Comments Add Comment

एमाले बैठकमा ओलीको आलोचना, व्यक्तिवादी भएको आरोप

भीम रावल र प्रदीप ज्ञवालीले गरे नेतृत्वको बचाउ

UML-Baithak

३१ साउन, काठमाडौं । नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली व्यक्तिवादी भएको र त्यहि कारण एमाले-माओवादी गठबन्धन भत्किएको भन्दै आलोचना भएको छ ।

स्थायी कमिटीको बैठकमा विगतका कामको समिक्षा गर्ने क्रममा वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले पार्टी अध्यक्ष ओलीको चर्को आलोचना गरेका हुन् ।

तर, ओली सरकारकमा उपप्रधान तथा रक्षामन्त्री रहेका उपाध्यक्ष भीम रावलले भने गठबन्धन भत्किनुमा ओलीको वा एमालेको दोष नरहेको भन्दै बचाउ गरेका छन् । उनले अन्यत्रकै डिजाइनबाट सरकार ढालिएको दावी गरेको एमाले स्रोतले जनाएको छ ।

बैठकमा बरिष्ठ नेता नेपालले ओलीले प्रधानमन्त्री त्यागेर भने पनि गठबन्धन जोगाउनुपथ्र्यो भन्दै आलोचना गरेका छन् । उनले गठबन्धन जोगाउन नसक्नु कमजोरी भएको भन्दै सरकार सञ्चालनमा समेत गुटकरण गरेको आरोप लागाएका छन् ।

नेपालपछि उनी निकट उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि ओलीको आलोचना गरेका छन् ।

पार्टीलाई विधिपुर्वक चलाउँदै एकताबद्ध रुपमा चुनावमा लैजानुपर्ने आवश्यकता बैठकमा औंल्याइएको पाण्डेले बताए । उनले भने-‘पार्टीमा विधि भत्केको पहिलो पटक हो । व्यक्तिगत ढंगले चलाउने हो भने भन्नुपर्‍यो, होइन भने निर्णय गर्दा संस्थागत ढंगले गर्ने र सम्बद्ध निकायहरुलाई जिम्मेवार बनाउने परिपाटी बसाउनुपर्छ ।’

नेपाल पक्षधर नेताहरुले ओली सरकारले तीन तहका निर्वाचनको कार्यतालिका बनाए पनि निर्वाचनसम्बन्धी ऐन नबनेको भन्दै अब त्यसतर्फ दबाव दिनुपर्ने धारणा व्यक्त गरेका थिए । ‘निर्वाचन गर्ने भनियो तर ऐन छैन, अब सबै शक्ति निर्वाचनमा लगाउनुपर्छ भन्ने कुरा आयो’ पाण्डेले भने ।

संविधान कार्यन्वयन गर्दै निर्वाचनबाट लोकतन्त्र स्थापना गर्नु अहिलेको प्राथमिकता रहेको पाण्डेले बताए । ‘सम्बृद्धि पहिले कि संविधान कार्यन्वयन पहिले भन्ने मुख्य प्रश्न हो’ पाण्डेले भने ‘हामीले बजेट त ल्यायौं तर, राजनीतिक स्थायित्व नभई एक वर्षमा सम्बृद्धि सम्भव छ ?’

बैठकमा सचिव प्रदिप ज्ञवालीले भने कांग्रेस माओवादी र मधेशी मोर्चाको गठबन्धन कसरी बन्यो भन्ने अन्तर्यमा नगई आफ्नै नेतृत्वको आलोचना गर्ने शैलीको प्रतिवाद गरेका थिए ।

बिभिन्न सात एजेण्डामाथिको छलफल जारी रहेका कारण स्थायी कमिटी बैठक मंगलवार तेस्रो दिन पनि जारी रहने सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment