+
+

प्रधानमन्त्री प्रचण्डले छिट्टै भारत भ्रमण गर्नुहुन्छः गृहमन्त्री निधि

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २७ गते १७:५९

Bimalendra-Nidhi

२७ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै भारतको भ्रमण गर्ने उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बताएका छन् ।

सरकारले बिहीबार मात्र निधिलाई विशेष प्रतिनिधिका रुपमा भारत पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको तर्फबाट भारतका राष्ट्रपतिको नेपाल भ्रमणको लागि निम्तो दिने र नेपालका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले दिएको भ्रमणको निम्तोबारेमा कुरा गर्न आफू भारत जान लागेको निधिले बताए ।

नेपाल-भारत सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल हुने भन्दै उनले भने, ‘छिट्टै हाम्रो प्रधानमन्त्रीले पनि भारत भ्रमण गर्नुहुनेछ । भ्रमणको तयारी भारतीय राजदूतावास र नेपाल सरकारले गर्नेछ ।’

उप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि सरकारको विशेष प्रतिनिधिको रुपमा चीन जान लागेको भन्दै निधिले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय गर्ने लगायतका बारेमा छलफल हुने बताए ।

संविधान जारी भएयता नेपाल-भारत सम्बन्धमा चिसोपना देखिएको र केही असहज परिस्थिति बनेको भन्दै गृहमन्त्री निधिले आफ्नो भारत भ्रमण दुई देशको सम्वन्ध सुधारमा केन्द्रित हुने बताए ।

‘संविधान संशोधन अघि बढ्छ’

सरकार गठनका लागि महत्वपूर्ण भूमिका खेलेका निधिले एक डेढमहिनाभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका छन् । गृहमन्त्री निधिले भने, ‘मधेसी मोर्चासँग भएको सम्झौता अनुसार अब संविधान संशोधन हुन्छ, त्यसको लागि सवैपक्षसँग छलफल गर्छौं ।’

मधेसी मोर्चा सत्तारुढ दल भइसकेको भन्दै उनले उसँग आन्तरिक गृहकार्य गर्दै प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्ने स्पष्ट पारे । मन्त्री निधिले भने, ‘अघिल्लो सरकारले मधेशको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमै ग्रहण गरेन, कांग्रेस र माओवादीले सुरुवातदेखि नै मधेसको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा लिएको छ, वार्ताको मोडालिटी तयार पारेर एमालेसँग छलफल गर्छौं, मलाई लाग्छ एमाले पनि सहमतिमा आउँछ, अब वार्ता हाम्रो एमालेसँग हुन्छ ।’

एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनमा एमालेले सहयोग नगर्ने अडान लिएका छन् नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘बाहिर के भन्नुभएको छ, हामीलाई थाहा छैन तर, संसदमा उहाँले संविधान गतिशिल दस्तावेज भएको भन्दै यसमा केही थपघट गर्नुपरे संशोधन गर्न एमाले तयार छ भन्नुभएको छ ।’

फास्ट ट्राकबारे के भने ?

अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन चर्चाबारे सोधिएको प्रश्नमा मन्त्री निधिले भने, ‘महाअभियोग लगाउन कुनै जरुरी छैन, कांग्रेस पार्टी त्यसको पक्षमा छैन ।’

उनले फास्ट ट्रयाकबारे अनावश्यक विवाद गर्नुको कुनै औचित्य नरहेको बताए । उनले भने, ‘नेपाल सरकारले बनाउने सबै कुराहरु नेपालकै हो, यसमा विवाद गर्नु राम्रो हुँदैन, हामी ग्लोबल टेण्डरमार्फत यसलाई अघि बढाउँछौं, जसको लगानीमा बनेपनि यो नेपालकै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?