३२ जेठ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले न्यूरोडमा रहेको कर्पोरेट भवन भत्काएर मल्टिप्लेक्स बिल्डिङ बनाउने भएको छ । निगम सञ्चालक समितिले पुरानो भवन भत्काएर अत्याधुनिक व्यवसायिक भवन बनाउने निर्णय गरेको हो ।
निगमको न्यूरोडस्थित मुख्यालयमा १४ रोपनी जग्गा रहेको छ । कर्पोरेट अफिस सिनामंगलमा सारेर न्यूरोडमा व्यवसायिक भवन बनाउने निर्णय भएको निगमले जानकारी दिएको छ ।
सिनामंगलमा निगमको ३४ रोपनी जग्गा छ । उक्त जग्गामा कर्पोरेट अफिससहित व्यवसायिक प्रयोजनका लागि उपयुक्त भवन बनाउने निगमको तयारी छ । यहाँ १० तल्ले आधुनिक सुविधायुक्त भवन बनाउने बताइएको छ ।
न्यूरोडमा व्यवसायिक भवन बनाउन निगम सञ्चालक समितिले व्यवपस्थापनसँग विस्तृत अध्ययन गरी प्रदिवेदन बुझाउन भनेको छ । भवन कस्तो बनाउन भन्ने विषयमा अध्ययनपछि मात्र थाहा हुनेछ । भवन आचार संहिताअनुसार अधिकतम ठूलो भवन बनाउने निगमको तयारी छ ।
निगमले निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलबाट दुबै ठाउँमा भवन निर्माण गर्ने बताएको छ । निगमले छिट्टै दुबै ठाउँको जग्गा व्यवसायिक प्रयोजनमा दिन सार्वजनिक प्रस्ताव आहृवान गर्ने छ ।
छनौटमा परेको कम्पनीसँग सिनामंगलमा कर्पोरेट भवन बनाएपछि मात्र न्यूरोडमा व्यवसायिक भवन बनाउन दिने शर्त राखिने भएको छ । सिनामंगलमा भवन बनेपछि निगमको कर्पोरेट अफिस त्यहाँ सर्ने छ । अनि न्यूरोडमा भवन बनाउन बाटो खुल्नेछ ।
न्यूरोडमा बन्ने भवनमा तारे होटल, मल्टिप्लेक्स हल, सपिङ सेन्टर, रेष्टुरेन्ट, स्वीमिङ पुल, तीन तला पार्किङ लगायतका सुविधाहरु हुनेछन् । यो भवन निर्माण गर्न करिव ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4