+
+

जनकपुरमा पत्रकार सिंहको अपहरण प्रयास, कांग्रेस नेतासहित ५ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २९ गते ११:०५

Rajkamal-Singh
२९ भदौ, जनकपुरधाम । जिल्ला विकास समिति र संसदीय क्षेत्र विकास कोषको रकम दुरुपयोग भएको समाचार लेखेका पत्रकारलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

पत्रकार राजकमल सिंहलाई धनुषा क्षेत्र नम्बर १ का कांग्रेस सभापति नवीन गोहिवार लगायतको समूहले बुधबार बिहान जनकपुरको भानु चोकबाट अपहरण गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पत्रकार सिंह अनलाइनखबर, राष्ट्रिय अभियान दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यमसँग सम्बद्ध छन् ।
आफ्नो राजनैतिक चरित्र धमिल्याउने गरी समाचार लेखेको भन्दै गोहिवार लगायत उनीसँगै गाडीमा आएका सात-आठ जनाले अपहरण गर्न खोजेको सिंहले बताए । सिंहमाथि उक्त समूहले ढुंगा र मुक्काले आक्रमण समेत गरेको थियो । तर, स्थानीयले सिंहको संरक्षण गर्दै आक्रमणकारीको प्रतिकार गरेका थिए ।

टाउकोको पछाडि भागमा गम्भिर चोट लागेका सिंहको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

समयमा घटनास्थलमा स्थानीय पुग्न नसके आफूलाई अपहरण गरी बेपत्ता बनाउने शैलीमा आक्रमणकारी प्रस्तुत भएको सिंहले बताए । ‘चारपाङ्ग्रे गाडी चढेर आएका उनीहरुले उठाएरै गाडीमा हाल भन्दै जाइलागेका थिए,’ उनले भने, ‘धन्न स्थानीयले चारैतिरबाट घेरे र समयमै प्रहरी पनि पुगेपछि मेरो ज्यान जोगियो ।’

जिल्लाको एक नम्बर क्षेत्रस्थित गोठकोयलपुरको सडक निर्माणमा ठूलो आर्थिक अनियमितता भएको समाचार सिंहले मंगलबार लेखेका थिए । सोही समाचारको निहुँमा आफूमाथि अमानवीय तरिकाले आक्रमण भएको पत्रकार सिंहले बताएका छन् ।

सार्बजनिक अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरु

पत्रकार सिंहमाथि आक्रमण गर्ने गोठकोयलपुर २ का ३० वर्षीय नवीन गोहिवारसहित सोही गाविसका २५ वर्षीय राजदेव गोहिवार, विषरभोरा ९ का २५ वर्षीय पुष्पेन्द्र गोइत र धनौजी ८ का ३० वर्षीय संजीवकुमार मण्डललगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयले तत्काल सार्वजनिक अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

स्थानीयको सहयोगमा उनीहरुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । घटनामा संलग्नलाई कानुन बमोजिम कारवाही गर्ने प्रहरी उपरिक्षक लालमणि आचार्यले बताए ।

घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याएर कडा कारवाही गर्न पत्रकार महासंघ धनुषा शाखा, प्रेस सेन्टर, प्रेस चौतारीलगायत पत्रकारहरुका संघसंगठनले माग गरेका छन् । उनीहरुले पत्रकार सिंहमाथि भएको आक्रमण र अपहरण प्रयासको भर्त्सना पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?