Comments Add Comment

अस्वाभाविक अभियानप्रति स्वाभाविक शंका

पहाडे दलितबाट ठगिएका छन् मधेसी दलित

महिनौं चलेको मधेस आन्दोलन काठमाडौं  पुगिसकेपछि मधेसमा अहिले ‘क्षमायाचना’ भने अभियानले चर्चा पाएको छ । सायद पहिलो पटक हो, मधेसमा यस्तो अभियानले जन्म लिएको छ, जसले राष्ट्रियस्तर मै सामाजिक न्याय र समानताको लागि एउटा ठूलो भास्य अर्थात ‘डिस्कोर्ष’ सिर्जना गर्न सफल भएको छ । साथै यो अभियानलाई काठमाडौंलगायत मधेसमा समेत बिभिन्न शंका उपशंकाको नजरले पनि हेर्न थालिएको छ । अभियन्ताहरुको सामु विभिन्न चुनौतीहरु थपिँदो क्रम जारी छ ।

Randhir-Chaudharyझण्डै एक महिना हुन लाग्यो, सोसल मिडियामार्फत क्षमायाचना अभियान शुरु भएको । शुरुमा प्रशान्त झा, दिपेन्द्र झा, राकेश मिश्र, तुलानारायण साहलगायतले दुबै हात जोर्दै मधेसका दलित, अल्पसंख्यक, मुस्लिम तथा अन्य उत्पिडनमा परेका समुदायहरुसँग क्षमा माग्दै गरेको तस्विर साझा गरेर यो अभियान थालेका हुन् ।

भर्खर दुई वर्षदेखि समाजिक अभियानमा लागेको यो पंक्तिकारको मनमा कौतुहलताको लहरले वेग लियो । एमएड पढ्दै गर्दा अमेरिका र यूरोपियन देशहरुमा भएको विभिन्न रिनासाको बारेमा पढेको थिएँ । त्यसमध्य एक हो हरलम रिनासा । जुन की अमेरिकाको हरलम भने ठाउँमा सम्पन्न भएको थियो । अठारौ शताब्दीको अन्त्यतिर अमेरिकन निग्रोहरुले थालेको त्यो आन्दोलनले काला र गोराको आन्दोलनमा एउटा सामाजिक आयाम थपेको थियो । प्रोफसरले पढाइरहेको बेला सोच्थे मधेसमा पनि यस्तै रिनासा ‘पूर्णजागरण’ आवश्यक छ । यो अभियानमा त्यसकै छनक भेटाएँ मैले ।

यो अभियानले अहिले संगठित रुप पाइसकेको छैन । विदितै छ, पिछडिएका समूदायहरु माथि नउठ्नुका धेरै कारणहरुमध्ये मुख्य कारण छुवाछुतजन्य ब्यवहार र साधन स्रोतमा पहुँच नपाउनु हो । अब उपरान्त यस्ता गल्ती नगर्ने वा गर्न नदिने उद्देश्यले सतहमा आएको छ यो अभियान । यो अभियानका धेरै राम्रा पक्षहरुमध्ये एक हो यो अभियानको धारणा र थालिनी मधेसी ब्राम्हणहरुबाट गरिनु । मधेसी समाजमा जुन प्रकारको जातिय संस्कार अभ्यासमा छ, त्यसलाई हेर्ने हो भने यो अभियान ब्राम्हणबाट शुरु हुनु अस्भाविक लाग्छ । समयको क्रममा अनेकौँ ब्यक्तित्वहरु थपिदै गएका छन् । आजको दिनमा यो अभियानलाई समर्थन गर्ने व्यक्तिहरु आफ्नो निजी कामले मधेस झर्दा र जो मधेस मै बसोबास गरिरहेका छन् उनीहरुले मौका मिलाएर यो अभियानलाई अगाडि लैजान आफ्नो स्तरबाट लागिपरेको कुरा सामाजिक संजालमा हेर्न सकिन्छ ।

यो अभियानलाई नकारात्मक टिप्पणी गर्नेहरु प्रशस्तै छन् । त्यस्ता व्यक्तिहरुमा थरी-थरीका मनोविज्ञानले काम गरिरहेको छ । केही बिरोधीहरु व्यक्तिगत प्रतिशोधका कारण त्यसो गरेको बुझिन्छ । यसमा यस्ता व्यक्तिहरु छन् जो यो अभियानका अगुवाहरुबाट ब्यक्तिगतरुपमा रिसराग पालेर बसेका छन् । तर त्यस्तोको संख्या थोरै छ ।

दोस्रो खालका मानिसहरु छन्, जस्ले मधेसमा सामाजिक विभेद रहेको कुरा स्वीकार गर्दैनन् । उनीहरुको बुझाइमा मधेसमा जे जति समस्या छन् ती सबैका कारक काठमाडौंको विभेद नीतिमात्र हो । यस समूहमा मधेसका राजनीतिकर्मीहरुको संख्या ज्यादा पाइन्छ । यी दुई धारणाको चेपुवामा परेर पनि धेरैले यो अभियानलाई सतहीरुपमा बिरोध गरिरहेको देखिन्छ । केही गैरमधेसी बौद्घिक ब्यक्तित्वहरुले यो अभियानलाई सहज मानेका छैनन् ।

के डोम जातीको कुनै मानिस पक्की घरमा राम्रो ब्यवस्थासहित बसेको छ ? छ भने ब्राम्हण वा यादव वा साह थरका मानिस त्यहाँ गएर खाना खाने चलन छ ?

अहिलेसम्म हुने गरेका अनेकौँ आन्दोलन जस्तै यस अभियानमा पनि एनजीओसँग सम्बन्धित मानिसहरुको संलग्नता देखिएकाले कतिपयले यसमा डलरको खेल देख्छन् । यो आरोप स्वभाविक छ । यसको सही जबाफ अभियन्ताहरुको आजको बाचा भन्दा पनि भविष्यको उहाँहरुको ब्यवहारले दिने हो ।

आलोचकहरुको तर्क छ, यो फगत क्षमायाचनाले कुनै परिवर्तन आउन सक्दैन उत्पीडित जनताहरुको जीवनमा । यो देखावटीपनले व्यक्तिगत माइलेज पाउलान् अभियन्ताहरूले तर दलितको आर्थिक तथा सामाजिक जीवनमा कुनै परिवर्तन ल्याउन सकिदैन । कोही भन्छन्, मधेसमा दलितसँग छुवाछुत रहेन । उनीहरुको आर्थिक उन्नती र शिक्षामा जोड दिनुपर्छ । त्यसैले यो अभियानको जरुरी छैन । तर हामी हेरिरहेका छौँ कि शहर बजारमा नचिनिएका डोम, चमारसँग छुवाछुत गरिँदैन तर चिनिएकाहरुसँग त्यहाँ पनि छुवाछुत कायम छ । गाउँबस्तीमा त यो बिकरालै छ । यस विषयमा एउटा सार्वजनिक प्रश्न सोध्न मन लागेको छ, के डोम जातीको कुनै मानिस पक्की घरमा राम्रो ब्यवस्थासहित बसेको छ ? छ भने ब्राम्हण वा यादव वा साह थरका मानिस त्यहाँ गएर खाना खाने चलन छ ?

कोही भन्छन्, मधेसका दलितहरुको मुल समस्या भुमिहिन, गरिबी र आरक्षणमा पहुँच नपाउनु हो र मधेसमा त्यसको सबैभन्दा ठूलो शोषक मधेसकै उपल्लो जातका जमिन्दारहरु हुन् । त्यसैले मधेसी जमिन्दारहरुले उनीहरुलाई जग्गा वितरण गर्नुपर्छ । आरक्षणमा मधेसी कोटामा मधेसी दलितहरुको छुटै ब्यवस्था हुनुपर्ने आशाय पनि प्रकट गरेको छ । यी तर्कहरु गम्भीर प्रकारका छन् । सतहबाट हेर्दा सत्यजस्तो पनि देखिन्छन् । त्यसैले यस विषयमा गम्भीर बहस हुनु जरुरी छ ।

मधेसी दलितहरुको गरिबी, अशिक्षा, बेरोजगारी, भुमिहिन लगायतका सबै समस्याहरु अवश्य छन् तर छुवाछुत जस्तो सामाजिक समस्या पनि कायमै छ । यो क्षमायाचना अभियानले सबै समस्या सामाधानमा सहयोग नगर्ला तर छुवाछुत अन्त्यमा अवस्य सघाउने जस्तो लाग्छ ।

जहाँसम्म भुमिहिनको समस्या छ र मधेसी जमिन्दारहरु शोषक रहेको आरोप छ, त्यस्मा बढी भन्नु छैन । मधेसी जमिन्दारहरुले दलितहरुको भुमि कब्जा गरेको वा तिनीहरुले दलितहरुलाई भुमि दिनुपर्ने आशयबारे केही कुरा लेख्नु जरुरी छ ।

मधेसमा जमिन्दारी कस्को छ ? जमिन्दारहरुको सुचि बनाऊ, कति मधेसी र कति पहाडे जमिन्दारहरु छन् । निःसन्देह चारमा तीन पहाडे जमिन्दार र एक मधेसी जमिन्दार पाइन्छ । जमिन्दारहरुको जमिन दलितहरुलाई वितरण गर्ने नीति सरकारले लिने हो भने पहिला जमिन्दार र भुमिहिनहरुको तथ्यांक सार्वजनिक गर्नका लागि पहल हुनु जरुरी छ ।

दोस्रो, २०१७ सालयता मधेसमा चुरे जंगलको फडानी, एेलानी जग्गामा बस्ती विकास र पुनर्वासको योजना चलेको विदितै छ । १९६० को दशकमा केवल ६ प्रतिशत पहाडे जनसंख्या रहेको मधेसमा अहिले ३७ प्रतिशत पहाडेहरुको जनसंख्या पुगेको छ । यो सबै त्यही ग्रामीण बस्ती विकास, पुनर्वास योजना अन्तर्गत भएको हो । त्यसमा मधेसका भुमिहिन मधेसी दलितहरुले के कति जग्गा पाए ? कस्ले कति पायो ? यदी मधेसी दलितहरुले पाएनन् भने त्यसको कारण मधेसी समाज कि मधेसी जमिन्दारहरु कि, राज्यका संचालक नेता र प्रशासकहरु ?

आरक्षणमा मधेसी दलितहरुको भाग मधेसका उच्च जातहरुले खाएको अर्को आरोप छ । केही मात्रामा यो सत्य पनि हो तर मधेसी दलितहरुको भाग मधेसी उच्च जातकाले खाएभन्दा बढी पहाडकै दलित र उच्च जातकाले खाएको बिर्सनु हुँदैन ।

आरक्षणमा मधेसी, दलित, महिला, आदिबासी जनजाती, पिछडिएको क्षेत्र र अन्य गरी क्लष्टर राखिएको छ । अहिलेसम्म दलितलाई छुटयाएको सिटमा मधेसी दलित बिरलै उत्तिर्ण हुने गरेको छ । महिला कोटामा लगभग सबै खसआर्य समुदायका महिलाहरु उत्तिर्ण हुन्छन् । मधेसी कोटामा पनि मधेसी दलितहरु नगण्य नै उत्तिर्ण हुने गरेको छ । त्यसैले मधेसी दलितलाई आरक्षणमा पहुँच बढाउनका लागि महिला, दलित र मधेसी सबै क्लष्टरमा भाग छुट्याउनुपर्छ, नकि मधेसी कोटामामात्र ।

समग्रमा, यो अभियान मधेसको मात्र होइन समग्र देशकै हितमा छ । मधेसका केही हिन्दु मूलतत्ववादी ‘फण्डामेन्टलिस्ट’हरुमा एउटा भय देखिन्छ की यदी कथित तल्ला जातहरुको मनोवल बढ्यो भने उनीहरुको साखमा ह्रास आइहाल्छ की ? मधेसको राजनीतिमा दलित, मुस्लिमहरु अगाडि आए भने पक्कै पनि अहिले हालीमुहाली कायम गरेका तकाकथित ठूला जातकाहरुलाई घाटा हुनेछ । वास्तवमा भन्ने हो भने जुन दिन मधेसी समाजका सबै समुदायहरु एकजुट भएर आफ्नो समस्याको सही पहिचान गर्नेछन्, मधेस आन्दोलनमा अपनत्व महशुस गर्नेछन्, त्यसदिन काठमाडौंसँगको लडाइँ झन् मजबुत हुनेछ ।

(लेखक तराई मानवअधिकार रक्षक संजालमा आबद्ध छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment