+
+

दशैंमा टीका नलगाउने प्रधानमन्त्रीलाई पत्र

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७३ असोज २९ गते १२:४५

मान्यवर प्रधानमन्त्रीज्यू,

सर्वप्रथम विजया दशमी २०७३ को हार्दिक शुभकामना ।

देशको प्रधानमन्त्री तपाई टीका बहिष्कार गरेर बालुवाटारमै बस्नु भो भन्ने समाचारहरु आएका छन् । तसर्थ, प्रधानमन्त्रीका रुपमा तपाईसँग टीका थाप्न चाहनेहरु कि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवास गए, कि त पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मलनिवासमा पुगे ।

पूर्वराजासँग टीका थाप्न पंक्तिबद्ध भएकाहरुको ठूलै लर्को देखिन्थ्यो । तपाईले अधिकांश नेपालीहरुले मानी आएको धार्मिक एवम् सांस्कृतिक पर्वलाई गरेको बेवास्ताले आगामी निर्वाचनमा तपाईका मतदाता बढ्लान् कि घट्लान् ? यसको हिसाब आगामी निर्वाचनहरुले प्रष्ट्याउने नै छन् ।

Bhanubhakta-achryaदशैंका अवसरमा तपाईले दिएको सन्देशमा ‘बडादशैं २०७३ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन म सम्पूर्ण नेपालीहरुमा विशेष अनुरोध गर्दछु’ भन्ने वाक्य उल्लेख थियो ।

त्यसैगरी उक्त विज्ञप्तिमा “विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो” भन्ने सन्दर्भ पनि समेटिएको थियो ।

अर्थात् तपाईको सन्देशले दशैंको टीका बहिष्कार गर्नुपर्ने कुनै कारणतर्फ इंगित गर्दैन ।

नेपाल धर्म निरपेक्ष राष्ट्र भएकाले कुनै धर्म वा संस्कृति मान्ने वा नमान्ने स्वतन्त्रता तपाईलाई छ । यो स्वाभाविक कुरा हो । यदि त्यसो हो भने दशैं लगायतका पर्वमा बेलाबेलामा आइरहने प्रधानमन्त्रीको सन्देश जरुरी छ ? के यस्ता सन्देशहरु दुनियाँलाई अल्मल्याउन मात्रै हुन् ? तपाईले दुनियाँलाई अल्मल्याउन एकथोक भन्नुभयो र आफूले अर्कैथोक गर्नुभयो । अर्थात् विजया दशमीका लागि वक्तव्यमार्फत् तपाइँले जे सन्देश दिन खोज्नुभयो, तपाईको टीका वहिष्करणले त्यसलाई उल्ट्याइदिएको छ ।

देशको प्रधानमन्त्रीले जब एउटा कुरा भन्छ र अर्कै कुरा गर्छ भने प्रधानमन्त्रीका आश्वासनलाई जनताले पत्याउँछन् ? यदि नयाँ नेपालमा गणतान्त्रिक अभ्यासअनुसार टीका नलगाउनु उत्तम हो भने सोझै भनिदिएको भए हुन्थ्यो ।

धर्म निरपेक्ष राष्ट्र भएकाले कुनै पनि चाडपर्वमा प्रधानमन्त्रीले कुनै पनि किसिमको सहभागिता जनाउँदैन भनेर भन्न सक्नुहुन्छ ? तपाईले त दशैंको शुभकामना सन्देशमा राजनीतिक सन्देशहरु समेत घुसाउन भ्याउनुभएको छ -“राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन गर्यौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ ।”

चाडपर्वमा दिइने शुभकामनाहरु राजनीतिक अभिष्टका लागि मात्रै हुन् ? तपाईको टीका वहिष्करणले धेरै नेपालीहरुले एकता बलियो भएको सम्झे कि खण्डित भएको सम्झे होलान् ? हेक्का रहोस्, तपाईले भनेको कुरा पत्याउनेहरु घटिरहेका छन् ।

तपाईले सांस्कृतिक पोशाक दौरासुरुवाल नलगाएर कहिले टाइ बिनाको सर्ट पाइन्ट लगाएर औपचारिक समारोहहरुमा हिंडेको कुरा पनि बेलाबेलामा सार्वजनिक चासो र टिप्पणीका विषय हुने गर्दछन् । अर्थात् तपाई बेलाबेला चिया गफ वा सामाजिक सञ्जालमा ठट्यौलीको पात्र बन्नुहुन्छ ।

दौरा सुरुवाल त के नेपालीहरुले लगाउने कुनै पनि सांस्कृतिक पोसाक लगाउनुस्, त्यसमा नेपालीपन झल्किन्छ । सांस्कृतिक पोसाकमा कुनै पनि धर्मको लेबल लागेको हुँदैन । तपाईप्रति नेपालीहरुको सद्भाव बढ्छ, घट्दैन । नेपालीहरुले पुस्तौंपुस्तादेखि लगाई आएका पोसाकलाई तपाईले अस्वीकार गर्नुभयो ।

तपाई फूलैफूलका मालाहरुले लपेटिएर हिँडेको, पूरै अनुहारमा लत्पतिने गरी अवीरले रंगीन भएर हिँडेको दुनियाँले बारम्बार देखेका छन् । यस्तो मानिसले विजया दशमीको टीकामा सरिक भइदिएको भए नेपालीले लगाउने मौलिक पोश्ााक लगाइदिएको भए तपाईको कथित क्रान्तिकारी ‘छवि’ बिग्रन्थ्यो र ? अवश्य बिग्रने थिएन । बरु, नेपालीहरुसँग सांस्कृतिक सद्भाव र सामीप्यता अझै बढ्ने थियो ।

उदाहरणका लागि कुनै बेलाका तपाईकै राजनीतिक सहकर्मी डा. बाबुराम भट्टराई दशैंमा मान्यजनबाट टीका लगाइरहनुभएको देखिन्छ । त्यो उहाँमा धार्मिक आस्था भएर होजस्तो लाग्दैन, बरु सांस्कृतिक ऐक्यवद्धताका लागि उहाँले त्यसो गरिरहनुभएको छ । तपाई यस मामिलामा चुक्नुभएको छ ।

नेपालका सबैजसो कम्युनिष्ट नेता कार्यकताहरुले चाडपर्व मानेका छन्, टीका लगाएका छन् । यसको अर्थ उनीहरु कम र तपाई बढी कम्युनिस्ट भन्ने हुँदैन । सांस्कृतिक सहभागिता भनेको जनताको भावनाको आदर हो ।

राजनीतिक नेतृत्व सम्हालेकाहरुले त जनसम्पर्कका लागि सांकेतिक रुपमा सबै कुराको नेतृत्व लिनुपर्ने हुन्छ । यस मामिलामा तपाई खरो उत्रन सक्नुभएन ।

वर्तमान अमेरिकी राजदूत एलाइना बी. टेप्लिजले दशैंको टीका जमरा लगाएर नेपालीहरुको सांस्कृतिक पर्वप्रति सद्भावना प्रकट गरिन् । उनी धर्मले क्रिस्चियन हुन् ।

यहाँलाई थाहै होला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहम्मद मोहसिन दशैंको टीका थाप्न बर्षेनी राजदरबार जान्थे । उनी जन्मजात मुस्लिम थिए । तर, उनको टीकाग्रहण धर्मान्तरण थिएन, बहुसंख्यक नेपालीहरुप्रति उनले दर्शाएको सद्भाव थियो । किनभने उनका धेरै मतदाता हिन्दु थिए । उनी सांस्कृतिकरुपमा सबैसँग जोडिन चाहन्थे ।

वर्तमान अमेरिकी राजदूत एलाइना बी. टेप्लिजले दशैंको टीका जमरा लगाएर नेपालीहरुको सांस्कृतिक पर्वप्रति सद्भावना प्रकट गरिन् । उनी धर्मले क्रिस्चियन हुन् । तर, उनी बहुसंख्यक नेपालीहरुले खुसी साटेका बेलामा त्यसमा सरिक हुन चाहिन् । उनी हिन्दु भएकी होइनन् ।

हुन त चिसिँदो सम्बन्ध भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट तपाईलाई टीका लगाउन मन थिएन होला । तर, लगाएकै भए अझ राम्रो हुन्थ्यो । किनभने उनी पनि कम्युनिस्ट नै हुन् । भेटघाटले सम्बन्ध सुमधुर बन्थ्यो । सांस्कृतिक सहभागिताले तपाईको आस्था बदल्ने थिएन, बरु तपाईका शुभेच्छुकहरु अझै बढ्ने थिए ।

तपाईलाई थाहै होला, पूर्वउपराष्ट्रपति परमानन्द झाले संविधान संशोधन गराएर हिन्दीमा सपथ लिएर के जिते ? जितेनन्, हारे मात्र । हुन त उनले नेपालीमा पनि सपथ लिए, तर उनले मातृभाषा मैथिलीलाई बेवास्ता गरेर दक्षिणी छिमेकी रिझाउन जे-जस्तो हर्कत गरे, त्यसलाई इतिहासले सदासर्वदा धिक्कार्ने छ ।

Prachanda-tika

हुन त उपराष्ट्रपति भएपछि उनले दौरासुरुवाल लगाए, नेपालीमा बोले, नेपाली सांस्कृतिक पर्वहरुमा भाग लिए । तर, बहुसंख्यक नेपालीहरुका मनभित्र उनले कोरेको दाग मेटाउन सकेका छैनन् ।

अमेरिकी राष्ट्रपति, बेलायत र क्यानडाका प्रधानमन्त्रीले दिवाली (दिपावली) पर्व मनाएर हिन्दु धर्मावलम्बीहरुको मन जितिरहेका छन् । गत वर्षको होली महोत्सवमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो हिन्दुधर्मावलम्बीहरुसँग धुमधाम होली खेलेका थिए ।

राजनीतिक नेताहरुले सांस्कृतिक कार्यमा सहभागी हुनु भनेको चुनावमा भोट बढाउनु पनि हो । तपाईले १२ वर्षमा मनाइने पचली भैरवको जात्रामा जान अस्वीकार गरेका कारणले पूर्वराजा ज्ञानेन्ऽलाई १० दिनअघि स्थानीयवासीले राजाकै हैसियतमा बोलाए । यसले तपाईको कद होचिँदै गएको अनुभव गर्न सकिन्छ ।

अझ स्पष्ट भन्नु पर्दा तपाईको हेलचेक्र्याइँले राजतन्त्रवादीहरुलाई अझ बल पुग्यो । यति सामान्य गणित पनि तपाईले बुझ्नुभएन ।

प्रधानमन्त्रीज्यू,

दशैंको सन्देशमा तपाईले भन्नुभएको छ – राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुनर्परिभाषित र पुनसर्ंस्कार गर्न जरुरी छ । तर, तपाईलाई थाहै होला, पहिलो पटक प्रधानमन्त्री हुँदा तपाईले पशुपतिका भट्ट पुजारीहरुलाई हठात् हटाएर नेपाली पुजारी राख्न खोज्दा सांस्कृति पर्व र जात्राहरुको बजेट कटौती गर्दा तपाईको “क्रान्तिकारी सत्ता” डग्मगाएको थियो ।

जनभावनालाई कदर गर्न सक्नुभएन भने तपाईको जीवनकालमै माओवादी केन्ऽमा दुई चारजना आसेपासे बाहेक कोही नरहने अवस्था आउन सक्छ ।

सांस्कृतिक विखण्डनले निकै दूरगामी असर पारेका अनेक घटनाहरु इतिहासमा दर्ता भएका छन् । प्रधानमन्त्रीको टेबलमा सजाइएका तीन थान डिक्सनरीहरु मात्रै पल्टाएर नबस्नुस्, झिनामसिना ठानिएका व्यवहारिक कुराले अझै महत्वपूर्ण र रणनीतिक भूमिका खेल्छ । तपाईको चेत खुलोस् । तपाई अझै धेरैको साझा प्रधानमन्त्री बन्न सक्नुहोस् । नवदुर्गा भवानीले तपाईलाई यो चेतना प्रदान गरुन् ।

शुभेच्छुक
भानुभक्त आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?