Comments Add Comment

गगन मन्त्री बन्दा जलस्रोत समितिका सदस्यहरु खुसी पनि, दुःखी पनि

Gagan-Thapa-ko-Bidai

१४ भदौ, काठमाडौं । सभापति गगन थापा स्वास्थ्य मन्त्री भएपछि मंगलबार पहिलोपटक सिंहदरबारमा व्यवस्थापिका संसद अन्तगर्तको कृषि तथा जलस्रोत समितिको बैठक बस्यो ।

बैठकमा सांसदहरुले थापा मन्त्री खुसी भएको तर, एक सफल सभापति गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे । समितिको सभापतिका रुपमा गगनले पार्टी र व्यक्तिगत स्वाथ्र्यभन्दा माथि उठेर काम गरेको भन्दै उनीहरुले प्रशंसा गरे ।

मन्त्री भइसकेपछि संसदीय समितिको सभापति स्वत हटने भएकाले मंगलबारको कृषि तथा जलस्रोत समितिको बैठकको सभापतित्व एमालेका सांसद अमृत बोहोराले गरे । सँधै सभापति भएर संसदीय समिति चलाउने गगन मंगलबार भने मुख्य अतिथि बनेर बसे ।

आफ्नै समितिको सभापति मन्त्री भएपछि समितिले थापालाई शुभकामना दिन र विदाई गर्न बैठक बोलाएको थियो । त्यसैले बैठक अन्य विषयमा प्रवेस नै गरेन ।

‘यो समितिमा २ वर्षदेखि सभापति भएर हामीलाई अविभावकत्व गरिरहनुभएका गगनजी मन्त्री हुनुभएको छ । म खुसी छु । उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु,’ एमाले सांसद काशीनाथ अधिकारीले भने- ‘तर, एक होनहार, जुझारु, विषयवस्तुप्रति गहन ज्ञान भएको, नैतिकावान र क्रान्तिकारी सभापतिलाई गुमाउनु परेकोमा निकै दुःख लागेको छ ।’

थापा संसदीय समितिका सरदर सभापतिहरुभन्दा निकै माथि रहेको अधिकारी बताउँछन् । ‘गगनजीले संसदीय समितिहरु कसरी चल्नुपर्छ ? कस्तो भूमिका खेल्नुपर्छ ? भन्ने विषयमा उदाहारणीयका काम गरेर जानुभएको छ,’ उनले भने- ‘हामी गगनलाई सँधै मिस गरिरहने छौं ।’

थापाले आफ्नो कार्यकालमा संसदीय समितिहरुले सरकारलाई निर्देशक र सुझाव मात्रै दिने नभई सरकारलाई साथ, सहयोग दिँदै सरकारी कामको लेखापरिक्षण गर्ने थिति बसालेको अधिकारीले सुनाए । ‘गगनजी र मेरो पार्टी मिल्दैन तर म उहाँलाई सँधै सम्मान गर्छ,’ अधिकारीले भने, ‘किनभने उहाँले व्यक्तिगत र दलगत स्वाथ्र्यभन्दा निकै माथि उठेर उच्च नैतिकताका साथ काम गर्नुभयो ।’

मंगलबारको बैठकमा करिब एक दर्जन सांसदहरुले बोलेका थिए । उनीहरुले पनि मन्त्री भएकोमा बधाई दिँदै क्षमतावात र जुझारु सभापति गुमाउनु परेको भन्दै गुनासो गरे ।

सांसदहरुले सरकारले गत फागुन ६ गते ल्याएको उर्जा संकट निवारण तथा विद्युत विकास दशक ल्याउनका लागि समितिको सभापतिकारुपमा थापाले निकै ठूलो र सहयोगी भूमिका खेलेको स्मरण गरे ।

त्यसैगरी, थापाले नै ५० वर्षे उर्जा सुरक्षा नीति तथा जलस्रोत विकासका लागि दीर्घकालीन रणनीतिको अवधारणा अघि सारेको सांसदहरुले बताए । त्यस्तै, भू उपयोगसम्बन्धी नीति परिमार्जन गरेको, कृषि र जलस्रोतको विकासका लागि विभिन्न अनुसन्धानहरु गरी निर्णय लिने गरेको सांसदहरुको भनाई थियो ।

थापाको कार्यकालमा समितिले निकै महत्वपूर्ण निर्णयहरु गरेको र ती निर्णयहरु कार्यान्वयन भए कृषि तथा जलस्रोतको क्षेत्रको विकासमा कोषेढुङ्गा सावित हुने सांसदहरुको विश्वास छ ।

Samsad-Krishi-samiti

फर्किएर यही समितिमा आउँछुः गगन

मंगलबारको समितिको बैठकका मुख्य अतिथि रहेको स्वास्थ्यमन्त्री थापाले आफु छोटो समयका लागि मन्त्री भएको उल्लेख गर्दै मन्त्रीबाट हटेपछि आफु फेरि सदस्यकोरुपमा कृषि तथा जलस्रोत समितिमै फर्किने बताए ।

‘यो समितिमा रहेर काम गरेको अनुभवले म उर्जा वा कृषिमन्त्री बन्न चाहन्थेँ तर संयुक्त सरकार भएकाले मैले चाहेका मन्त्रालय हाम्रो पार्टीले पाएन, पार्टीले मलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दियो,’ उनले भने- ‘मन्त्री भएकै वखतमा पनि समितिले बोलाएको खण्डमा आएर आफ्नो अनुभव सेयर गरि सहयोग गर्नेछु । मन्त्रीबाट हटेपछि म यही समितिमा सदस्य भएर फर्किने छु ।’

हामीले केही थिति बसाल्यौं

आफु सभापति हुँदा कृषि तथा जलस्रोत समितिले केही थिति बसालेको थापाले दाबी गरे । ‘हाम्रो समितिले कृषि तथा जलस्रोतसँग सम्बन्धित नीति निर्माणमा खेलेको भूमका नै सबैभन्दा ठूलो उपलपिब्ध हो,’ मन्त्री थापाले भने- ‘नीति तथा ऐनहरु सरकार वा कर्मचारीतन्त्रले बनाउने परिपाटीमा हस्तक्षेप गरी संसदको भूमिकालाई स्थापित गराउन हामी सफल भएका छौं ।’

उमेरले कान्छो भएपनि सँधै सम्मान पाएँ

मंगलबारको समितिको बैठक निकै भावनात्मक बन्यो । सांसदहरुले मिस गरेको बताएपछि थापाले पनि केही भावनात्मक विषयहरु कोट्याए ।

आफु उमेरले धेरै पछिल्लो पुस्ताको भएपनि समितिमा रहेका अुनभवी र पाका सांसदहरुबाट सँधै मायाँ र सम्मान पाएको भन्दै खुसी व्यक्त गरे ।

‘म उमेरले धेरै कान्छो थिएँ तर अग्रज सांसदहरुबाट मैले कहिल्यै म उमेरले कान्छो भएको महशुस गर्नु परेन,’ भावुक हुँदै थापाले भने- ‘हाम्रो समितिमा फलानो यो पार्टीको फलानो त्यो पार्टीको भन्ने कहिल्यै भएन । हामीले एकढिक्का भएर काम गर्‍यौं ।’

उच्च नैतिककता राखेर काम गर्छु

संसदीय सभापति भएर दुई वर्ष काम गर्दा आफुलाई उकुसमुकुस भएकाले पनि मन्त्री हुन राजी भएको उनले खुलासा गरे ।

लामो समय समितिको सभापति भएर काम गर्दा धेरै निर्णयहरु गरियो, निर्देशनहहरु दिएको तर त्यसको स्पि्रटअनुसार सरकारले कार्यान्वयन नगरेको देख्दा आफुलाई उकुसमुकुस भएको उनले सुनाए ।

‘संसद कार्यकारी होइन । नीति कार्यान्वयन गर्न त मन्त्री नै हुनुपर्दो रहेछ । त्यसैले उर्जा वा कृषि मन्त्री बन्न चाहेको थिएँ । तर, स्वास्थ्य मन्त्री पाएँ ।’ थापाले भने- ‘अब आफुले पाएको जिम्मेवारीमा उच्च नैतकवान भएर जनताले राहत र परिवर्तनको महशुस हुनेगरी काम गर्छु ।’

स्वास्थ्य क्षेत्रमा पनि धेरै सुधार गर्नुपर्ने र त्यो जिम्मेवारी आफुसँग रहेको भन्दै सांसदहरुलाई सँधै सल्लाह र सुझाव दिन आग्रह गरे ।

‘मलाई सांसदज्यूहरुले भेटेर, फोन गरेर, इमेल लेखेर सुझा दिनसक्नुहुने छ,’ उनले भने- ‘एक्लै केही गर्न सकिँदैन । त्यसैले म तपाईँहरुकै सुझाब अनुसार अघि बढ्नेछु ।’

सांसद, कर्मचारीदेखि मर्यादापालकसम्म फोटो सेसन

समितिको बैठडक सकिएपछि थापासँग सांसद, कर्मचारी र मर्यादापालकले व्यक्तिगत र सामुहिकरुपमा फोटो सेसन गरे । फोटो सेसनमै मन्त्री थापाले झन्टै आधा घन्टा विताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment