Comments Add Comment

भूकम्प पीडितलाई २ लाख दिन माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

samsad

९ असार, काठमाडौं । भूकम्प पीडितहरूलार्इ एक मुष्ट दुर्इ लाख उपलब्ध गराउन माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेको छ ।

बिहीबारको संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्तीले डा प्रकाशशरण महत बोल्नलाई समय दिइन् ।

महतले भूकम्पपीडित अत्यन्त कष्टमा रहेको र प्रधानमन्त्रीले वर्षायामअघि नै आवास दिन्छौँ भने पनि हालसम्म एउटा पनि घर निर्माण नभएको भन्दै विरोध गरे ।

कांग्रेस नेतृत्वको सरकारले घोषणा गरेको दुई लाख एकमुष्ट तत्काल उपलब्ध गराउन आफूहरुले पटक पटक माग गर्दा पनि सम्बोधन नभएको उनले बताए । ‘सो रकम तत्काल भूकम्पपीडितलाई दिइयोस्, महतले भने, ‘सरकारले कुरा गर्छ काम गर्दैन, प्राधिकरणले आ–आफ्ना गैरसरकारी संस्थालाई काम दिने,पार्टीकरण गर्ने काम भएको छ, यो गलत हो ।’

उनले यसअघि दिने भनिएको दुई लाख किस्तामा ५० हजारका दरले दिने कुराले पीडितको पक्षमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको उनले बताए ।

कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भूकम्पपीडितको राहत रकम उपलब्ध गराउन माग गर्दै संसद् अवरुद्ध गर्न बाध्य भएको बताए । आफूहरुले उठाएको मागबारे प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म संसद बैठक चल्न नदिने उनले बताए ।

सभामुख ओनसरी घर्तीले सरकारबाट भोलि नै पुनःनिर्माण सम्बन्धमा विस्तृत जानकारी गराउने खबर प्राप्त भएको भन्दै काँग्रेस सांसदहरुलाई बस्न आग्रह गरिन् । तर, कांग्रेस सांसदहरुको विरोध जारी रहेपछि बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment