+
+

केपी ओलीका ७ वाणीः भारत र मधेसदेखि जाली तमसुकसम्म !

मधेसी मोर्चाले पैसा मागेको थियोः प्रचण्ड सरकारको निर्णय झूटो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २६ गते १९:५४

२६ साउन, काठमाडौं । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस-माओवादी गठबन्धन र छिमेकी भारतप्रति अझैसम्म आक्रामक बन्न छाडेका छैनन् । बुधबार धुम्वाराहीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग एमाले अध्यक्ष ओली रोमाञ्चकरुपमा प्रस्तुत भए ।

ओलीको बोलीमा फेला परेका विभिन्न ७ ‘टपिक्स’ यस्ता छन्ः

१. भीष्म पितामह अब कमजोर छैन

हिजो एमालेलाई बदनाम गर्न टीएन प्रधान र रमेश प्रधान काण्ड रच्नेहरुले आज केपी ओलीले बालुवाटारबाट कुचो लग्यो, नाङ्लो लग्यो जस्ता कथा रचिरहेका छन्

प्रेस चौतारीले बुधवार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको अन्तरक्रियामा ओलीले भने- मंसिरमा स्थानीय निर्वाचन हुन नदिने निश्चित भइसक्यो, कुनै पनि चुनाव गराउने नियत छैन । यो भनेको मुलुकलाई संवैधानिक र राजनीतिक रिक्ततामा पुर्‍याउने षडयन्त्र हो, यसको आभास हामीले पाइसक्यौं ।’

अर्काको बुद्धिबाट चल्नेहरुले मुलुकलाई गम्भीर संकटमा पुर्‍याएको भन्दै ओलीले कांग्रेस र माओवादीप्रति कटाक्ष गरे । उनले भारतको नामै नलिई माओावदी र कांग्रेस ‘अर्काको बुद्धिबाट चलेको’ आरोप लगाए ।

आफ्नो सरकार ढाल्ने शक्तिहरुले एमाले र एमालेको अध्यक्षलाई सिध्याउन अनेक षडयन्त्र गरिरहेको ओलीले बताए । उनले आफूलाई भीष्मपितामहसँग दाँज्दै भने-उनीहरुले भीष्म पितामहलाई सर शैयामा राखेर षडयन्त्र सफल पार्न सकिन्छ भन्ने सोचेका होलान् तर आजको भीष्म पितामह सजिलै शैयामा सुत्न मान्दैन । भीष्म पितामह बलियो भइसकेको छ ।

२. कुचो काण्डः अर्को टीएन प्रकरण

एमाले अध्यक्ष ओलीले सरकार परिवर्तनका पछाडि नेपाल विरुद्धको षडयन्त्र रहेको र एमाले सिध्याउन एमाले र त्यसको अध्यक्षको बदनामी गराउने प्रयास भइरहेको दाबीसमेत गरे । बालुवाटारको प्रधानमन्त्री निवासबाट भाँडाकुँडा हराएको सन्दर्भ पनि उनले कोट्याए ।

ओलीले भने- हिजो एमालेलाई बदनाम गर्न टीएन प्रधान र रमेश प्रधान काण्ड रच्नेहरुले आज केपी ओलीले बालुवाटारबाट कुचो लग्यो, नाङ्लो लग्यो जस्ता कथा रचिरहेका छन् । जबकि मैले सचेततापूर्वक सबै बुझबुझारथ गर्न लगाएर अर्को व्यक्ति प्रधानमन्त्री निर्वाचित हुनासाथ संसदबाट सिधै आफ्नो निवास गएको हुँ ।

ओलीले संकेत गरेको ‘टीएन प्रधान काण्ड’ ०५४ सालमा एमाले फुटेको बेलाको हो । त्यसबेला माओवादी मुखपत्र जनादेशमा रमेश प्रधान र टिएन प्रधानका नाममा धाराबाहिक लेख प्रकाशित भएका थिए । जसमा मदन भण्डारीको हत्या माधव नेपाल र केपी ओलीको षडयन्त्रमा भएको भनिएको थियो । तर, टीएन प्रधान भनेर प्रकाशित फोटो भारतका प्रसिद्ध लेखक कुलदीप नायरको पुष्टि भएपछि सो धारावाहिक आरोप बन्द भएको थियो ।

३. प्रचण्ड लिखित म्यादी प्रधानमन्त्री

कांग्रेस माओवादी गठबन्धनले मधेसी मोर्चासँग संविधान संशोधनको सहमति गरेको सन्दर्भमा ओलीले त्यसलाई जाली तमसुकको संज्ञा दिए । आफू विरुद्धको गठबन्धन बनाउनेहरुले विभिन्न ठाउँमा खाली कागजमा सही गरेको आरोपसमेत लगाए ।

ओलीले भने-मलाई म्यादी प्रधानमन्त्री भन्नेहरुले लिखितरुपमै यति महिनाका लागि भनेर म्यादी सरकार चलाएका छन् । यो लिखित म्यादी सरकार हो । धेरै ठाउँमा, धेरै कागजमा ल्याप्चे लगाएर बनेको सरकारले आफ्नो औकात देखाइसकेको छ ।

४. मधेसी मोर्चासँगको सम्झौता जाली तमसुक

Kp-oli

सीमांकन पुनरावलोकन, अंगीकृत नागरिकतालगायत संविधान संशोधनका विषयमा ओलीले मधेसी मोर्चासँग गरेका सम्झौता लागु गर्ने जिम्मा एमालेले नलिएको प्रष्ट पारे । उनले भने- जसले कागज गरेका हुन् उनीहरुले नै पूरा गर्छन् । अरुले कागज गरेका कुरा पूरा गर्ने जिम्मा एमालेले लिएको छैन ।

सरकारबाट हट्नुपरेको प्रतिशोध भने एमालेले नसाँध्ने उनले प्रष्ट पारे । ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको कुरामा एमाले नकारात्मक नरहेको बताए ।

मधेसी मोर्चाले भनेकै भरमा संविधान पुनर्लेखन वा संशोधन भने नहुने ओलीले प्रष्ट पारे । उनले भने- हामी प्रतिशोध र पूर्वाग्रहको राजनीति गर्दैनौं । तर, केपी ओलीको विपक्षमा भोट हाल्नकै लागिमात्र संविधान स्वीकार गर्ने, अरुबेला बहिस्कार गरेर हिँड्नेहरुको माग पूरा गर्न एमाले बाध्य छैन’ ।

५. मधेसी मोर्चाले पैसा माग्यो

स्रोत चाहियो देखाइदिनुस भनेर उहाँले मकहाँ आएर सोध्नुहोला । लिखित निवेदन दिनुभयो भने, म स्रोत देखाइदिउँला

निवर्तमान प्रधानमन्त्री ओलीले राजदूत सिफारिस भएकाहरुको सुनुवाइ रोक्नु अराजनीतिक र असंवैधानिक भन्दै यसलाई इस्यु बनाएर एमाले नहिँड्ने बताए । उनले भने-एक माघले जाडो जाँदैन ।

ओलीले प्रचण्ड सरकारबाट गरिएको मधेश आन्दोलनका शहीद घोषणा, मृतकलाई १० लाख र घाइतेलाई पैसा दिने निर्णयलाई हास्यास्पद, बेइमानी र झूठको संज्ञा दिए । यी सबै काम आफ्नै सरकारले गरिसकेको उनले बताए ।

ओलीले भने- मृतकका परिवारले १० लाख पाइसकेका छन् । घाइतेको विदेशमा समेत लगेर उपचार गराइएको थियो । मधेसी मोर्चाको माग घाइतेको पैसा पार्टीलाई देऊ भन्ने थियो । तर, पार्टी घाइते भएको त होइन, व्यक्ति घाइते भएकोमा व्यक्तिलाई नै उपचार खर्च दिइएको हो ।

ओलीले मुलुकलाई फेरि साम्प्रदायिक विद्धेषतर्फ फर्काउने खेलहरु भइरहेको भन्दै एमालेले त्यस्तो प्रयास नसहने बताए । पछिल्लो समय सरकार प्रमुख र सत्तारुढ दलका प्रमुख नेताका भनाइले त्यस्तो संकेत गरेको ओलीले बताए ।

६. प्रचण्डले निवेदन दिउन्, स्रोत देखाउँछु

आफ्नो पालामा आर्थिक सम्बृद्धि र देश विकासका योजना अघि सारिएको फेहरिस्त ओलीले प्रस्तुत गरे । ती आयोजना बनाउन स्रोत देखाउन प्रचण्डले आग्रह गरेको सन्दर्भमा पत्रकारले स्रोत कसरी देखाउनु हुन्छ भनी प्रश्न गरेका थिए ।

ओलीले त्यसको जवाफ यसरी दिए-स्रोत चाहियो देखाइदिनुस भनेर उहाँले मकहाँ आएर सोध्नुहोला । सोध्नुभयो भनेँ, लिखित निवेदन दिनुभयो भने, म स्रोत देखाइदिउँला ।

७. माधव नेपालको जिब्रो समाउनु ?

संसदमा आफ्नै पार्टीका नेता माधव नेपालले ओलीले सरकार होइन गुट चलाएको भनी लगाएको आरोपबारे पत्रकारले प्रश्न सोधेका थिए । माधव नेपाललाई के कारवाही गर्नुहुन्छ भन्ने प्रश्नलाई उनले हल्का रुपमा पन्छाए । ओलीले भने-बोल्ने मान्छेले नै टङ स्लिप भयो भनिसके, स्लिप भइसकेको टङ समातेर कारवाही गर्नु ?’

माधव नेपालले अनलाइनखबरसँगको अन्तर्वार्तामा संसदमा बोल्दा आफ्नो टङ स्लिप भएको स्वीकार गरेका थिए । आफू झिनामसिना कुराको पछि नलाग्ने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?