Comments Add Comment

डोकोमा भात बोकेर कांग्रेसलाई खुवाउने आमाको पुकार

सुवर्ण शमसेरको सेवा गरेकी पद्मकुमारी बनिन् बेसहारा

padam kumari 2५ असोज, तिल्पुङ (रामेछाप) । हरियो त्रिपालमुनि दलानमा बसेर आमा सुस्ताइरहेकी थिइन् । हातमा लठ्ठी र हँसिया बोक्नु उनको आदत हो । सुस्केरा हाल्दै उनले हामीसँग भनिन्-अब त थाकियो, कसैले दया गरे पनि हुन्थ्यो ।

उनलाई गाउँतिर कांग्रेसकी आमा पनि भन्छन् । उमेर ठ्याक्कै कति भयो भन्ने उनी आफैंलाई थाहा छैन । तर हिसाब गर्दै ८९ वर्ष पुर्‍याइन्। यिनै कांग्रेसकी आमा पद्मकुमारी कार्की कुनै बेला वीपी कोइराला र सुवर्ण शमसेरका घरमा बेरोकटोक आउजाउ गर्थिन् ।

‘रामचन्द्र र शेरवहादुरलाई भात खुवाएकै हुँ’

कांग्रेसको पहिलो र दोस्रो पुस्ताका शीर्ष नेताहरुको सेवा गरेर जीवनको आधार उमेर बिताएकी यीनै आमा आज आफ्नै जीवनको उत्तरार्धमा बेसहरा भएकी छन् । १० वर्षअघि प्रजातन्त्र सेनानी उनका पति जमदार भक्तवहादुरको निधनपछि बेसहरा बनेकी पद्मकुमारी पछिल्लो समयमा आत्तिन थालेकी छन् ।

‘छोराछोरी छैनन्, राणा शासन ढाल्ने मेरा बुढाले पनि एक्लै छाडेर गए । अब त आत्तिन थालेकी छु, कहाँ गए होलान् मैले पालेका कांग्रेस नेताहरु’ लठ्ठी सुम्सुम्याउँदै उनले भनिन् ‘रामचन्द्र र शेरवहादुरलाई पनि मैले दरभंगामा भात खुवाएकै हुँ’ ।

टाउकोको मोल तोकिएपछि दरभंगामा

भारतको दरभंगामा भक्तबहादुर र पद्मकुमारी निर्वासित थिए । कांग्रेसका भिमवहादुर तामाङ, पद्मशंकर अधिकारीहरुसँगै उनीहरु दरभंगा पुगेका थिए । पछि सुवर्ण शमसेरले कलत्तामा आफ्नै हबेलीमा लगेर राखे यिनलाई ।

कांग्रेसका चार तारा मध्येका एक तार मानिन्छन् स्वर्गीय सुवर्ण शमसेर । २००७ सालको क्रान्तिमा सुवर्ण शमसेरको शसस्त्र समूहका एक लडाकु थिए जमदार भक्तवहादुर कार्की ।

तत्कालीन नेपाली सेनाको जागिर छाडेर भक्तवहादुर कांग्रेसको मुक्तिसेनामा भर्ती भएका थिए । रामेछाप तिल्पुङ भलायोखर्कका भक्तबहादुर क्रान्तिपछि सुवर्ण शमसेरको आठ पहरिया भए ।

सुवर्ण शमसेरको ५० वर्ष पूरानो चिठी

padamkumari 4

पञ्चायत शासनले कांग्रेसका पद्म शंकर अधिकारीसँगै भक्तवहादुरको पनि टाउकोको मोल तोकेपछि उनी पत्नी पद्मकुमारीसँगै निर्वासित भएका थिए । वीपी जेलमा परेकाले त्यो बेला सुवर्ण शमसेर कांग्रेसको कार्यवाहक सभापति थिए ।

करीव ९ वर्षको निर्वासनपछि तत्कालीन पञ्चायती सरकारले आम माफी दिएसँगै सुवर्ण शमसेरको चिठी बोकेर भक्तवहादुर दम्पत्ति पनि नेपाल फर्किएका थिए । पतिले आम माफी पाएको २०२५ सालको सुवर्ण शमसेरको चिठी समेत उनको झुपडीमा सुरक्षित छ ।

भूकम्पको बेला घर भत्किए पनि यी ९० पुग्न लागेकी कांग्रेसकी आमाले सुवर्ण शमसेरको चिठी,त्यो बेलाका फोटा र कांग्रेसको सदस्यतापत्र सुरक्षित राखेकी छन् । २०५७ सालदेखि उनको कांग्रेस पार्टीको क्रियाशिल सदस्यता नविकरा गरिएको रहेनछ ।padam kumari3

‘अब दिन गनेर बाँच्नु परेको छ, के को क्रियाशील सदस्यता ? जति गर्नु उमेरमा गरियो, टाउको काटेर ल्याउ भन्दा जंगलमा गएर बसियो’ अतीतमा डुब्दै आमा बोल्न थालिन् ‘आजका कांग्रेसले त हामीलाई चिन्दैनन् होला तर सुवर्ण बाबु र बिपी बाबु,किसुनजीहरुको काखमा हुर्किर्एकी हुँ पनि पनि’ ।

जंगलाका बिद्रोहीलाई डोकोमा भात

जति बेला कांग्रेस शसस्त्र क्रान्तिको नेतृत्व गरिरहेको थियो बेला पद्मकुमारीका पति भक्तवहादुर बन्दुक बोकेर हिडेका थिए । कांग्रेस नेताहरुको टाउकोको मूल्य तोकेको राज्यले ।

जंगलमा लुकेर बसेको विद्रोही कांग्रेसहरुलाई घरमा भात पकाएर डोकोमा बोकेर लुकाउदै पुर्‍याउँथिन् उनी । अतीत सम्झिँदै उनी भन्छिन्-डोकोमा भात बोकेर धेरै कांग्रेसलाई पालेँ । अब त आफैं थला परेँ, कसले पाल्ने, कसले फाल्ने हो ?

सजायँ मिनाहा भएपछि २०२५ सालमा पतिसँगै पद्मकुमारी तिल्पुङ भलायोखर्क फर्केकी हुन् । यसबीचमा जायजन्म केही नभएकाले पतिले भएभरको जग्गा जमिन बेचेर जीवन धाने ।

कांग्रेस बेखबरः एमाले नेताको चासो

एक्लो जीवन,बृद्ध अवस्था र पछिल्लो पटक भूकम्पले बास समेत भत्काएपछि उनी शिथिल बनेकी छन् । केही समयअघि सिकिस्त बिरामी परेपछि उनकै इच्छा अनुसार दश दान वैतर्णी गराइएको भतिजा ठगबहादुर कार्कीले बताए ।

बिहान बेलुका ठगबहादुरका परिवारले सामान्य सहयोग गरिरहेका छन् । आपत विपत पर्दा नाति पर्ने शंकर कार्कीले पनि उनलाई भरथेग गर्दै आएका छन् । शंकर कांग्रेसका गाउँ कार्य समिति सभापति पनि हुन् ।

कांग्रेसका ठूला साना सबै नेताको रेखदेख गरेकी आमालाई पार्टीले किन नचिनेको ? यो प्रश्नमा शंकर भन्छन्-उहाँको पनि गुहार माग्ने स्वभाव छैन, हामीले पनि सकेको यतै गरेका छौं, जिल्ला र केन्द्रलाई भनेका छैनौं । यसमा पार्टीको दोष छैन ।

गत साता एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेल आएपछि मात्र आमाको सन्दुकभित्रबाट कागजपत्र खोज्दा पूराना दस्ताबेजहरु भेटिएको शंकरले बताए । ‘एमालेको नेताले केही सहयोग जुटाउने भन्नुभएको छ’ उनले भने ।

कसैले सहारा दिए आशिर्वाद दिन्थेँ

जीवनका अधिकांश समय गाउँमै बिताएकी र ९ वर्ष निर्वासनमा बसेकी यी आमा सकेसम्म आफ्नै गाउँमा बाँकी जीवन बिताउन चाहान्छिन् । बाँकी जीवन सहज ढंगले जिउन कसैले सघाए आशिर्वाद दिने थिएँ भन्छिन् आमा ।

शहरमा बस्ने व्यवस्था भए जानुहुन्न ? आमा भन्छिन्-कसले लान्छ र जानु ? राम्रो व्यवस्था गरिदिने भए पनि जानु पनि हुन्थ्यो नि । अब त कति पो बाँचौंला र ? यो उमेरमा बेसहारा भएर बाँच्न गाह्रो हुँदो रहेछ ।

भूकम्पले घर भत्कायोः पाटीको बास

भूकम्पले घर भत्काएपछि यी आमा केही महिना घरसँगैको सानो मन्दिरमा बसिन् । पछि भतिजाहरुले त्रिपालको ओत लगाएर पाटी जस्तो छाप्रो बनाइदिएपछि त्यहीँभित्र बसिरहेकी छन् । ‘अब सबैले सहयोग गरे भने मेरा पति बितेको यहि ठाउँमा घर बनाउने मन छ’ उनले भनिन् ।

padamkumari5कांग्रेसका जिल्ला तथा केन्द्रका नेताहरु अहिलेसम्म यी आमाको हालचाल बुझ्न रामेछाप सदरमुकाम मन्थली नजिकैको भलायोखर्कसम्म पुगेका छैनन् । पछिल्लो पटक एमाले नेता पौडेल पुगेपछि मात्र यी आमाको घरमा पुगेपछि मात्र जिवितै छन् भन्ने थाहा पाए ।

आशे आमा

आयस्रोत र जायजेथा केही नभएकी यी आमा अब आशे भएकी छन् । उनको दलानमा कोही पुग्यो भने केही ल्याइदिएको छ कि भनेर आशा गर्छिन् । मन्थलीबाट करीव १० किलोमिटरको यात्रापछि आधा घण्टामात्र उकालो हिँडेपछि पुगिन्छ यिनको छाप्रोमा ।

आफ्नो सिंगो जीवन मुलुकको परिवर्तनका लागि समर्पण गरेकी आमालाई भेट्दा इतिहासको जिउँदै छ भन्ने लाग्छ । अब उनलाई सहाराको खाँचो छ । लिखित इतिहास पढेर गर्व गर्नेमात्र होइन जीवित इतिहासको संरक्षण गर्ने दायित्व पनि नयाँ पुस्ताको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment