Comments Add Comment

धर्मपुत्रीमाथि बलात्कारः हाडनाता करणी नठहरिने अनौठो फैसला !

मुलुकी ऐन भन्छ- यो हाडनाता नै हो, छोरीसरह अंश दिनुपर्छ

Dharma Putri Rape (3)

१६ भदौ, काठमाडौं । बाबुको मुख हेर्ने अघिल्लो साँझ बानेश्वर चोकमा झमझम पानी परिरहेको थियो । एउटा घरको तेस्रो तल्लामा भेटिइन् पीडामा पनि मुस्कुराउन सक्ने हँसिली किशोरी । उनी १२ कक्षा पढ्दै रहिछन् । उनले सुनाइन्- आफ्ना दुईजना पिताको रावण-कहानी ।

आफ्नै धर्मबाबुबाट बलात्कृत भएकी यी किशोरीका दाजुले मोरङ जिल्ला अदालतको फैसला देखाए, जसमा धर्मपुत्रीलाई ‘धर्मबाबु’ ले गरेको जबरजस्ती करणीलाई ‘हाडनाता करणी’ भन्न नमिल्ने जिकिर गरिएको थियो ।

सम्भवतः धर्मपुत्रीमाथिको बलात्कार हाडनाताकरणी हो कि हैन भन्ने यो प्रश्न अब चाँडै सर्वोच्च अदालतसम्म आइपुग्नेछ । र, यसले पक्कै पनि सुशीला कार्की र सपनाप्रधान मल्लहरुको ध्यान तान्ने वाला छ ।

रामेछापकी यी अवोध किशोरी दुई वर्षकी हुँदा आमा बितिन् । लगत्तै बाबुले सौतेनी आमा भित्र्याए । आफूभन्दा मास्तिर दुईजना कलिला दाजुदिदी थिए ।

कान्छीलाई बिराटनगरका कांग्रेस नेता गोपाल शर्मा र उनकी पत्नीले धर्मपुत्री बनाएर घरमा राखे । नाताले उनीहरु सानाबुबा, सानीआमा हुन् ।

ट्रेड युनियन कांग्रेसका मोरङ जिल्ला अध्यक्षसमेत भइसकेका गोपाल आफैैले धर्मपुत्रीलाई एसएलसीसम्म पढाए, जन्मदर्ता पनि गोपालले आफैं बाबु बनेर गराइदिए । एसएलसीको प्रमाणपत्रमा पनि उनै गोपाल शर्मालाई ‘बाबु’ भनेर लेखियो ।

तर, मोरङ जिल्ला अदालतले यी बाबु-छोरीलाई ‘हाडनाता’ मानेन । पनुरावेदन अदालत बिराटनगरले पनि जिल्लाकै फैसलालाई सदर गर्‍यो ।

सम्भवतः धर्मपुत्रीमाथिको बलात्कार हाडनाताकरणी हो कि हैन भन्ने यो प्रश्न अब चाँडै सर्वोच्च अदालतसम्म आइपुग्नेछ । र, यसले पक्कै पनि सुशीला कार्की र सपनाप्रधान मल्लहरुको ध्यान तान्ने वाला छ ।

कानूनले के भन्छ ?

धर्मपुत्र/धर्मपुत्रीका सम्बन्धमा मुलुकी ऐनले स्पष्ट व्यवस्था गरेको छ । जसमा धर्मपुत्र वा धर्मपुत्रीको हक छोरा वा छोरीसरह हुन्छ भनिएको छ ।

Dharma Putri Rape (1)
मुलुकी एेनमा रहेको हाडनाता करणी सम्वन्धी महल

मुलुकी ऐनमा हाडनाताकरणी भन्ने बेग्लै महलसमेत छ । सो महलको ६ नम्बरमा धर्मपुत्र धर्मपुत्रीको विषय उल्लेख छ । हाडनाताकरणीको महलमा धर्मपुत्र र धर्मपुत्रीको प्रशंग उल्लेख हुनु आफैंमा प्रष्ट विषय भए पनि अदालतले यसलाई अनदेखा गरेको देखिन्छ ।

भलै यो महलमा धर्मपुत्रीमाथिको बलात्कारलाई अन्य हाडनाताको भन्दा फरक (एक वर्ष) थप सजायँ ठेकेको छ । तर, यसको अर्थ धर्मपुत्रीमाथिको बलात्कार हाडनाताकरणी हैन भन्ने चाहिँ होइन ।

धर्मपुत्रीलाई जन्मदिने बाबु अर्कै भएको र धर्मबाबुसँग उसको सम्बन्ध कानूनी मात्रै हो भनेर मान्ने हो भने पनि यही तर्कका आधारमा धर्मपुत्री र धर्मपिताको सम्बन्धलाई हाडनाता बाहिर राख्न सकिँदैन । किनभने मुलुकी ऐनको हाडनाताकरणीको महलमा बुहारी, भाउजू एवं सात पुस्तासम्मका दाजुभाइकी श्रीमतीमाथिको सम्बन्धलाई समेत हाडनाता अन्तरगत राखेको छ । बुहारी र भाउजूहरु पनि धर्मपुत्रीजस्तै कानूनी सम्बन्धका नातेदार हुन् । उनीहरुलाई हाडनाताअन्तरगत राखिन्छ भने धर्मपुत्रीलाई हाडनाता अन्तरगत नराख्नु अदालतले गरेको महिलामाथिको विभेदकारी फैसला हो कि होइन ? यो विधिशास्त्रीय प्रश्न सिर्जना गरिदिएको छ मोरङ जिल्ला अदालत र बिराटनगर पुनरावेदन अलालतले ।

अंश पाइनन् पीडितले

धर्मपुत्र/धर्मपुत्रीले जन्मदिने बाबुपटि्ट अंशको दाबी गर्न नपाउने र धर्मपुत्र/धर्मपुत्री राख्ने बाबुले नै अंश दिनुपर्ने मुलुकी ऐनमा स्पष्ट लेखिएको छ । तर, धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा ८ वर्ष जेल सजायँ भोगिरहेका गोपाल शर्माले आफ्नी बलात्कृत धर्मपुत्रीलाई अंश दिएका छैनन् ।

हाडनाता करणीका बारेमा बोल्ने जिल्ला र पुनरावेदन अदालतले अंश दिनू भनेर चुइँक्क बोलेका छैनन् । बरु किशोरीलाई ७५ हजार क्षतिपूर्ति दिन अदालतले भनेको छ । किशोरीले अदालतमा अंश मुद्दा हालेकी छिन् ।

धर्मपुत्रीको अंशबारे अदालत मौन भए पनि कानूनले चाँहि धर्मपुत्र/धर्मपुत्रीले छोराछोरीसरह अंश पाउने स्पष्टै बोलेको छ । किशोरीका अनुसार मुद्दा लड्दैखेरि लाखभन्दा बढी खर्च भइसकेको छ, तर अदालतले क्षतिपूर्ति भराएको छ, ७५ हजार । त्यही पनि पीडितको हातमा परेको छैन ।

कुन बाबुको मुख हेर्नु ?

Dharma Putri Rape (2)बाबु भनिएका गोपालले यी किशोरीलाई यौनिक परिपक्वता नआउँदैदेखि यौन शोषण गरे । अदालतको फैसला कागजमा डाक्टरलाई हुलिया दिँदै लेखिएअनुसार ‘जाहेरवालीको कन्याजाली च्यातिएको’ देखिएकाले बलात्कार गरेको प्रमाणित हुन्छ ।

धर्मपिताबाट लुटिएपछि यी किशोरीका लागि बाबुको मुख हेर्ने आजको दिन एउटा कहालीलाग्दो दिनका रुपमा वर्षेनी आउने गरेको छ । उनले कुन बाबुको मुख हेर्ने ? जन्मदिने बाबुले अहिले एकजना तामाङ्नीसँग तेस्रो बिवाह गरेका छन् । धर्मबाबुका नाममा ‘पाप-बाबु’ ठहरिएका गोपाल बिराटनगरस्थित आफ्नै घरछेउको जेलमा बसेर घरैको भात खाइरहेका छन् । उनको मुख हेर्ने कुरै भएन ।

अब यी किशोरीले हेर्ने भनेको अदालतको मुख मात्रै हो । जसले उनलाई न्याय दिन्छ कि दिँदैन ? मुलुकी ऐनले नै भनेको अंश दिलाउँछ कि दिलाउँदैन ? अनि नागरिकता बनाउन पाइन्छ कि पाइँदैन ?

मोरङ जिल्ला प्रशासनलाई नागरिकता बनाइदिनू भनेर वाल कल्याण समितिले लेखिदिँदा पनि किशोरीको नागरिकता अझैसम्म बनेको छैन । उनी आफ्नै देशमा नागरिकताविहीन बनेकी छिन् ।

माइती नेपालमा भाँडा, रक्षा नेपालमा पेन्टी !

धर्मबाबुबाट बलात्कृत भएकी यी किशोरीले करिब एक वर्षसम्म बिराटनगरस्थित माइती नेपालको कार्यालयमा बिताइन् । त्यहाँ उनलाई एक वर्षसम्म माइती नेपालका महिला अधिकारकर्मीहरुले खाएका भाँडा माझ्ने र भात पकाउने काममा लगाइयो ।

पीडितलाई आश्रय दिएको भन्दै एक वर्ष काम लगाएपछि माइती नेपालबाट उनी ‘माइतीघर तिम्रो हैन….’ भन्ने ठानेर काठमाडौंतिर आइन् । माइती नेपालले पीडितलाई यसैगरी काम लगाउने र अझै पीडित बनाएर राख्ने गरेको किशोरीको दुखेसो छ ।

काठमाडौं आएपछि उनी रक्षा नेपाल भन्ने अर्को नाम चलेको संस्थामा टाउको लुकाउन पुगिन् । त्यहाँ ३०/३५ जना आफूजस्तै पीडितहरु थिए । त्यहाँ कहिले कुटाकुट हुन्थ्यो । न कुनै सीप सिकाइने, न कुनै जागिर, न पढाइ । रक्षा नेपालमा बस्दा उनले थप पीडा महसुस गरिन् । रक्षा नेपाल चलाउने प्रमुखले महिनावारी हुँदा लगाएको पेन्टीसमेत धुनुपरेको भन्दै उनले आफन्तजनलाई भनिन्, मलाई यो नर्कबाट उद्धार गरियोस् ।

पीडितलाई भेला गरेर काम लगाउने, बासीभात खुवाएर राख्ने, दाताहरुसँग मागेको पैसाले आफ्नो व्यक्तिगत खर्च गर्ने गरेको उनले त्यहाँ अनुभव बटुलिन् । रक्षा नेपालकी सञ्चालिकाले कराडौंको घर बनाउँदै गरेको देखिन् । र, उनले माइती नेपालभन्दा पनि गएगुज्रेको देखेपछि रक्षा नेपालबाट पनि विद्रोह गरिन् ।

र, अहिले उनी एउटा सानो डेरामा बसेर कलेजमा पढ्दै छिन् । बाबुको मुख हेर्न नपाएकी यी चेलीलाई मेनपावरमा रिसेप्सनिष्टको काम गरेर आफ्नी टुहुरी दिदीले पालिरहेकी छिन् । न अंशको ठेगान, न बंशको टुंगो । न नागरिकताको अधिकार, न सुरक्षा, न भरोसा ।

यही हो, महिला प्रधानन्यायाधीश, महिला राष्ट्रपति र महिला सभामुख भएको देशको फूइँ लगाइरहेको हाम्रो देशको नारी अधिकार ।

महिला अधिकारकर्मीहरुले धमाधम अवार्ड थापिरहेका छन्, तर उनीहरुका पुनस्थापना गृहहरुमा रहेका दमित किशोरीहरुले कुनै नयाँ चन्द्रसमशेर राणाको खोजी गरिरहेका छन्, दासत्वबाट मुक्तिका लागि । कहाँ छ न्याय ? यी किशोरीका लागि ? प्रधानमन्त्री प्रचण्डले त राष्ट्रपतिलाई तपाई नै बुबाआमा हो भने, तर यी किशोरीले कसलाई भन्ने बुबा ? र, कसलाई आमा भन्ने ? धन्य होस् बुबाको मुख हेर्ने दिन !

यो पनि पढ्नुस्

प्रधानमन्त्रीज्यू ! तपाईको लोकतन्त्रमा टुहुरीलाई बलात्कार गरेर उम्कन पाइन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment