Comments Add Comment

काठमाडौंमा नयाँ किसिमको ‘रोड रेलिङ’, के छन् यसका विशेषता ?

बलियो र आकर्षक रेलिङको प्रयोग सुरू

accident
४ असार, काठमाडौं । माथिको तस्वीर डेढ वर्षअघि ललितपुरको झम्सिखेलमा भएको कार दुर्घटनाको हो । रोड रेलिङमा कार ठोक्किएर २० फिटको डण्डी डण्डी नै छिर्दा भएको दुर्घटनामा संयोगले कुनै मानवीय क्षति भएन ।  तर, यसबाट सडकपेटीमा राखएकिो रेलिङ कति अवैज्ञानिक छ भन्ने प्रष्ट हुन्छ ।

चाकलकै लापरवाहीमा यो दुर्घटना भएपनि भैपरी आउँदा बचाउने सडकपेटीको रेलिङले नै कसरी असुरक्षा पैदा गरिरहेको भन्ने प्रष्ट हुन्छ । अहिले काठमाडौंका अधिकांश सडकपेटीमा यस्तै रेलिङ छन्, जसले सडक पेटीमा हिँड्नेलाई पूर्ण रुपमा सुरक्षा दिँदैनन् भने सवारीलाई पनि ‘एम्बुस’ थापे जस्तो छ ।

किनभने यो तीव्र गतिमा सवारीले ठक्कर दिँना सजिलै भाँचिन्छ । ठक्कर दिनासाथ रेलिङका ठडाइएका डन्डी भाँचिन्छ र सडकभरी असरल्ल हुन्छ । यसले अरु सवारी र पैदलयात्रीलाई झन जोखिममा पार्छ ।

यसैलाई ध्यानमा राखेर काठमाडौं महानगरपालिकाले काठमाडौंका सडकमा नयाँ किसिमको रेलिङको प्रयोग थालेको छ । महानगरपालिकाले उत्तरढोका, लैनचौर, केशरमल, जमल र रत्नपार्क क्षेत्रमा बलियो खालको रेलिङ राख्न सुरु गरेको छ ।

road bar (1)
काठमाडौंमा महानगरपालिका अन्तरगतको काठमाडौं दिगो शहरी यातायात आयोजना कार्यान्वयवन इकाईले झण्डै ६ किलोमिटर सडकपेटीमा नयाँ खालको रेलिङ राख्ने काम अन्तिम चरणमा पुर्‍याएको आयोजना व्यवस्थापक सुरज शाक्यले बताए ।

सुरक्षित किसिमको रेलिङ
‘पहिले राखिएका रेलिङ धेरै अवैज्ञानिक पाइयो । किनभने त्यो पूर्ण रुपमा दुर्घटना प्रतिरोधक थिएन’ शाक्यले भने-‘अहिले राखिएका रेलिङहरु उच्च गुणस्तरका छन् । यो देख्ने बित्तिकै सबैले अनुमान लगाउन सक्ने कुरा हो ।’

अहिले जडान गरिएको रेलिङको खम्बा ३/३ इन्च मोटो छ । यो लाम्चो आकारको छ । यसमा जोडिएको गोलो आकारको तर्सो रेलिङ पनि ३ इन्च मोटाइकै छ । यसमा सानोतिनो सवारीले हान्दैमा क्षति पुगि हाल्दैन ।

road bar (3)
पहिले गोलो आकारको डेढ इन्च मोटो खम्बामा त्यतिनै मोटाइका रेलिङ राखिन्थ्यो । अहिले ३ इन्च मोटो लाम्चो आकारको खम्बा १/१ मिटरको अन्तरमा राखिएको छ । यसमा गोलो आकारको पहिलेको मोटो रेलिङ जोडिएको छ ।

‘यसअघिका रेलिङमा एक ठाउँमा ठक्कर दिएपछि कम्तिमा ३० मिटरसम्म काम नलाग्ने हुन्थ्यो । तर, अब पाँच-पाँच मिटरको अन्तरमा छुट्टा-छुट्टै रेलिङ पिस राखिएका छन्’ शाक्यले भने-‘अहिले एक ठाउँमा सवारी ठोक्किदा पहिलो १ किलोमिटरसम्म भ्राइबेन्ट पैदा हुन्छ र थुप्रै मिटर रेलिङ बिग्रन्थ्यो । अहिले् जोडिएका रेलिङमा ठोक्किएर ठूलै दुर्घटनामा भए ५ मिटरको रेलिङ मात्रै बिग्रन्छ ।’

road bar (6)
उनले अब बिगि्रएका रेलिङ फेर्न पनि फटाफट काम गर्न सकिने बताए । यस किसिमको रेलिङले सवारीलाई पनि ठोक्किँदा तुलनात्मक रुपमा पहिलेको भन्दा बढी सुरक्षा दिने उनको दावी छ ।

आकर्षक पनि
‘रेलिङ राख्ने भनेकै मुख्य रुपमा मानवीय क्षति कम गर्न मानवीय सुरक्षा प्रत्याभूत गर्न हो’ शाक्यले भने-‘अहिले जोडिएका रेलिङले यो काममा सहयोग पुर्‍याउने छन् । किनभने यो बलियो, वैज्ञानिक र किफायती खालको छ ।’

road bar (1)
यो रेलिङ हेर्नमा पनि आकर्षक छ । ‘लुक्स’ राम्रो भएकाले शहरी सुन्दरता बढाउन यसले सहयोग गर्ने महानगरपालिको विश्वास छ । झण्डै २ करोड रुपैयाँ खर्च गरेर पहिलो चरणमा ६ किलोमिटर सडकपेटीमा यस्तो रेलिङ राखिएको हो । अब अन्य फुटपाथमा पनि यसलाई विस्तार गर्ने महानगरको योजना छ ।

साँघुरा फुटपाथमा भने रेलिङ राख्ने योजना बनेको छैन । अपाङ्गहरुलाई ह्वीलचियर छिराउन अप्ठेरो पर्ने भएकाले साँघुरा सडकपेटीमा रेलिङ नराखिने भएको हो ।

road bar (5)‘सडक पेटीमा जथाभावी मोटरसाइकल चलाउने र गाडी पार्किङ रोक्न पनि रेलिङको महत्व छ’ शाक्यले भने-‘पहिले सडकमै लगेर वेल्डिङ गरी सयौं मिटर लामो बनाएर जोडिएका रेलिङलाई नयाा प्रविधिले विस्तारै विस्थापन गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment