सेवामा व्यापक लगानी गरिनुपर्छ ।

युवालाई मुलुकप्रति मोह जगाउन सक्नुपर्दछ । यसरी रोजगारी सिर्जना गर्ने हो भने तत्कालका लागि निम्न अनुसारका बुँदाहरूमा ध्यान दिन सकिन्छ :

१. तत्काल सेवानिवृत्त हुने कर्मचारी र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सीप पहिचानः नेपालका सेवानिवृत्त निजामती कर्मचारीहरू र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूसँग धेरै ज्ञान र सीपहरू छन् । जस्तैः प्रशासन, परियोजना व्यवस्थापन, वित्त र मानव संसाधन जस्ता क्षेत्रहरूमा आफ्नो विशेषज्ञताको प्रयोग गरेर नेपालको अद्वितीय सन्दर्भ अनुरूप सफल साना व्यवसायहरू सिर्जना गर्न सकिन्छ ।

२. अनुकूल व्यावसायिक तालिम कार्यक्रमहरूः नेपालमा व्यावसायिक तालिम कार्यक्रमहरूको डिजाइन गर्दा सेवानिवृत्तहरू र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सीप र रुचिहरू अध्ययनसँगै उद्यमशीलता सीप, व्यवसाय व्यवस्थापनमा ध्यान केन्दि्रत गर्दै तिनीहरूको विद्यमान विशेषज्ञताको प्रयोगले सेवानिवृत्तहरूलाई नेपालको आर्थिक परिदृश्यसँग मिल्ने साना व्यवसायका लागि सुसज्जित हुने सुनिश्चित गर्दछ ।

३. आर्थिक सहयोग र प्रोत्साहनहरूः अवकाशप्राप्त व्यक्तिहरू र वैदेशिक रोजगारीबाट फर्केका युवालाई सार्वजनिक निकायहरूबाट आर्थिक सहयोग तथा प्रोत्साहन प्रदान गर्ने वातावरणको सिर्जना गरी सक्षम व्यवसायी तथा उद्यमी बन्नको लागि अनुदान, सहुलियतमा ऋण तथा कर छुटले नेपालको परिपे्रक्ष्यमा व्यावसायिक क्षेत्रमा फड्को मार्न सहज बनाउँछ ।

४. नेटवर्किङ अवसरहरूः सेवानिवृत्त व्यक्तिहरू र वैदेशिक रोजगारीबाट फर्केका युवालाई एकअर्का सम्भावित व्यावसायिक साझेदारहरूसँग सम्पर्क गर्न कार्यक्रम तथा घटना र प्लेटर्फमहरू उपलब्ध गराउनु महत्वपूर्ण हुन्छ । सहयोगी समुदायको निर्माणले नेपालको सन्दर्भमा साना उद्योगहरूको वृद्धिमा योगदान पुर्‍याउँदै सहयोग, स्रोत बाँडफाँट र विचारको आदानप्रदानलाई बढावा दिन सक्दछ । यस्ता कार्यक्रम स्थानीय निकाय मार्फत चलाउन सकिन्छ ।

५. निजी क्षेत्रसँग सरकारको सहकार्यः नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यले उदीयमान उद्योग र बजार आवश्यकताहरू पहिचान गर्दछ । व्यावसायिक तालिम कार्यक्रमहरूलाई स्थानीय आर्थिक मागहरूसँग मिलाएर नेपालका सेवानिवृत्तहरूलाई रोजगारी बजारमा कमिहरू भर्न र आर्थिक विकासमा अर्थपूर्ण रूपमा योगदान गर्ने सीपहरू प्रदान गर्दछ ।

निजी क्षेत्र र सार्वजनिक क्षेत्र दुवै साथसाथै अघि बढ्नुपर्छ । यसका लागि रोजगारदाता पनि उद्यमशीलताको विकास र प्रवर्द्धन गर्न, श्रमिकहरूको गुणस्तरमा सुधार ल्याउन, उद्योगहरूको स्थापनामा विशेष लगानी गर्न, पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्व वहन गर्न, कामदारप्रति संवेदनशील बन्दै सामाजिक न्यायका आधारमा व्यवहार गर्न विशेष जिम्मेवार हुनुपर्छ ।

निष्कर्षमा, व्यावसायिक तालिम कार्यक्रमहरू मार्फत नेपालमा तत्काल अवकाश प्राप्त र वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई सशक्तीकरणले साना उद्योग र व्यवसायहरूका लागि दक्ष जनशक्ति उत्पादन गर्छ ।

उपयुक्त सहयोग, आर्थिक प्रोत्साहन र सहयोगी वातावरणले अवकाशप्राप्त गर्नेहरूको क्षमतालाई ‘अनलक’ गर्छ । जसले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । यो समग्र दृष्टिकोणले समावेशी आर्थिक विकासले नेपाली समाजको प्रत्येक खण्डको शक्तिको सदुपयोग गर्दछ भन्ने धारणालाई बलियो बनाउँछ ।

यसका साथै विकासोन्मुख देशहरूमा रोजगारीका अवसरहरू सिर्जना गर्न, नेपालको सन्दर्भमा शिक्षा, पूर्वाधार, उद्यमशीलता र प्रविधिलाई सम्बोधन गर्ने उपयुक्त दृष्टिकोण चाहिन्छ । यी रणनीतिहरू लागू गरेर नेपाल सरकार र सरोकारवालाहरूले दिगो आर्थिक वृद्धि, समुदायहरूलाई गरिबीबाट बाहिर निकाल्न र आफ्ना नागरिकहरूको उज्यालो भविष्यको जग बसाल्न सक्नेछन् ।

(लेखक गण्डकी विश्वविद्यालयका रजिष्ट्रार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?