Comments Add Comment

भूकम्पको प्रभावबारेको नाटक ‘मौसम हराएको देश’ पोखरामा मञ्चन हुँदै

मेरो महत्वकांक्षी नाटकः निर्देशक उदासी

Mausam-harayeko-Desh

७ भदौ पोखरा । भूकम्पपछिको प्रभावबारे पोखरामा नाटक मञ्चनको तयारी गरिएको छ । भुकम्पले घर भत्काएपछि बिस्थापितहरुको विषयबस्तुमा आधारित नाटक ‘मौषम हराएको देश’ मञ्चनको तयारी भएको हो ।

‘पुलिस र प्यास’ नाटक मञ्चन गरिसकेको पञ्चामृत नाट्य समूहको प्रस्तुतीमा यहि भदौ ८, ९ र १० गते ‘मौषम हराएको देश’ मञ्चनको तयारी भएको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रदर्शन हुने यो नाटक अपराहृन ३ बजेबाट शुरु हुने पञ्चामृत नाट्य समूहका अध्यक्ष परिवर्तनले बताए । पञ्चामृत नाट्य समूहको यो दोस्रो प्रस्तुति हो ।

नाटक ‘मौषम हराएको देश’ गत वैशाख १२ गते नेपालमा गएको विनाशकारी भुकम्पपछि बिस्थापित एक बस्तीको कथा हो । जुन बस्तीमा भुकम्पले घर भत्काउँदा भग्नावशेषले पुरिएर युवाहरुको मृत्यु भएको र बचेका केही युवापनि विदेश पलायन भएपछि बृद्धबृद्धा मात्र पीडामा बाँचेको चित्रण गरिएको छ ।

भुकम्पपछि पुर्ननिर्माणको पर्खाइमा रहेको बस्तीमा रहेकाहरु भोक, प्यास र पीडामा छटपटिएको देखाइएको छ । एउटा सुन्दर बस्ती क्षणभरको प्राकृतिक प्रकोप भूकम्पले तहसनहस बनाउँदा त्यसले पारेको असर नाटकको मूख्य विषयबस्तु हो । यसलाई नाटक लेखक तथा निर्देशक कृष्ण उदासीले प्रकृति प्रेम र जीवन संघर्षलमाथि नवीन प्रयोग गरेका छन् । ‘मौषम हराएको देश’ नाटकको दुःखान्त अन्त्य गरेर नाटककार उदासीले पुर्ननिर्माणको पर्खाइमा रहेकाहरुलाई देश र समाजले सघाउनुपर्ने सन्देश दिएका छन् ।

गत बैशाखको मध्यमा ‘पुलिस र प्यास’ नाटक मञ्चन गरेको पञ्चामृत नाट्य समूहले दोश्रो प्रस्तुतीका रुपमा ‘मौषम हराएको देश’ नाटक मञ्चन गर्न लागेको हो । पचासको दशक पछि पहिलोपटक झण्डै चाढे चार महिनाको अन्तरालमा यो नाटक मञ्चन हुन लागेको हो । यो नाटक मञ्चनसँगै पोखरामा ब्यबसायिक रुपमा नाटक मञ्चन हुने लक्षण समेत देखिन थालेको विश्लेषण गर्न थालिएको छ ।

पचासको दशकमा हप्तौंसम्म नाटक दैनिक मञ्चन हुने गरेपनि त्यसपछि नाटक मञ्चनको क्रम हराएको थियो । सत्तरीको दशकमा आएर ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ नाटक मञ्चन भयो । त्यसपछि ‘अर्को ओरालो’ र त्यसपछि ‘पुलिस र प्यास’ नाटक मञ्चन भएपनि यी सबै नाटक २ सो मात्रै प्रदर्शन भयो । तर झण्डै दुई दशकपछि पोखरामा पहिलोपटक ‘मौषम हराएको देश’ नाटक लगातार ३ दिन प्रदर्शन गरिन लागेको हो ।

नाटकमा समूहका अध्यक्ष परिवर्तनसहित सबु पाठक, दिलप्रसाद गुरुङ, सितला अधिकारी, आशिष अधिकारी, निलम तामाङ, केशव क्षेत्री, रमेश तिमल्सिना, प्रेम केसी, गोविन्द थापा ‘सिञ्जाली’, उज्वल रेग्मी, आकाश दहाल र अर्जुन रेग्मीले अभिनय गरेका छन् ।

लेखक तथा निर्देशक कृष्ण उदासीले यो नाटक आफ्नो महत्वकांक्षी नाटक भएको बताए । यसअघिका नाटक भन्दा यो नाटक जोडदार र सशक्त रहेको उनको दावी छ । यद्यपी ‘आस्थाको बस्ती’ नाटक जत्तिको भने नहुने हो कि भन्ने पनि उनलाई लाग्छ । २०४८ सालमा मञ्चन गरिएको ‘अँध्यारो बस्ती’ नाटकबाट उदासीले राष्ट्रिय अवार्ड नै जितेका थिए भने तत्कालिन अवस्थामा यो नाटक लगातार एक महिना प्रदर्शन भएको थियो ।

यो नाटक मञ्चनपछि पोखराको नाटकले फड्को मार्ने र आफ्नो करियर पनि माथी उकास्ने उनको विश्वास छ । नाटकको विषयबस्तु, कलाकारको जीवन्त अभिनय र यसमा प्रयोग गरिने ईफेक्ट सबैको कम्बिेनसन उत्कृष्ट रहेकाले यो नाटकले पोखरेली दर्शकमा नयाँ छाप छाड्ने उनले बताए । उदासीको यो ‘मौषम हराएको देश’ १०४ औं नाटक हो ।

नाटक हेर्नका लागि एक हजार, ५ सय र दुई सयको टिकट राखिएको मञ्चामृत नाट्य समूहका अध्यक्ष परिवर्तनले बताए । समयसामयिक विषयबस्तु र उत्कृष्ट निर्माण भएकाले दर्शकको राम्रै उपस्थिति हुने उनको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment