Comments Add Comment

जन्मदिनको खर्च ‘कांग्रेसकी’ आमालाई

रकम बुझ्दै अनलाइनखबरका प्रमुख कार्यसञ्चालन अधिकृत सुरेश भुसाल
रकम बुझ्दै अनलाइनखबरका प्रमुख कार्यसञ्चालन अधिकृत सुरेश भुसाल

७ असोज, काठमाडौं । कांग्रेसको शसस्त्र क्रान्तिका बेला डोकोमा भात बोकेर जंगल जंगलमा लगेर नेताहरुलाई खुवाउने कांग्रेसकी आमाको बारेमा अनलाइनखबरमा समाचार पढेर एक युवाले दशैं खर्च स्वरुप आर्थिक सहयोग गरेका छन् ।

जीवनभर कांग्रेसको सेवा गरेकी र कांग्रेस संस्थापक सुवर्ण शमशेरको सुसारेका रुपमा रहेकी रामेछाप तिल्पुङ भलायोखर्ककी ८९ वर्षीया पद्मकुमारी कार्की बेसहारा बनेको समाचार अनलाइनखबरमा प्रकाशित भएको थियो ।

सो समाचार पढेर आफू प्रभावित भई जन्मदिनमा साथी भाइहरुसँग बसेर खानपिन गर्ने खर्च कटाएर कांग्रेसकी आमालाई दशैं खर्च दिने इच्छा जागेको जोरपाटीका कुमार लामाले बताए ।

अनलाइनखबरको कार्यालयमा पत्नीसहित आएका लामाले आफ्नो तर्फबाट आमालाई तत्काल १० हजार रुपैया दशै खर्च दिने इच्छा व्यक्त गरे । उनले दशैंपछि ती बेसहारा आमाको बस्ने घर निर्माणमा आफूले सहयोग जुटाउने बचन समेत दिएका छन् ।

नेपाली कांग्रेसका गोकर्णेश्वर नगरपालिका नगर समिति कोषाध्यक्ष समेत रहेका लामाले कांग्रेस नेतृत्वले पद्मकुमारी जस्ता धेरै त्यागी आमाहरुलाई बिर्सिएको गुनासो गरे । उनले अनलाइनखबरले गुमनाम आमालाई बाहिर ल्याइदिएकोमा धन्यवाद दिँदै भविष्यमा पनि ती आमालाई सघाउने बताए ।

लामाले आफ्नो जन्मदिनको खर्च कटाएर दिएको सहयोग चाँडैनै ती आमाको हातमा पुर्‍याउने आश्वासन अनलाइनखबरका प्रमुख कार्यकारी सुरेस भुसालले बताए ।

अनलाइनखबरकर्मी मात्रिका पौडेलले रामेछापको तिल्पुङ भलायोखर्क पुगेर बेसहारा कांग्रेसकी आमाको बारेमा समाचार तयार पारेका हुन् । उनका पति स्वर्गी जमदार भक्तवहादुर कार्की २००७ सालका क्रान्ति योद्धा थिए । उनको १० वर्षअघि निधन भएपछि एक्लो भएकी पद्मकुमारी पछिल्लो समय रोगले थलिएर बेसहारा भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment