+
+

प्रहरीलाई आचरण सुधार्न महानिरीक्षक अर्यालको निर्देशन

एस.के. शान एस.के. शान
२०७३ साउन ७ गते १४:४०

७ साउन, सप्तरी । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीको व्यवहार र दिने सेवा जति नै सुन्दर भए त्यत्ति नै समाजको सहयोग पाउन सकिने बताएका छन् । अबको जमानामा प्रहरीले सुन्दर व्यवहार नगर्नुको विकल्प नभएको उनको भनाई छ ।

Upendrakant-Aryal-IGP‘सुन्दर भवन भएर मात्र हुँदैन,’ प्रहरीको आचरण र व्यवहार पनि सुन्दर हुनुपर्छ,’ जिल्ला प्रहरी कार्यालय सप्तरीको नवनिर्मित भवनको शुक्रबार उदघाटन गर्दै अर्यालले भने, ‘सुन्दर व्यवहार र सुन्दर आचरण गरेमात्र सुन्दर भवनको पनि शोभा बढ्छ ।’

नागरिकप्रतिको सेवा भाव बढाउन सबै प्रहरीलाई निर्देशन दिँदै उनले भने, ‘आफ्नो व्यवहार र आचरण राम्रो बनाउनु सबै प्रहरीका लागि जरुरी छ । राम्रो व्यवहार र आचरण समाजले अनुभूति गर्न सकेमात्र समाजबाट पनि सहयोग पाउन सकिन्छ ।’

समाजमा कुनै न कुनै रुपमा अपराध रहिरहने बताउँदै उनले समाजको सहयोग बिना प्रहरीले एक्लै अपराध न्यूनिकरण गर्न नसक्ने बताए । ‘अपराध रोक्न समाजको सहयोग अपरिहार्य हुन्छ,’ उनले भने, ‘यसैले समाजको मन कसरी जित्ने त्यसतर्फ सबै प्रहरीको ध्यान जानु जरुरी छ ।’

अपराधलाई न्यूनिकरण गर्ने सवालमा होस् या समाजमा शान्ति, अमनचयन गर्नका लागि समाजको सहयोग चाहिने भएकाले त्यही अनुसारको तौरतरिका अपनाउन उनले निर्देशन दिए ।

कार्यक्रममा पूर्व क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले प्रहरीले हालै ल्याएको प्रहरी मेरो साथी अभियानलाई सार्थक बनाएर सम्पूर्ण नागरिकसँग मित्रवत व्यबहार गर्ने प्रतिबद्वता व्यक्त गरे ।

जग्गादातालाई सम्मान

कार्यक्रममा पूर्व क्षेत्रिय प्रहरी अस्पतालको लागि जग्गा दिएर भवन समेत बनाइदिने घोषणा गरेका जिल्लाका वरिष्ठ समाजसेवी जोगेन्द्र भगतलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर अर्यालले सम्मान गरे ।

रेडक्रसका सभापति समेत रहेका भगतले रायपुर गाविसमा पूर्व क्षेत्रिय प्रहरी अस्पताल निर्माणका लागि सवा दुई बिघा जग्गा दान गरेका छन् । उनले यही जग्गामा भवन समेत बनाइदिने भएका छन् । यसबारेमा पूर्व क्षेत्रिय प्रहरी प्रमुख केशरीराज घिमिरे र भगतबीच सम्झौता पत्रमा हस्ताक्षर भई एक अर्कालाई हस्तान्तरण समेत गरियो ।

भगतले भवन निर्माणका लागि दुई लाख ५१ हजार नगद तत्कालै कार्यक्रममै घिमिरेलाई उपलब्ध गराए ।

१६ कोठे भवनको उदघाटन

कार्यक्रममा प्रहरी प्रमुख अर्यालले जिल्ला प्रहरी कार्यालय सप्तरीको १६ कोठे भवनको रिबन काटेर उदघाटन गरे ।

एक करोड २२ लाख ३२ हजार ५ सय ३ को लागतमा निर्माण भएको भवनमा कार्यालय प्रमुखको एक, अपराध अनुसन्धानको २, प्रवन्ध शाखाको २, लेखा शाखाको १, संचार शाखाको तीन, हिरासत कक्षको चार वटा र कन्ट्रोल रुम एक गरी १६ वटा कोठा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी १६ कठ्ठा ४ धुर क्षेत्रफलमा छ । नवनिर्मित भवन अढाई तल्लाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?