Comments Add Comment

ओभरलोडले निर्माणाधीन बेलहिया-बुटवल ६ लेन सडकको बेहाल (भिडियोसहित)

१० टन क्षमताको सडकमा ६० टनको गाडी

belhiya-butawal road (4)
५ असोज, भैरहवा । निर्माणाधीन बेलहिया-बुटवल ६ लेनको सडक बन्दाबन्दै जीर्ण बन्न थालेको छ । अत्यधिक भारयुक्त मालबाहक सवारीका कारण सड भत्किँदै गएको छ भने विभिन्न ठाउँमा ठूला खाल्डाहरु पर्न थालेका छन् ।

भारतबाट आउने मालबाहक सवारीले सडक क्षमताभन्दा बढी सामग्री ल्याउँदा निर्माणाधीन सडक जीर्ण बन्दै गएको हो । अर्बौं रुपैयाँ लगाएर निर्माण भइरहेको बेलहिया बुटवल सडकखण्डमा क्षमताभन्दा धेरै भार बोकेर मालवाहक सवारी गुड्ने क्रम रोकिएको छैन, बरु भत्किएको सडक टाल्ने काम भइरहेको छ । सडकको निर्माण गुणस्तरहीन भएको करण बन्दाबन्दै जीर्ण भएको स्थानीयको आरोप छ ।

भिडियो हेर्नुस्

उद्योगी व्यवसायीले पटक पटक ‘तत्काल’ को नाममा नजिकको औद्योगिक करिडोरसम्म क्षमताभन्दा बढी माल बोकेको सवारीलाई लैजाने दिने भन्दै सरकारी पक्षसँग सहमति गर्दै आएका छन् । ‘तत्काल’ को लागि भन्दै विगतको दुईवर्ष अघि नै क्षमताभन्दा बढी मालवाहक सवारी नजिकको औद्योगिक करिडोरसम्म लैजाने मन्त्रालय स्तरको निर्णय भएको थियो ।

गत ०७१ साल मंसिर १९ गते भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयका तत्कालिन सचिव तुलसीप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बठैकले यातायात संचालनको समस्या अध्ययन गरी २ महिनाभित्र प्रतिवेदन पेश गर्न यातयात व्यवस्था विभागको महानिर्देशकको अध्यक्षतामा समिति गठन गरेको थियो । त्यस्तै आयतित समाग्रीहरुको भारवाहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सार कार्यालयले इजाजत दिनुपर्ने मन्त्रालयको निर्देशन पत्रमा उल्लेख छ ।

अर्थात भन्सार कार्यालयले क्षमताभन्दा बढी माल बोकेका सवारीको माल मिलान गरी पठाउने भनिएको थियो । तर, सोही पत्रमा नै भारवाहन क्षमताका औद्योगिक कच्चा पदार्थ नजिकको औद्योगिक कोरिडोरसम्म ढुवानी गर्नका लागि छुट दिइएको छ ।

एउटै पत्रमा आयतित समाग्रीहरुको भारवाहन क्षमता मिलान गरी ढुवानीका गर्नुपर्ने र अर्कातिर नजिकको औद्योगिक करिडोरसम्म भारवाहन क्षमता ढुवानी गर्न छुट दिनुको अर्थ कानुनमै रहेर कानुनको राम्रैसगँ धज्जी उडाइएको छ ।

दुई महिनासम्म यातायात संचालनको समस्या अध्ययन गरी पेश गर्ने र तत्कालको लागि नजिकको औद्योगिक करिडोरसम्म भारवाहन क्षमता ढुवानी गर्न छुट दिइएको पत्रमा उल्लेख भए अनुसार बुझ्न सकिन्छ ।

दुई महिनामा यातायात संचालनको समस्या अध्ययन गरी पेश गर्न भनिएको प्रतिवेदनको अत्तोपत्तो नभएको कारण सोही पत्रलाई पटक पटक मुख्य आधार बनाएर उद्योगी व्यवसायीका ठेकेदारले प्रहरीलाई टेरपुच्छर नलगाउँदै क्षमताभन्दा बढी माल बोकेका सवारीलाई खुलेआम ल्याउँदै आएका थिए ।

जति भार बोकेपनि छुट

belhiya-butawal road (5)
बायाँतर्फ मन्त्रालयकाे निर्णय, दायाँतर्फ जिल्लामा भएको निर्णय

तर, नजिकको औद्योगिक करिडोरसम्म भारवाहन सवारी लैजाने दिने भन्ने त्यो दुई महिने ‘तत्काल’ को म्याद ‘तत्काल’ मै समाप्त भएपनि त्यही ‘तत्काल’ लाई पुन निरन्तरता दिनका लागि उद्योगी व्यवसायीका ‘ठेकेदारले’ भारवाहन सवारी नजिकको औद्योगिक करिडोरसम्म लैजाने दिने भन्दै पुन गत २०७३ साल साउन १४ गते पनि विना कुनै अवरोध भारवाहन सवारी लैजाने सरकारी पक्षसगँ सहमति गरेका छन् ।


भैरहवा भन्सार कार्यालयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको अध्यक्षतामा गत साउन १४ गते बसेको बठैकले पनि ‘नितिगत स्पष्टता नभए सम्म’ नजिकको औद्योगिक कोरिडोरसम्म निर्णय गरेको थियो । जसमा उद्योगले पैठारी गर्ने फलामे रड तथा विलेट, जिप्सम, खरानी, वायर, कोइला जस्ता औद्योगिक कच्चा पदार्थ मात्र लैजान दिने निर्णय भएको थियो ।

जसमा प्रहरीको असुन्तुष्टि रहँदा रहदै पनि प्रहरीका प्रतिनिधिले हस्ताक्षर गरेको प्रहरी स्रोतले अनलाइनखबरसगँ बतायो । ‘हाम्रै अगाडी ट्राफिक नियम उल्लघंन गरेर भारवाहन सवारी जान्छन्, तर हामीले समान्य ट्राफिक कारवाही सम्म गर्न सक्दैनौँ’ एक प्हरी अधिकारीले भने ।

उनले थपे, ‘सिडिओ सा’बको अध्यक्षतामै भारवाहन सवारी छाड्ने निर्णय भएको छ, हामीले त केही गर्नै सक्दैनौँ निकै लाचार र बेबश भएका छौँ । हेर्दा हर्दै पनि केही गर्न सक्दैनौँ सिडिओ सा’ब मार्फत उद्योगी व्यवसायीका ठेकेदारले हाम्रो हातमा नै हतकडी लगाइदिएका छन् ।’

belhiya-butawal road (2)
उद्योगी व्यवसायीका ठेकेदारले साउन १४ गतेको बैठकमा प्रमुख जिल्ला अधिकारीलाई प्रभावमा पारेर ५ वटा बुदाँमा निर्णय गराएको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारीले बेलहिया-बुटवल सडकखण्डको ६ लेन सडक गुणस्तर न्युन देखिएको कारण आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडी बढाउने निर्णय समेत गरेका थिए ।

तर, हाल सम्मयस निर्णयमा कुनै कारवाही भएको छैन । उक्त बैठक भारवाहन सवारी विना कुनै अवरोध नजिकको औद्योगिक करिडोर सम्म लैजानका लागि मात्र बसिएको सहजै बुझ्न सकिने सरोकारवाला बताउँछन् ।
‘नीतिगत स्पष्टता नभएसम्म’ नजिकको औद्योगिक कोरिडोरसम्म भारवाहन सवारी लैजान दिइने भनेर गराइएको निर्णयले कति वर्ष सम्ममा लैजान पाइने कुनै स्पष्टता छैन ।

१० टन धान्ने सडक, ६० टनको गाडी

सिडिओलाई मुठ्ठीमा लिएर एकैपटक वर्षौंसम्मका लागि उच्च् भार युक्त गाडी सडकमा गुडान सक्ने गरी उद्योगीका ठेकेदारले निर्णय गराएका छन् । जसमा १० टन क्षमता भएको सडकमा ६० टनको मालवाहक सवारी गुडेपनि ठेकेदारले निर्णय पत्र देखाउँदै सहजै छुट लिने र सडक भत्किँदै गएपनि उद्योगी व्यवसायीले आफ्नो कुनै गल्ती नरहेको स्पष्टीकरण दिन सक्ने स्थानीय बताउँछन् ।
belhiya-butawal road (1)
उच्च भारवाहनयुक्त सवारीले सवारी दुर्घटना हुन सक्ने भन्दै नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले सवारी क्षमताभन्दा बढी माल बोकेको सवारीलाई रोकेपछि उद्योगी व्यवसायीका ठेकेदारले प्रहरीलाई बजार बन्द गर्ने ‘धम्की’ समेत दिएको प्रहरी स्रोतले बताएको छ ।

अझ गज्जबको कुरा के हो भने नजिकको औद्योगिक करिडोरसम्म जाने मालवाहक सवारीले ट्राफिक नियम उल्लंघन गरी क्षमताभन्दा बढी माल बोकेर लगेपनि ट्राफिक नियम उल्लघंन गरेको मानिदैन । अर्थात ट्राफिक नियम उल्लंघन गरेबापत समान्य कारवाही जरिवाना समेत लिइने गरिएको छैन ।

क्षमताभन्दा बढी माल बोकेका सवारीले क्षमता भन्दा बढीको माल अर्को सवारीमा पल्टी गरेर लैजानका लागि प्रहरीले पटक पटक अनुरोध गर्दै आएको छ । तर उद्योगी व्यवासयीका ठेकेदारले प्रहरीले उद्योगी व्यवसायीको उठिबास गराउन लागेको भन्दै प्रहरीमाथि नै जाई लाग्दै खुलेआम प्रहरीलाई नै रमितेजस्तो बनाइदिएका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्गले प्रमुख जिल्ला अधिकारीको अध्यक्षता बसेको बैठकको निर्णयअनुसार आफुहरुले काम गरिरहेको र भारवाहन सावरीलाई छाडिरहेको बताए ।

सडक गुणस्तरहीनः अध्यक्ष शर्मा

उद्योगी व्यवसायीको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले भारवाहन क्षमताको सवारीका कारण सडक नभत्किएको दावी गरे ।
belhiya-butawal road (3)
उनले सडकको गुणस्तरमै पनि प्रश्न तेर्साए । सडक गुणस्तरहीन निर्माण भएको कारण भारवाहन क्षमताका सवारीले सडक भत्किएको भन्न नमिल्ने उनको भनाइ छ । शर्माले अन्य सडकमा (लुम्बिनी करिडोर मार्ग, परासी मार्ग) भारवाहन सवारी गुड्दा उताको सडक नभत्किएको दावी गर्दै बेलहिया-बुटवल सडकखण्डमा भारवाहन सवारी गुड्दा सडक भत्किनुमा सडक गुणस्तरहीन निर्माण भएको तर्क गरे ।

ओभरलोडले बिगार्‍योः आयोजना प्रमुख

व्यापारी मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकखण्डका प्रमुख शालिग्राम रेग्मीले सडक गुणस्तरयुक्त रहेको भारवाहन -ओभरलोड) सवारीका कारण सडक भत्किएको दावी गरे ।

उनले उद्योगी व्यवसायीले सडकको गुणस्तरमा प्रश्न उठाउँनु स्वाभाविक भएको भन्दै सडकको गुणस्तरमा प्रश्न नउठाए सडक भत्किनुमा उद्योगी व्यवसायीकै स्पष्ट रुपमा गल्ती देखिने भएको कारण उनीहरुले सडको गुणस्तरमा प्रश्न उठाएको बताए ।

ओभरलोडले सडक भत्किएपनि कुनै निकाय वास्ता नगरेको उनको गुनासो छ । १० टनको क्षमता भएको सडकमा ६० टनको भारवाहन गुडेमा सडक भत्किनु स्वाभाविक भएको बताए ।

साउन १४ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले ओभरलोडलाई छुट दिने गरेको निर्णय नै गलत भएको उनी बताउँछन् ।

उनले निर्णय भएलग्त्तै आफुहरुले आपत्ति जनाउँदै जिल्ला प्रशसान कार्यालयलाई पत्र लेखे पनि कुनै प्रतिक्रिया नआएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment