Comments Add Comment

नैनसिंहको संयोगः आरजुको हात, गगन-प्रदीपको साथ

पत्रकार महासंघको अध्यक्षदेखि नेविसंघको अध्यक्षसम्म

Nain-singh-mahar

२ भदौ,काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन गराउन जति गाह्रो भयो त्यो भन्दा सयौं गुणा बढि संकट शेरवहादुर देउवाले नैनसिंह महरलाई अध्यक्षको उम्मेदवार तोक्ने सन्दर्भमा व्यहोरे । आरजु देउवा हावी हुँदा महरले टिकट त पाए तर उनलाई जिताउन देउवाले कृष्ण सिटौला समूहसँग सम्झौता गर्नुपर्‍यो ।

नेविसंघको निर्वाचन परिणामले के देखायो भने-सिटौला पक्षसँग नमिलेको भए देउवा पक्षका उम्मेदवार नैनसिंह महर कुनै हालतमा जित्ने रहेनछन् । गगन थापा र प्रदीप पौडेलले आफूहरु जहाँ उभियो त्यहि नेविसंघको संस्थापन पक्ष हो भन्दै आएका थिए,अन्ततः निर्वाचन परिणामबाट पुष्टि गरे ।

नैनसिंह महरलाई संस्थापन पक्षको उम्मेदवार तोक्नु देउवाका लागि सहज थिएन । अध्यक्षका अर्का शसक्त दावेदार जीतजंग बस्नेतको तयारी निकै लामो र बलियो पनि थियो । देउवा पक्षका धेरै नेताहरु जितजंगको पक्षमा थिए ।

डडेलधुरा, कर्ण मल्ल र नैनसिंह

महर आफ्नै जिल्ला डडेलधुराका भएका कारण पनि देउवामाथि दबाब थियो । तर आरजु देउवाका सामु देउवा धेरै टिक्न सकेनन् । गृहजिल्लाको राजनीतिमा जिल्ला सभापति कर्णवहादुर मल्लको चरम असहयोग झेलिरहेकी आरजुले नैनसिंहलाई मल्लको विकल्पका रुपमा खडा गर्न खोजेकी छन् ।

मल्लले केही महिनाअघिमात्र आरजुका उम्मेदवार रघुवर भट्टलाई दुई मतले पराजित गर्दै कांग्रेसको डडेलधुरा जिल्लाको सभापति जितेका थिए । यस प्रकरणमा देउवा भने दुवैतिर खुलेका थिएनन् । कतिपयले मल्लकै कारण शेरवहादुरको परिवार बिभाजित भएको चर्चा समेत गरेका थिए ।

जिल्लाको राजनीतिमा नैनसिंहले आरजुको पक्षमा बलियो समर्थन जुटाउदै आएका छन् भने आरजुको आइएनजिओका कार्यक्रम मार्फत नैनसिंहले आफ्नो राजनीतिक शाख पनि बढाउदै लगेका छन् ।

कर्ण मल्ल र नैनसिंहबीच पानी बाराबारको अवस्था छ । टेकवहादुर गुरुङ श्रमराज्य मन्त्री भएको बेला कर्ण मल्ल यति हावी भएकी त्यहि मौकामा उनले प्रशस्त पैसा पनि आर्जन गरे । तर उनले आरजुलाई बेवास्ता गर्न थाले ।

यहि मौकामा नैन महर आरजुको अझ भित्रिया बने । जिल्लाको राजनीतिमा आफ्नो बर्चश्व स्थापित गर्न र कर्ण मल्ललाई साइजमा राख्नकै लागि पनि आरजुले नैनसिंहलाई नेविसंघको अध्यक्ष बनाउनैपर्ने भयो ।

कर्ण मल्ल तरुण दलको अध्यक्षको तयारीमा छन् । देउवा आफ्नो कार्यकालमा नेविसंघ,तरुण दल जस्ता भातृ संगठनको अध्यक्ष आफ्नै जिल्लाकालाई बनाएको आरोप खेप्न चाहदैनन् । तर नैनसिंहको सवालमा विमलेन्द्र निधी,एनपी साउद जस्ता नेता पनि आरजुकै पक्षमा उभिए ।

अब कर्ण मल्ल आरजु विरुद्ध झन् आक्रामक ढंगले आउन सक्छन् । उनी खुमवहादुर खड्काको उम्मेददवार बनेर तरुण दलको अध्यक्षमा उठ्ने तयारीमा जुटि सकेका छन् । त्यो अवस्था आउनु भनेको देउवालाई अप्ठेरो परिस्थिति हो ।

जीतजंगलाई शर्त

Nainsing-Mahar-and-Jitjang-Basnetनिकै बलियो तयारी गरिसकेका जीतजंगलाई अन्ततः पार्टीको केन्द्रीय सदस्य मनोनित गर्ने आश्वासन दिएर देउवाले मैदानबाट ब्याक गरे । जीतजंग ब्याक भए पनि उनका धेरै समर्थकहरु नैनसिंहसँग रुष्ट थिए ।

जीतजंगले अन्तर्घात गर्ने सम्भावना देखेर देउवा पक्षले निकै कडाइ पनि गरेको थियो । नैनसिंहलाई नेविसंंघ अध्यक्ष जिताएमात्र जीतजंगलाई केन्द्रीय सदस्य मनोनित गर्ने शर्त राखिएकाले पनि जीतजंगले आफ्ना समर्थकहरुलाई समेत अन्तर्घात नगर्न निर्देशन दिए ।

गगन प्रदीप निर्णायक

संस्थापन पक्षले आफ्नोमात्र मतले जित्न नसक्ने देखेरै गगन थापा र प्रदीप पौडेलहरुसँग सहयोगको हात माग्यो । अनसनबाट आफ्नो पक्षमा प्रतिनिधि थपेका कुन्दन काफ्लेलाई महामन्त्रीमा मनाएर अन्ततः देउवा पक्ष र सिटौला पक्षको प्यानल बनेर मात्र नेविसंघमा देउवा पक्षले जित्न सफल भयो ।

नेविसंघमा धेरै लामो समयपछि देउवा पक्षले आफ्नो गुमेको बर्चश्व फिर्ता पाएको छ तर महामन्त्री सहित धेरै पदमा गगन थापा प्रदीप पौडेल समूहका नेताहरु निर्वाचित भएर आएका छन् । रामचन्द्र पौडेल समर्थित मनोजमणि आचार्य झिनो मतले पराजित भए पनि नेविसंघको उनको पक्षको प्रभाव कायमै छ ।

को हुन् नैनसिंह

नैनसिंह महर नेविसंघका पूराना नेता हुन् । नेविसंघको इकाइ अध्यक्ष,जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य र प्रदिप पौडेल अध्यक्ष जित्दा उपाध्यक्ष भएका महरले नेविसंघ अध्यक्ष बन्न निकै लामो प्रतीक्षा गरे ।

डँडेलधुराका बागेश्वरी गाविसमा जन्मिएका ४४ वर्षीय महर त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर हुन् । उनले नेपाल विद्यार्थी संघको इतिहासबारे किताबसमेत लेखेका छन् ।

महर विद्यार्थी राजनीतिसँगै पत्रकारिता पनि गर्थे । उनले केही समय कान्तिपुर दैनिकको डँडेलधुरा संवाददाताका रुपमा काम गरेका थिए । नेपाल पत्रकार महासंघ डँडेलधुरा शाखाका उनी संस्थापक अध्यक्ष समेत हुन् ।

लोकतान्त्रिक आन्दोलनका क्रममा उनी चार पटक जेल बसेका थिए । ३४ वर्षको उमेर नेविसंघको उपाध्यक्ष भएका महरले अध्यक्ष बन्नका लागि करीव १० वर्ष पर्खिनुपर्‍यो । उनी यो भदौमा नेविसंघ महाधिवेशन नभएको भए सम्भवतः नेविसंघको राजनीति छाड्ने तरखरमा थिए ।

नैनसिंह नेविसंघको राजनीतिमा निकै चलाख र धैर्यशील नेता मानिन्छन् । उनले आफ्ना बिरोधीहरुलाई समेत मिलाएर सँगै लैजाने क्षमता राख्छन् । तर आफ्नो स्वार्थ पूरा भएपछि सहयोगीहरुलाई वेवास्ता गर्ने गरेको आरोप पनि उनीमाथि छ ।

सहकार्यको अवसर

बिगत ८ वर्षदेखि क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छैन । आगामी फागुन १४ मा निर्वाचनको मिति तोकिए पनि अझै संशय कायमै छ । यस्तो अबस्थामा उनले अन्य विद्यार्थी संगठनहरुसँग कसरी सहकार्य गर्छन् भन्ने पनि महत्वपूर्ण प्रश्न छ ।

विद्यार्थी राजनीतिमा स्ववियु चुनावको परिणामका हिसाबले एमाले सम्बद्ध अनेरास्ववियु सबैभन्दा ठूलो संगठन मानिन्छ भने नेविसंघ दोस्रो र अखिल क्रान्तिकारी तेस्रो संगठन हुन् । महर नेविसंघको उपाध्यक्ष हुँदा अखिलको केन्द्रीय सदस्य समेत नरहेकी नविना लामा अहिले त्यो संगठनकी अध्यक्ष छन् ।

क्रान्तिकारीका नयाँ मनोनित अध्यक्ष नरेन्द्र न्यौपाने उनका लागि अपरिचित अनुहार हुन् । प्रतिस्पर्धी संगठनहरुसँग सम्बन्ध बढाउन उनले ती संगठनका अध्यक्षहरुसँगबाट शुरु गर्ने र आफू सबैसँग मिलेर अघि बढ्ने बताएका छन् । यो राम्रो संकेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment