१६ असार, नुवाकोट । नुवाकोटको तुप्चे गाविसस्थित सलाखु खोलामा आएको बाढीले पक्की पुल भत्काएपछि पाँच गाविससँग यातायात सम्पर्क विच्छेद भएको छ ।
सलाखु खोलाको बाढीले बहाव परिवर्तन गर्दा सात वर्षअघि निर्माण भएको पुल भत्किएको हो ।
जिल्लाका मनकामना, फिकुरी, काहुले, भाल्चे र साल्मे गाउँ विकास समितिका नागरिकहरु गाउँमै थुनिएका छन् । मोटरसाइकल पनि तार्न नसकिने गरी पुल भत्किएको स्थानीयले बताए ।
धान रोपाईंको बेला बाटो बन्द भएपछि मल बिउ बिजन किनमेल गरेर लैजान समस्या भएको छ । तुप्चेदेखि बोकेर गाउँसम्म पुर्याउन सम्भव नभएको किसानहरुले बताएका छन् ।
यसबाट कुखुरा पालक किसान पनि समस्यामा परेका छन् । ‘गाउँमा पालिएका कुखुरा बिक्रीका लागि ठिक्क भएका बेला पुल भत्किएपछि बजारसम्म लैजान सकिएन । कुखुराको दाना पनि किनेर ल्याउन सकिएको छैन,’ स्थानीय छत्र लामाले भने ।
आवत-जावत बन्द भएपछि पाँच गाउँ विकास समितिका नागरिकहरुको जनजीबन कष्टकर बन्न थालेको छ । खाद्य सामाग्री ढुवानी गर्न र गाउँमा उत्पादित सामाग्री बजारमा पुर्याउन नसकिएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया 4