
२१ वैशाख, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै ‘उत्सवको मुडमा घुमीघुमी हिँडेको’ टिप्पणी गरेका छन् ।
आफूले गर्ने सरकारको आलोचना प्रधानमन्त्रीलाई असफल बनाउने उद्देश्यले नभएको प्रष्टीकरण पनि उनले दिएका छन् ।
न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा महामन्त्री थापाले प्रधानमन्त्रीको आलोचना गर्ने क्रममा बिँड तात्ने, ताप्के नतात्ने गरेको भनेर टिप्पणी गरेका छन् ।
आफूहरुलाई बिँड र प्रधानमन्त्रीलाई ताप्केको संज्ञा दिँदै उनले भनेका छन्, ‘हामी चाहन्थ्यौँ प्रधानमन्त्रीले युद्धस्तरमा काम गरोस् युद्धस्तरको अर्थ नै फरक हुन्छ मनोविज्ञान नै फरक हुन्छ, उसलाई यति धेरै परिणामको भोक हुन्छ, चिन्ता र डर हुन्छ उसले अरू कुनै पनि सुविधाको प्रयोग गर्दैन, त्यसैले सोच्छ, फोकस हुन्छ । यसरी काम गर्नुपर्छ भनेर हामीहरूमा छटपटी भइरहेको बेलामा हामी बिँड तात्ने, ताप्के पूरै उत्सवको मुडमा छ, आनन्द छ, घुमीघुमी हिँडेको छ, प्राथमिकता पनि छैन ।’
उनले प्रधानमन्त्रीले आफूसँग वर्षौंसम्म समय उपलब्ध छ भनेजस्तो ठानेको पनि बताएका छन् ।
‘जे मन लाग्छ बोलेको छ, कता हिँडेको हो थाहा छैन । वर्षौंसम्म समय उपलब्ध छ भनेको जस्तो ठानेको छ,’ थापाले भनेका छन् ।
अघिल्ला प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार जस्तै अहिलेको सरकारले पनि ढिलासुस्ती गरिरहेको आरोप उनले लगाए ।
‘हिजो प्रचण्डको सरकार सफल बनाउन खोजियो तर बिँड तात्यो ताप्के तातेन के गर्ने ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘ठ्याक्कै अहिले पनि त्यस्तै भइरहेको छ ।’
उनले आफूहरूमा जस्तो छटपटाहट जिम्मेवारी बोकेकाहरुमा नभएकाले सरकारको आलोचना गर्ने गरेको प्रष्ट्याएका छन् ।
उनले भनेका छन्, ‘मैले बेलाबेलामा राख्ने प्रश्नहरू सरकार असफल बनाउँ, यसलाई न्याकौं भनेर होइन ।’
आफूले प्रश्न गर्दा कतिपयलाई असहज लागे पनि केपी शर्मा ओली नेतृत्वको सरकार सफल होस् भन्ने चाहेको उनले बताए ।
‘म अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सफल होस् भन्ने चाहन्छु । र, म यो सरकारलाई सफल बनाउन मेरो ठाउँबाट हरसम्भव प्रयास गरिरहेको छु र गर्छु ।’
प्रतिक्रिया 4