Comments Add Comment

देउवासँग महिलाको अपेक्षा

राष्ट्रिय राजनीति र पार्टीभित्रकै राजनीतिमा पनि कांग्रेस महिलाको पक्षमा उदार छ । बेला मौका अवसर दिएको छ । व्यक्तिगत रुपमा महिला नेतृले पनि संघर्ष गरेका छन् र दिएको भूमिका पुरा गरेका छन् । तर, कांग्रेसले अहिले दिएको भूमिका र अवसर मात्र पुग्दैन । यसका लागि नीतिगत तथा संगठनात्मक क्षेत्रमा केही सुधारको खाँचो छ र पार्टी सभापति शेरबहादुर देउवाको पहल कमदीको जरुरी देखिन्छ ।

Nirmala

इतिहासमा कांग्रेसले महिलालाई सक्षम र प्रतिभावान बनाई सम्वन्धित ठाउँको जिम्मेवारी दिने कुरामा कहीँ कतै चुकेको पाइन्छ । अधिकार पाएका महिलालाई स्वतन्त्रपूर्वक ढंगले काम गर्न दिइएन भने त्यसको कुनै अर्थ रहँदैन । आजको आवश्यकता भनेकै अधिकारसहित स्वतन्त्रतापूर्वक काम गर्ने वातावरणको हो ।

हृुन त महिलाको हक अधिकार सुरक्षित गर्न पार्टी भित्र र सामूहिक आवाज उठाउन अन्तरपार्टी महिला सन्जाल, राजनीति महिला मंच, महिला दवाब समुह,राष्ट्रपति महिला उत्थानलगायतले पनि सकारात्मक भूमिका खेल्दै आएका छन् । महिलालाई जिम्मेवारी नदिनेअनि केही गर्न सक्दैनन् कि भन्ने शंका विगतमा जुन थियो, अहिले आएर केही हटेको देखिन्छ । जिम्मेवारी दिने, विश्वास गर्ने र काममा सहयोग गर्ने सोचसहितको पार्टी नेतृत्व महिलाहरुले खोजेका छन् ।

आजको दिनमा राज्यको तीनवटा प्रमुख पदमा महिला छन्, यो हामी सबैको लागि गौरवको कुरा हो । नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती मगर र प्रधान न्यायाधीशमा सुशीला कार्की रहेका छन् । भण्डारी र घर्तीको काम त हेरिसकेका छौं । तर, भर्खरैमात्र नियुक्त कार्कीको कौशलता भने हेर्न बाँकी नै छ । तर, हिजो उनले सर्वोच्चमा बस्दा जे योगदान दिएकी थिइन्, त्यो चाँही उल्लेखनीय छ । त्यसैले पनि मानिसले ठाउँ पाएपछि आफ्नो कर्तव्य पूरा गर्छन् भन्नेमा आशावादी हुन सकिन्छ । विभिन्न कालखण्डमा महिला मन्त्रीहरुले पनि आफ्नो भूमिका राम्रैसँग पुरा गरेकये इतिहास छ ।

जबसम्म मानिसले स्वतन्त्र ढंगले काम गर्ने अवसर पाउँदैन, उसलाई हचुवाका भरमा मूल्यांकन गरिनुहुँदैन । हिजो ३३ प्रतिशत खोज्ने महिला आज ५० प्रतिशत पाउनुपर्छ भन्ने लडाइमा छन् । अधिकारसँग कार्यक्षमताको प्रश्नसागै आउँछ । महिलाहरुको कार्य क्षमता बढाउनु आजको एउटा चुनौती अवश्य हो । यसका लागि भूमिका दिने र सँगै कार्यक्षमता बढाउने नीति लिने हो ।

अन्य मुलुकमा पनि महिलाले देशको र आफ्नो शीर उचालेकै छन् । त्यो गरिमालाई यहाँका महिलाले पनि सम्मान र कदर गर्नुपर्छ । राम्रो काम जसले गरे पनि सिको गर्ने र गलत बाटोबाट बच्दै सही दिशातर्फ उन्मुख हुनु सबैको कर्तव्य हुन आउँछ । नेपालको नयाँ संविधानले महिलाका लागि जहाँ पनि आरक्षण र अवसर छुट्याएको छ । तर, त्यतिले मात्र हुँदैन, त्यो ठाउँमा कस्तो भूमिका खेल्ने हो भन्ने प्रश्न पनि सँगै जोडिएको छ ।

कांग्रेसले ५३ महिनाअघि भातृ संघहरुलाई ६ महिनाभित्रमा अधिवेशन सक्ने गरी संयोजक तोकेर जिम्मेवारी दिएको थियो । समयमै अधिवेशन हुन सकेन । एकले अर्कालाई आरोप लगाउँदैमा समय बित्यो । समयमा अधिवेशन किन भएन, कसका कारण हुन सकेन ? यो प्रश्नको स्पष्ट जवाफ छैन/दिइएन । तत्कालीन पार्टी नेतृत्वले आज-भोलि गर्छु भन्दै टारिरहेको थियो । यो बहानाले निकास दिने अवस्था थिएन ।

वर्तमान नेतृत्वलेे अधिवेशनको मिति तोक्ने काम गर्‍यो । अब सबै भाृत संघका समयमै अधिवेशन हुने विश्वास पलाएको छ । तयारी तीव्र पारिएको छ । पार्टीमा नयाँ नेतृत्व आएपछि नेविसंघको सम्पन्न भैसकेको छ ।

अब पालो महिला संघको आएको छ । महिला संघमा भने कुनै प्रकारको समस्या छैन । पार्टीले ‘गर’ भनेको भए जहिले पनि गर्न तयार थियो । छिटै अधिवेशन होला भनेर ६ महिनाको कार्यकाल पार्टीको तत्कालीन कार्यसमिमितले तोकेको थियो ।

समयमै अधिवेशन भए कुनै प्रभाव पर्ला कि भनेर अहिलेको समितिमा भएकालाई उम्मेदवार बन्न नदिने कुरा त्यतिबेलाको लागि स्वभाविक थियो होला । लोकतन्त्रमा सबैको हक अधिकार सुनिश्चित हुनुपर्छ भन्ने मूलमर्मका साथ बनेको यो नेतृत्वले सवैलाई नेतृत्वमा जाने बाटो खुला राख्ने गरी सोच्नु नै राम्रो हुने देखिन्छ ।

तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा कांग्रेस चलेको थियो । कसैले आफ्नो सीमित स्वार्थ पूरा गर्न त्यस्तो कुरा गरेको थियो होला । अझैपनि यो नै अकाट्य सत्य हो भन्नु समय सान्दर्भिक हुँदैन ।

अर्काको आलोचना गर्न जति सजिलो छ । तर, त्यसलाई उपयुक्त निकास दिन समस्या छ । वर्षायामको मौसमजस्तै एकैछिनमा बदलिने राजनीतिले सबैलाई अन्यौल बनाएको छ । नेपाली कांग्रेस सधैं सबै क्षेत्र, जातजाति र भाषाभाषीको अधिकारको लागि बोल्दै आएको छ । कांग्रेसले त्यसरी पहिलेदेखि नै सबैको पक्षमा नबोलेको भए अरुले पनि सिक्ने थिएनन् । कांग्रेसले सबै क्षेत्रमा गरेको योगदानलाई देशले निकास पाउन सक्छ ।

Sher-Bahadur-Deuba
शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस

नेपाली कांग्रेसमा शेरबहादुर देउवा सभापति भएको चार महिना बितिसकेको छ । कार्यकर्ताको चाहनाअनुसार नै देउवा अत्याधिक मत ल्याएर निर्वाचित भएका हुन् । देउवाका लागि यो समय अवसरसँगै चुनौतीको घडी बनेको छ ।

कांगे्रसलाई राम्ररी बुझेका देउवाले पार्टीलाई राम्रोसँग नचलाउलान् भन्ने होइन । तर, विश्वासपात्रहरुले उपयुक्त सल्लाह दिएनन् भनें नेतृत्व सक्षम भएपनि कहिलेकाँही आलोचित बन्न पुग्छ ।

नेपाली कांग्रेस पुरानो र लोकतान्त्रिक पार्टीमात्र होइन यसमा लाग्ने अनेक विशेषताले पनि कांग्रेसको गरिमा र महत्वलाई झनै बढाएको छ । संसदमा पहिलो पार्टी भएको हुनाले पनि उसले पार्टी र कार्यकताको मात्र स्वार्थ नहेरी समग्र देश र जनताको मर्म बुझ्न सक्नुपर्छ ।

निर्वाचनका बेलामात्र कार्यकर्ता चाहिन्छ भन्ने कांग्रेसलाई लागेको आरोप मेट्न सकिएन भने भोलिको दिनमा यो सँगै यस्ता अनेकौं समस्याको सामना गर्नुपर्ने देखिन्छ । संविधानसभाको दोश्रो निर्वाचनमा जनताले कांग्रेसलाई पत्याएका धेरै कारणहरुमध्ये उसको लामो अनुभव, विश्वासिलो कार्यशैली र परिवर्तनको नेतृत्वदायी भूमिका पनि हो ।
वास्तवमा कांग्रेसले आफ्ना कार्यकर्तालाई संरक्षण नगरेको भन्ने जुन आरोप लागेको छ त्यसलाई भने यो नेतृत्वले नजिकबाट हेर्नुपर्छ । कांग्रेसको इतिहास जति पुरानो छ, उसले त्यति नै मात्रामा जनताका गुनासा र समस्यालाई सुनेको हुनुपर्दछ । २००७ सालदेखि संविधानसभाको एजेण्डामा हिँडेको कांग्रेसको चाहना ६३ वर्षपछि पूरा भएको छ । यसकये कार्यन्वयनमा देशको ठूलो पार्टीको हैसियतले कांग्रेसकये सवैभन्दा ठूलो दायित्व छ ।

कांग्रेसले भातृ संघ खोलेर पार्टीलाई मजबुत बनाउँदै आएको छ । महिला संघ, नेविसंघ, तरुण दल लगायतका संस्थाहरुले वास्तवमै पार्टीको उचाई बढाएको छ । तर समयमा अधिवेशन नगर्ने अनि व्यक्तिगत सम्बन्धका आधारमा नेतृत्वको जिम्मा दिने परिपाटी अन्त्य नै आजको दायित्व हो । क्षमतावान व्यक्तिलाई जिम्मेबारी दिँदा मात्र कांग्रेसको हितमा हन्छ । सबैलाई उपयुक्त ठाउँ र काम गर्ने अवसर दिइनुपर्छ । अहिलेको पार्टी नेतृत्वसँग भातृसंगठनले गरेको अपेक्षा यही हो । अहिलेको नेतृत्वबाट विरुवामा ठीक तरिकाले मलजल होस र कांग्रेस थप हुर्कियोस् भन्ने भातृसंघमा रहेकय कार्यकर्ताको चाहना हो ।

(क्षेत्री नेपाल महिला संघकी प्रवक्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment