Comments Add Comment

नेदरल्याण्ड बलियो छ, तर हामी जितका लागि खेल्छौं

नेपाली क्रिकेट टोलीले वर्ल्ड क्रिकेट च्याम्पियनसीप अन्तरगत  आगामी साउनको अन्तिममा नेदरल्याण्डसँग दुई  म्याच खेल्दैछ । यूरोपियन कन्डिसनमा कमजोर देखिँदै आएको नेपालका लागि यो कठिन चुनौति हो  ।

यसअघि गृहमैदानमा नामिबियालाई दुवै म्याचमा हराएर आर्जन गरेको आत्मविश्वास नेपाली टोलीसँग छ । यद्यपि पछिल्लो समय क्यान विवाद र त्यसमा आइसिसीको हस्तक्षेपले खेलाडीहरुलाई पनि थोरबहुत प्रभावित बनाएको कुरालाई नकार्न सकिँदैन ।

यतिबेला नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् स्थानीय प्रशिक्षक जगत टमाटा । उनीसँग नेदरल्याण्डसँगको म्याचका विषयमा गरिएको कुराकानी:

Jagat Tamata (1)

नेदरल्याण्डविरुद्धको खेलका लागि छनोट गरिएको प्रारम्भिक टोलीमा नयाँ अनुहार को-को छन् ?

नयाँ फेस भन्नाले एकदमै नयाँ चाहीँ छैन । नामिबियासँग खेल्दाको अन्तिम १८ मा भएका सबै कायमै छन् । दुई व्याट्सम्यान सुनिल धमला र सुवास खकुरेललाई इन गरेका छौं । तीन बलर यू-१९ का दिपेश श्रेष्ठ, ललितसिंह भण्डारी र अविनाश कर्णलाई बोलाएका छौं ।

समग्र तयारी कस्तो भइरहेको छ ?

नेपाली क्रिकेट समस्याबाट गुजि्ररहेको छं । जसलाई बारम्बार भन्नु भन्दा पनि साइडमा राखेर हामीले क्याम्प सुरु गरेका छौं । भावनाजी (भावना घिमिरे) ले आइसीसीसँग कोअर्डिनेसन गरिरहनुभएको छ । हामीले क्याम्प सुरु गरेका छौं । खेलाडीहरुले मिहिनेत गरिरहेका छन् । तर, पानीले कति खेल्न दिन्छ थाहा छैन । हामीसँग इन्डोर प्राक्टिस गर्ने राम्रो स्थान छैन ।

फिटनेशमा नयाँ ट्रेनर ल्याउनु भएको हो ?

हो, हामीले नयाँ ट्रेनर ल्याएका छौं । पछिल्लोपटक जिम्बाबेको टिमसँग काम गरेका राजेश चौहानलाई ल्याएका हौं । उनी भारतीय हुन् ।

अघिल्लोपटक हामीले घरेलु मैदानमा नामिबियाविरुद्धका दुबै खेल जित्यौं । तर, यो पटक नेदरल्याण्ड जानुपर्ने छ, त्यसभन्दा अगाडि रहेको एमसीसी टुरले कति सहयोग गर्ला ?

निश्चय नै तयारीका लागि फाइदाजनक नै हुन्छ । नेदरल्याण्ड र यूकेको मौसम उस्तै छ । खेलाडीहरुले त्यही अनुसार एडजस्ट गर्नु पर्ने हुन्छ । बलरले आफ्नो लेन्थ कहाँ राख्ने ? ब्याट्सम्यानले विकेटमा आफू कसरी टिक्ने भन्ने हो । स्विङ हुने वेदर छ त्यहाँ, त्यसैले च्यालेन्ज छ ।

नेपालको युरोपमा रेकर्ड राम्रो छैन । पछिल्लो पटक टी-२० छनौटमा पनि त्यस्तै भयो । यो पटक त्यसबेला गरेको गल्तीलाई कसरी सच्याउनु हुन्छ ?

त्यही हामी कोसिस गरिरहेका छौं । टी-२० छनौटमा हामीले राम्रो अवसर गुमायौं र योपटक त्यस्तो नहोस् भन्ने चाहेका छौं । हामीले यो विषयमा फोकस गर्ने भन्ने तयारी गरिरहेका छौं । व्याट्सम्यानले आफूलाई कसरी फिट गर्ने त्यसमा ध्यान दिइरहेका छन् । बोर्डमा स्कोर बढाएपछि बलरले पनि ट्राइ गर्ने मौका पाउँछ ।

हामीसँग २०/२५ दिन छ, र, एमसीसी टुर हाम्रो लागि एकदम राम्रो हो । हामी त्यहाँ तीन चार वटा खेल खेल्ने छौं । त्यो अवस्थामा हामी त्यहाँ एडजस्ट हुन सक्छौं ।

Jagat Tamata (2)

युरोपियन कन्डिसन खेल्न हामीले सुधार गर्नुपर्ने व्याटिङ त होला नि ?

हो । किनभने त्यहाँ स्वीङ कन्डिसनको हुन्छ, हाम्रो यहाँ स्विङ कन्डिसन कम हुन्छ । विकेट त्यहाँको हार्ड हुन्छ । यहाँ गुडलेन्थमा फालेको बल घुँडा माथि आउँछ तर त्यहाँ अलिकति बेस्ट लेभलमा आउँछ । त्यस्ता अन्य प्राधिविक कुराहरुमा खेलाडीहरु युज्ड टु हुन जरुरी छ ।

ब्याटिङमा हाम्रो सँधैको समस्या ओपनिङ हो । तपाईँका विकल्पहरु के छन् ?

ओपनलरलाई एउटा च्यालेन्ज छ । हामीले १० ओभरमा कुनै विकेट नगुमाई ३५ रन बनाउँदा पनि त्यो १० ओभर हामीले जितेको जस्तो मान्नुपर्छ ।

जहाँसम्म विकल्पको कुरा छ, हामीसँग ४ जना विशेषज्ञ ओपनर छन् । सुवास खकुरेल, अनिल मण्डल, नरेश बुढाऐर र सुनिल धमला । नेपालमै भएको खेलमा ज्ञानुले पनि ओपनिङ गरेकै हो । त्यसैले अवस्था हेरेर एक हप्ता पछि १४ को नाम निकाल्दा जसले राम्रो गर्छ त्यसलाई प्राथमिकता दिन्छौं ।

बीचमा एक महिना ग्याप भयो । तर, हामीले १५ दिनअघि नै तयारी सुरु गरेका छौं । फिटनेश लेवल लगायतमा हामीले पहिलेबाटै तयारी गर्‍यौं जसले गर्दा क्याम्प सुरु हुनु वित्तिकै अन्य कुरामा अड्किएको छैन । र, सबै फिट छन् ।

सन्दीपले हङकङमा खेलेर आएका छन्, यसले टिममा कस्तो प्रभाव पर्छ ?

उसको कन्फिडेन्ट लेभव हाई भएको छ । तर, उसले आफ्नो माइन्ड सेट अप गर्नु पर्छ । उसले आफूलाई सम्हाल्न जरुरी छ । उसको स्किल राम्रो छ तर, आफूलाई म्याचुअर्ड रुपमा प्रस्तुत गर्न सक्नुपर्छ । र, अझ राम्रो गर्नसक्छु भन्ने उसमा हुनपर्छ ।

नेदरल्याण्डको बलियो पक्ष चाहीँ के देख्नुभएको छ ?

उनीहरुको बलिङ र व्याटिङ दुवै राम्रो छ । त्यही अनुसार हाम्रा केटाहरुले एडजस्टमेन्ट गर्नुपर्छ । हामीले उनीहरुको खेल भिडियो मार्फत हेरिरहेका छौं र त्यही अनुरुप रणनीति बनाइरहेका छौं । हाम्रो स्ट्रेन्थ भनेको बलिङ हो । बलिङ बलियो पक्ष भएपनि व्याटिङ त गर्नुपर्छ, त्यही अनुसार हामी तयारी गरिरहका छौं ।

नेदरल्याण्डले इन्टिकन्टीनेन्टल खेलिरहेको छ  तर, हामी त्यहाँ पुगेका छैनौं । हाम्रो यहाँ समस्या नै समस्या छ । हामी सुरुमा त दुई दिने क्रिकेट खेल्नुपर्छ । तर, वर्षमा चार/पाँच वटा खेल्छौं । दुई वर्षबाट त्यही खेल पनि हुन सकेको छैन । क्रिकेट एशोशिएसनको समस्याका बीच पनि हामीले नामिबियासँग राम्रो प्रदर्शन गरेका छौं, यो नेपालको लागि फाइदाको कुरा हो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डले एउटा खेल पनि हारेको छैन । र, यो पटक फेरि उसकै घरेलु मैदानमा गएर खेल्नु पर्ने छ । यो कति ठूलो चुनौति हो ?

हो, उ मजबुद टोली हो । र, हाम्रा लागि चुनौती छ ।   तर, खेलमा हारजित हुन्छ । हामीले राम्रोभन्दा राम्रो भन्दा खेल्ने हो । हाम्रो लक्ष्य जितको नै हुनेछ ।

आइसीसीको कदमबारे केही भन्न चाहनुहुन्छ ?

यो कुरा नामिवियाको म्याचभन्दा अगाडि नै थाहा थियो । तर, उहाँहरुले चाँडो गर्नुभयो । यो नेपालको लागि राम्रो होइन । यसले नेपाली क्रिकेटमा फाइदा पुग्दैन । क्रिकेटको विकास चाहने हो भने दुईवटै एशोसिएसन मिल्नुपर्छ । कुनै एकले छोड्ने वा चुनाव गराएर मिलाउनु पर्छ । खेलाडीहरुले खेलिरहेका छन् तर, उनीहरुको पछाडि व्याक सपोर्ट छैन । त्यसैले मेरो आग्रह छ, सबै पक्ष जिम्मेवार ढंगबाट आउनुपर्छ । दुई ग्रुप मिलेर नआए जे पनि हुन सक्छ ।

यसको असर चाहीँ खेलाडीमा कत्तिको परेको छ ?

अहिले खेलाडीहरुलाई खेलमा मात्र केन्द्रित गरिरहेका छौं । त्यो विषयबाट उनीहरुलाई पर राखिएको छ ।

यो पनि पढ्नुस्

नेदरल्याण्डसँग खेल्न नेपालको तयारी सुरु, हेर्नुस् ११ तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment