Comments Add Comment

यी हुन् बजेट भएपनि काम गर्न नसक्ने रुपन्देहीका विकासे अड्डा (सूचीसहित)

विकास निर्माणको करोडाैं रकम फ्रीज हुने

kolenika-rupandehi३ असार, भैरहवा । आर्थिक वर्ष २०७२/७३ को मसान्त महिना लाग्दा समेत रुपन्देहीका विभिन्न कार्यालय र आयोजनाहरुका लागि पप्र्यात बजेट भएपनि खर्च गर्न नसकेको देखिएको छ ।

जिल्लामा आर्थिक वर्ष ०७२/०७३ को लागि चालु र पुुँजीगत तर्फ गरी कुल ९ अर्ब ३६ करोड ९७ लाख ९२ हजार ७ सय १३ रुपैयाँ ५२ पैसा विनियोजन भएको थियो । जसमा चालु र पुँजीगत तर्फको खर्च गरी कुल ६ अर्ब ८५ करोड ५९ लाख ७१ हजार १ सय २६ रुपैयाँ ८६ पैसा निकासा भएको र २ अर्ब ५१ करोड ३८ लाख २१ हजार ५ सय ८६ रुपैयाँ ६६ पैसा खर्च हुन बाँकी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलोनिका) रुपन्देहीले जनाएको छ ।

जिल्लामा पुजिगत तर्फ अर्थात विकास निर्माणका लागि २ अर्ब ९४ करोड ७८ लाख ८६ हजार १ सय ४६ रुपैयाँ बजेट विनियोजन भएपनि जेठ मसान्त सम्म १ अर्ब ७७ करोड ९७ लाख ६९ हजार २ सय ८६ रुपैयाँ ६५ पैसा मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक प्रमुख शालिकराम पन्थीले बताए  ।

जिल्लामा पुँजीगततर्फ अर्थात विकास निर्माणको लागि अब एक महिना भित्र १ अर्ब १६ करोड ८१ लाख १६ हजार ८ सय ५९ रुपैयाँ ३४ पैसा खर्च गर्नुपर्ने देखिन्छ ।

आर्थिक वर्ष सकिन लाग्दा समेत पुजिगतर्फको करिब ५० प्रतिश्त बजेट सदुपयोग हुन नसकेको देखिएको छ । अर्थात जिल्लामा विकास निर्माणका तिव्र गतीमा भएको छैन । विगतका वर्षहरुमा पनि समयमा पुजिगत तर्फको बजेट खर्च अर्थात विकास निर्माणको काम हुन नसक्दा जिल्लामा करोडौ रुपैयाँ बजेट फ्रीज हुदै आएको छ ।

तर हतपतको काम लतपतमा गर्नलाई अधिकांश कार्यालय र आयोजनाहरुले केही रकम खर्च गरेपनि करोडौ रुपैयाँ भने फ्रीज हुने प्रष्ट भएको छ । असारे विकासका काममा हतपतको काम लतपतममा गरी अधिकांश कार्यालय/आयोजनाहरुले अनियमितता समेत गर्ने गरेका छन् ।

कामहरु भइरहेको र रकम मात्र निकासा नभएको हुदाँ पुजिगत तर्फको बजेट बढी यथावत देखिएको कोलेनिका सहायक प्रमुख पन्थी बताउँछन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलोनिका) रुपन्देहीबाट अनलाइनखबरलाई प्राप्त तथ्यांकमा लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक आयोजना, व्यापारिक मार्ग विस्तार आयोजना -बेलहिया-बुटवल) डिभिजन सडक कार्यालय, जिल्ला विकास सिमतीको कार्यालय, किसानको लागि उन्नत बीउ विजन कार्यक्रम, पश्चिमाञ्चल सिचाँई विकास डिभिजन नं. ६, पर्यटन कार्यालय लगायतले ठुलो बजेठ खर्च गर्न नसकेको देखिएको छ ।

आर्थिक वर्ष २०७२।०७३का लागि लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक आयोजनाले पाएको ३२ करोड ३० लाख ३५ हजार रुपैयाँ मध्ये जेठ मसान्त सम्म ९ करोड ८४ लाख १० हजार २९ रुपैयाँ मात्र खर्च गरेको छ । अर्थात यो आयोजनाका लागि यतीको रकम बजेट विनियोजन गरिएपनि आयोजनाले काम नगरेको प्रष्ट भएको छ ।

यो आयोजनाले असार महिना भित्रमा २२ करोड ४६ लाख २४ हजार ९ सय ७१ रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । तर एक महिना भित्र यो आयोजनाले यती रकम बराबरको काम गर्न नसक्ने प्रष्ट भएको र रकम फ्रीज हुने पक्का रहेको छ ।

त्यस्तै व्यापारिक मार्ग विस्तार आयोजना -बेलहिया-बुटवल समेत ठुलो रकम खर्च नगरेकोको सुचिमा परेको छ । यो आयोजनाको लागि ४९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा जेठ मसान्त सम्म ३७ करोड ६८ लाख ८८ हजार २ सय ९ रुपैयाँ मात्र खर्च गरेको छ । यो आयोजनाले काम गरिरहेपनि असार महिना भित्र करिब १३ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ ।

यस्तै बजेट भएपनि खर्च गर्न नसकेको अर्को कार्यालय हो डिभिजन सडक । यो कार्यालयको लागि ४८ करोड ६८ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन भएपनि जेठ मसान्त सम्म यो कार्यालयले ४१ करोड ७७ लाख ५१ हजार ३ सय १३ रुपैयाँ मात्र खर्च गरेको देखिएको छ ।
सडक डिभिजन कार्यालय असार महिना भित्रमा करिब ७ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । त्यस्तै जिल्ला विकास समितीको कार्यालयले असार महिना भित्र करिब ६ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ ।

किसानको लागि उन्नत बीउ विजन कार्यक्रम आयोजनाले काम गर्न नसकेको प्रष्ट भएको छ । यो आयोजनाको लागि ११ करोड १६ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएपनि यो आयोजनाले जेठ मसान्त सम्ममा मात्र ६ करोड ६२ लाख ८९ हजार ८ सय ९४ रुपैयाँ खर्च गरेको देखिएको । यो आयोजनाको पनि रकम फ्रीज हुने देखिएको छ ।

त्यस्तै पश्चिमाञ्चल सिचाँई विकास डिभिजन नं. ६ को कार्यालयले यही असार महिना भित्र करिब ४ करोड रुपैयाँ, पर्यटन कार्यालयले करिब साढे ५ करोड, भुमिगत जल सिचाई विकास डिभिजन कार्यालयले ५ करोड, भैरहवा भन्सार कार्यालयले करिब ६ करोड, जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयले करिब ४ करोड, जिल्ला वन कार्यालयले १ करोड,  भुमिगत जलश्रोत विकास समिति शाखा कार्यालयले साढे २ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ ।

यी हुन् बढी बजेट खर्च गर्न नसकेका रुपन्देहीका कार्यालय/आयोजना

कार्यालय/योजनाको नाम बजेट खर्च (रुपैयाँ)
लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक ३२,३०,३५,००० ९,८४,१०,०२९
व्यापारिक मार्ग विस्तार आयोजना ४९,५०,००,००० ३७,६८,८८,२०९
डिभिजन सडक कार्यालय ४८,६८,३१,००० ४१,७७,५१,३१३
जिल्ला विकास सिमतीको कार्यालय २०,७७,२६,००० १४,९८,००,९८७
किसानको लागि उन्नत विउ विजन कार्यक्रम १,१६,९०,००० ६,६२,८९,८९४
पश्चिमाञ्चल सिचाँई विकास डिभिजन नं. ६ ९,९८,३७,००० ६,०१,०९,४७२
पर्यटन कार्यालय ९,९८,००,००० ५,७३,२४,५९९
भुमिगत जल सिचाई विकास डिभिजन ७,८१,००,००० २,८८,०५,८३०
भैरहवा भन्सार कार्यालय ७,३१,००,००० १,६९,८४,४४३
जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय ६,५०,००,००० २,८१,९२,५५५.६३
जिल्ला वन कार्यालय ३,११,९३,००० १,९५,८९,९१२
भुमिगत जलश्रोत विकास समिती शाखा कार्यालय २,९९,१२,००० ५२,७८,६६५
जिल्ला भु संरक्षण कार्यालय २,३८,५०,००० १,७८,३४,९०२
दंगा नियन्त्रण प्रहरी गण २,५१,८५,००० १,७१,७४,००४.६८
जिल्ला प्राविधिक कार्यालय १,६८,२०,००० ५६,१५,४०८
जिल्ला प्रशसान कार्यालय १,२५,१२,३०० ३१,७८,१०५
लुम्बिनी यातायात व्यवस्था कार्यालय १०,५०,००० ६,४१,४७५
राष्ट्रिय गहुबाली अनुसन्धान कार्यक्रम १,०१,७५,००० ४०,५९,३०७.३७
राष्ट्रिय अनुसन्धान कार्यालय ३५,५०,००० १२,२८,१९७
राजश्व अनुसन्धान कार्यालय ३४,५०,००० २,२२,४८९
जिल्ला हुलाक कार्यालय २२,४५,००० ५,४५,३५७.४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment