Comments Add Comment

युद्ध दोहोरिन लाग्दैछ, सरकार ठट्टा गरेर बसेको छ : सांसद अधिकारी

४ चैत, काठमाडौं । राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले मुलुकमा युद्धको डरलाग्दो स्थिति दोहोरिन लागे पनि सरकार भने ख्याल ठ्ट्टा गरेर बसिरहेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कारण शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठे पनि सरकारले भने गम्भीरतापूर्वक नलिई समस्या बल्झाउन लागिरहेको बताए ।

विप्लवले हतियारको राजनीति र चन्दा आतंक सुरु गरिसकेको भन्दै अधिकारीले सरकारले लुटेरा समूह भनेर कानुनी ढंगले मात्र समाधान खोज्नु गलत हुने धारणा राखे ।

‘दर्ता हुनु र नहुनु राज्यको आँखामा एउटा कुरा हो, तर एनसीपीलाई लुटेराको दस्तामात्रै भनेर सुख पाइएला त ? त्यसलाई भोलि राजनीति डिल गर्नुपर्ला कि नपर्ला ?’ उनले प्रश्न गरे । विप्लवको पार्टीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीले पनि समस्या चर्काउन खोजेको आरोप लगाए । ‘प्रधानमन्त्रीले लोकतन्त्रको नाममा आशु बगाउनेहरु किन विप्लवपट्टि लागेका भनिरहनुभएको छ ।

यसरी जिस्किने विषय हो ’? उनले प्रश्न गरे । अधिकारीले प्रतिपक्षलाई विश्वासमा अब कसरी अगाडि बढ्ने भनेर गम्भीर विमर्श गर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारले विप्लवका गतिविधिलाई नियन्त्रण गर्न कानून प्रयोगमा कसैले रोक नलगाएको भन्दै उनले राजनीतिक ढंगले पनि समाधानको बाटो खोज्न आग्रह गरे । २०५२ सालमा सुरु भएर १० वर्ष चलेको युद्धको संक्रमणकालीन न्यायको चक्र अझै नसकिएका बेला फेरि नेपथ्यबाट युद्धको स्वर सुनिनु दुखद भएको सांसद अधिकारीले बताए ।

विप्लव आफै १२ बुँदे सहमतिको हिस्सा भएको र पहिलो संविधानसभा निर्वाचनमा सहभागी भएकाले अहिले फेरि हतियार र चन्दा आतंकमा लाग्नु उचित नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment