Comments Add Comment

ट्राफिक प्रहरीले कारबाही गरेको विरोधमा चितवनमा यातायात बन्द

Chitwan-Bus-band-Final

२६ भदौ, चितवन । चितवनका यातायात व्यावसायीहरुले स्थानीय रुटमा चल्ने सवारी साधान आइतबार बन्द गराएका छन् । मनोमानी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको विरोधमा चितवनका यातायात व्यावसायी विरोधमा उत्रिएका हुन् ।

स्थानीय रुटमा चल्ने सवारी साधनका ११ जना अगुवा व्यावसायीहरुलाई शनिबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसको विरोधमा यातायातका साधन बन्द गराइँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको भरतपुर, नारायणगढ, पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न रुटमा गरी सयौं सवारीका साधन चल्दै आएका थिए ।

प्रहरीले व्यवसायीहरुले मनोमानी भाडा लिएको, ट्राफिक नियम पालना नगरेको आरोप लगाएका छन् । तर व्यावसायीहरुले भने ट्राफिक नियम पालना गराउने नाउमा अन्धाधुन्द जरिवाना लिँदै आएको आरोप लगाएका छन् ।

चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले व्यावसायीहरुले राज्यले निर्धारण गरेको नियम पालना नगर्दा समस्या भएको बताए । उनले यातायात क्षेत्रको बेथिती अन्त्य गर्ने उद्देश्यले व्यावसायीहरुलाई पक्राउ गरिएको र अब पनि सहमतिमा नआए पक्राउ परेका सबैलाई कानुनी प्रक्रियामा गई कार्वाही गर्ने चेतावनी समेत दिए ।

यसअघि प्रहरीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको नारायणी अञ्चल संयोजक कपिल पाण्डे, नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष अशोक पोखरेल, चौतारी यातायात व्यवसायी संघका अध्यक्ष भुवन बराललाई पक्राउ गरेको थियो ।

उनीहरुसँगै सडक अबरुद्ध गर्न खोजेको भन्दै प्रहरीले राजकुमार श्रेष्ठ, सुदर्शन तामाङ, मगरा महतो, धनबहादुर गुरुङ, मनोज वि.क, दिपक कुमाल र लक्ष्मण चौधरीलाई र एउटा बस नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरुलाई छुटाउन माग राख्दै ति व्यवसायीहरुले यातायात अवरुद्ध पारेका हुन् । जिल्ला प्रशासन कार्यालयले यहीँ भदौ १९ गतेदेखि चितवनको स्थानीय रुटमा प्रती किलोमिटर १ रुपैयाँ ७८ पैसा भाडादर कायम गरेको थियो । तर, यातायात व्यावसायीले तोकिएको भन्दा धेरै भाडा लिएको स्थानीय प्रशासनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment