१२ साउन, मुगु । मुगु जिल्लाको पश्चिमी सीमास्थित करिव १२ सय ७५ मिटरको उचाइमा अवस्थित जिल्लाकै होचो ठाउँको रुपमा चिनिने सुकाढीक गाउँमा पानीको श्रोत घट्दै जान थालेपछि विगतका वर्षहरुका तुलनामा रोपाईंको रौनकमा पनि कमी आएको छ ।
जलवायु परिवर्तन र बढ्दो जनसंख्याका कारण वन विनास बढदै गएपछि पानीका मुहान सुक्दै गएका छन् ।
पर्याप्त वर्षा पछि खोलाको पानी बढेपछि मात्र रोपाईं गरिने सुकाढीक जिउलामा हरेक बर्ष साउनको दोस्रो साताबाट रोपाईं सुरु गरिन्छ । पानी अभावकै कारण सुकाढीक र हृयाङ्लु गाउँ मुगु जिल्लाकै अन्तिममा रोपाईं हुने ठाउँ हुन् ।
रोपाईंका लागि पानी अभाव हुन थालेपछि अचेल आधाभन्दा बढी धान खेतमा छर्ने गरिन्छ ।
विगतका वर्षहरुमा पुरै जिउलो रोपाईं गर्दा थुप्रै मानिसहरुको खाँचो हुने भएकाले छिमेकी गाउँहरुबाट समेत सघाउन आउँथे । सुकाढीक जीउलाको रोपाईं भन्नेबित्तिकै एक खालको चाडबाडजस्तै मानिन्थ्यो । रोपाइँसँगैको पुल्ती नाचले त झनै रोचकता थप्दथ्यो ।
तराई जस्तै धान फल्ने ठाउँमा पानी अभाव हुन थालेपछि रोपाईंको रौनक र धान उत्पादन समेत घट्दै गएको स्थानीयहरुको गुनासो छ ।
पानी अभावले आधा जिउलो छरेपछि रोपाईंको रमाइलो विस्तारै घट्दै गएको छ ।
रोपेको धानको तुलनामा छरेको धान कम फल्ने र भात पनि मिठो नहुने भन्दै किसानहरु उत्साहित देखिँदैनन् ।