Comments Add Comment

स्याउबारी बेचेर कमाउन गएका वसन्तको यस्तो बिजोग !

Basanta-Rawal-1

क्वालालम्पुर । मुगुका वसन्तराज रावलले वैदेशिक रोजगारीमा जान दुई वर्षअघि स्याउ फल्ने बारी एक लाख तीस हजार रुपैयाँमा बिक्री गरेका थिए । यसले नपुगेपछि थप केही ऋण समेत लिए ।

तर, करिब एघार महिना मेनपावरले झुलाएपछि मलेसिया पुगेका उनी खर्च समेत उठाउन नपाउँदै दुर्घटनामा परेर घर फर्किएका छन् ।

०००

मुगुको सदरमुकाम नजिकैको श्रीनगर गाविस ७ तलिवुमका हुन् वसन्त । परिवारलाई खेतीबालीले वर्षको ६ महिना धान्न समेत मुश्किल पर्छ । त्यही पीरले भएको जग्गा समेत बेचेर विदेश जाने भन्दै उनी चार पटकसम्म काठमाडौं धाए । एक पटक आउजाउ गर्दा दस हजार रुपैयाँभन्दा बढी भाडा लाग्छ । प्लेन चढ्ने हो भने झन् दोब्बर । काठमाडौं बसाइको अलग खर्च हिसाब गर्नुपर्छ ।

करिब एघार महिना जति मेनपावरले झुलायो । अनेक हण्डर खाएपछि दुई वर्षअघि रोजगारीको लागि मलेसिया आए । दुई वर्षमा जम्मा एक लाख ७५ हजार रुपैयाँ नेपाल पठाएछन् । मलेसिया आउँदा कति खर्च लागेको थियो भनेर हिसाब-किताब राखेका रहेछन् । खर्च रकम पुगेको रहेछ – दुई लाख तीन हजार ।

रावलका अनुसार, उनले मेनपावरलाई दुबई होटलको लागि भनेर पासपोर्ट दिएका थिए । तर, मेनपावरले दुबईको होटलभन्दा मलेसिया राम्रो छ, भीसा पनि आइसक्यो भनेपछि उनी मलेसिया आएका रहेछन् । उड्ने बेला म्यानपावरले भनेको थियो, सुपर मार्केटको काम सजिलो छ, लेवी पनि काट्दैन ।

तर, मलेसिया आएपछि भनेको जस्तो भएन । ट्रकमा सामान लोड-अनलोड गर्ने काम पाए । लेवी प्रतिमहिना दुई सय रिङ्गेटका दरले काटियो ।

०००

भनेअनुसार काम र दाम नभएपछि वसन्त समस्यामा परे । घरबाट फोन आउँदा ‘कमाइ छैन के पैसा पठाउनु’ भन्थे । परिवारले भने, ‘छाडिदे, बाँचेर घर आइज । मीठो मसिनो यही खाउँला ।’

नभन्दै उनी ‘बाँचेरै’ फर्किएका छन् ।

Basanta-Rawal-3
अस्पतालमा उपचारका क्रममा बसन्त ।

सोह्र वर्षको हुँदा बिहे गरेका रावलका आठ र चार वर्षका दुई छोरा छन् । दुवै गाउँको स्कुलमा पढ्छन् । वसन्तले भने भाइलाई पढाउनुपर्छ भन्दै आफू चाहिँ आठ कक्षासम्म पढेर छाडेका थिए ।

उनका भाइ अहिले रारा शिक्षा क्याम्पसमा पढ्दै छन् । बाबुले सिकर्मी-डकर्मीको काम गर्छन् भने आमा रोगी छिन् । वसन्तकी श्रीमतीले घरको चुलोचौका सम्हाल्छिन् ।

विदेश जानुअघि वसन्त पनि सिकर्मी-डकर्मी र खेतीपातीको काम गर्थे । केही समय त गाउँमै चिया-नास्ता पसल चलाए । तर, उधारोले हैरान बनायो !

त्यसपछि उनले विदेश गएर पैसा कमाउने सपना देख्न थाले । विदेशबाट पैसा कमाएर ल्याउने र सदरमुकाममा सानोतिनो व्यापार गर्ने र माटोको घरलाई ढुंगाले छाउने रहर बोकेर उनी विदेशिएका थिए ।

तर, र्फकँदा उनीसँग सपना पूरा गर्ने दाम त परको कुरा, आफ्नै उपचार खर्च समेत रहेन । बरु बाँकी जीवनलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता थपिदियो ।

घटना साढे एक महिना अगाडिको हो । मेनपावरले पठाएको ठाउँमा सोचेजस्तो कमाइ नभएपछि उनले त्यो काम छाडे । अवैधानिक अवस्थामा रहेर मलेसियामै जोहोरवारुको लार्किनमा सुरक्षागार्डको काम गरिरहेका थिए ।

जुलाई ९ तारिखका दिन कामबाट फर्किँदा रातको ८ बजेको थियो । उनी साइकलमा आफ्नै रफ्तारमा गुडिरहँदा पछाडिबाट कारले ठक्कर दियो । होश खुल्दा उनी अस्पतालको बेडमा थिए ।

खुट्टा भाँचिएको रहेछ । अस्पतालले रड राख्नुपर्ने र त्यसको लागि पाँच हजार रिङ्गेट लाग्ने भन्यो । त्यसका लागि पासपोर्ट हुनुपर्ने शर्त पनि राख्यो । तर, वसन्तसँग न पैसा थियो, न त पासपोर्ट नै ।

डाक्टरले सामान्य ब्यान्डेज मात्र गरिदियो । उनले सुरक्षागार्डको काम गरिरहेको कम्पनीका मालिकसँग पनि उपचारका लागि कुरा गरेका थिए । तर, अवैधानिकका लागि केही गर्न नसक्ने भन्दै पन्छिए ।

यस्तो अवस्थामा उनका आँखा रसाए । परिवारले भनेको सम्झिए, ‘छाडिदे, बाँचेर आइज । मीठो मसिनो यहीँ खाउँला ।’

Basanta-Rawal
उपचारपछिको खुट्टा

वसन्तसँग जतिसक्दो छिटो घर र्फकनुभन्दा अरु उपाय थिएन । मलेसियामै रहेका गाउँकै दानबहादुरले उनलाई धेरै सहयोग गरे । करिब चार सय किलोमिटर टाढाबाट टयाक्सीमा राखेर क्वालालम्पुर ल्याइपुर्‍याए । चिनेजानेको क्लिनिकमा लगेर औषधि गराए र नेपाल पठाए ।

विदेशबाट फर्किएको छोरालाई लिन ६५ वर्षका बुवा खड्गसिंह रावल काठमाडौं विमानस्थलसम्म आए ।

तर, वृद्ध बाबु पीडामा थिए । कमाउन गएको छोरो फर्किर्एर आउँदा हर्षको होइन, दुःखको आँसु थियो । उनले छोरालाई घरमा होइन, सीधै अस्पताल लैजानुपर्ने थियो ।

वसन्तको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुट्टामा चार ठाउँमा प्वाल पारेर रड हालिएको छ । उपचारमा धेरै खर्च भइसकेको बुबा खड्गसिंहले बताए । ‘बाबु, अब फेरि मुगु गएर जग्गै बेच्ने हो, अरु उपाय छैन,’ उनले टेलिफोनमा भने ।

वसन्तले भने काम गरेको कम्पनीमा करार अवधि नसकिँदै दुर्घटनामा परेकाले कतैबाट सुनुवाई हुन्छ कि भन्ने आस मारेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment