Comments Add Comment

आमरण अनशन बसेका नेविसंघ नेता ‘सिकिस्त’

अनशन तोड्न निर्देशक समितिले गरेको आग्रह अस्वीकार

Nebisangh-Hunger-Strike
आमरण अनशन बसेकाहरुलाई भेट्दै कांग्रेस नेताहरु । तस्वीर: डिल्लीराम सुवेदीको फेसबुक

१७ साउन, काठमाडौं । एघारौं महाधिवेशन विधिसम्मत ढंगले हुनुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसेका नेविसंघ कार्यकर्ताहरु विरामी परेका छन् । शनिबारदेखि गणेश सापकोटा र रत्नहरी ढुंगेलले आमरण अनशन सुरु गरेका थिए ।

नेता डिल्लीराम सुवेदीले अनलाइनखबरसँग भने, ‘गणेश जी एक्कासी ढल्नुभयो । उहाँमा ग्लुकोजको मात्रा कम देखिएको छ । रत्नहरीमा पनि ग्लुकोजको मात्रा कम र ब्लड प्रेसर हाई देखिएको भनेर डाक्टरहरुले भन्नु भएको छ ।’

आमरण अनशन बसेकाहरु विरामी परेपछि स्टार अस्पतालबाट चिकित्सक बोलाइएको थियो । उनीहरुले मोनिटरिङ उपकरण जडान गरी उपचार गर्नुपर्ने भन्दै अस्पतालमै ल्याउन भनेका थिए । तर आमरण अनशन बसेकाहरुले आफूहरुका माग सम्बोधन नभएसम्म उपचारका लागि अस्पताल नजाने अडान राखेका छन् ।

निर्देशक समितिको आग्रह अस्वीकार

आमरण अनशन बसेकाहरुलाई भेट्न सोमबार दिउँसो कांग्रेस नेताहरुको टोली केन्द्रीय कार्यालय पुगेको थियो । महाधिवेशन गराउन गठित निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महत, प्रदीप पौडेल, एनपी साउद, चन्द्र भण्डारी, नेविसंघ सभापति रञ्जीत कर्ण, ऋषिकेश जंग शाहलगायत अनशनकारीलाई भेट्न गएका थिए । उनीहरुले पनि अनशन फिर्ता लिन भनेका थिए तर अनशनकारीले मानेनन् ।

‘प्रकाश दाईले विधिसम्मत ढंगले महाधिवेशन हुन्छ, त्यसको जिम्मा हामी लिन्छौं, अनशन तोड्नुस् भन्नुभयो । तर, साथीहरुले मान्नु भएन,’ सुवेदीले भने, ‘साथीहरुले हाम्रा मागहरु व्यावहारिक रुपमा सबै कार्यान्वयन नभएसम्म अनशन तोड्दैनौं भन्नुभएको छ ।’

उनले अघि भने, ‘साथीहरु सिकिस्त हुनु भएको छ । हामी नर्भिक अस्पतालका डाक्टरहरुसँग पनि परामर्श गरिरहेका छौं ।’

महाधिवेशनका प्रतिनिधिहरु र जिल्ला नेतृत्व भागबण्डाका आधारमा छानिएको भन्दै कुन्दन काफ्ले नेतृत्वको समूह असन्तुष्ट छ । सोही असन्तुष्ट समूहले रिले अनशन पछि आमरण अनशन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment