+
+

मलेसियामा बिदेशी कामदारको अभाव, लगानीकर्ता अन्य देशमा सर्न थाले

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १ गते १०:३२

Malaysia

क्वालालम्पुर । मलेसियामा बिदेशी कामदारको अभाव चुलिएपछि यहाँ बर्षौदेखि हजारौंलाई रोजगारी दिइरहेका बिदेशी कम्पनीहरुले अन्य देशमा कारखाना सार्ने तयारी गरिरहेका छन् ।

मलेसियामा बिदेशी कामदार ल्याउन भइरहेको नीतिगत अप्ठेरोका कारण कम्पनीहरु चल्न नसक्ने अबस्थामा पुगेपछि ठूला लगानीकर्ताहरुले विकल्प खोज्न थालेका हुन् । उनीहरुले छिमेकी मुलुकहरु थाइल्याण्ड, भियतनाम र चीन लगायतका देशमा कम्पनी सार्ने तयारी गरिरहेका छन् ।

प्लास्टिकका पञ्जा उत्पादन गर्ने टप ग्लोव कम्पनीले थाइल्याण्डका उत्पादन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेका छ । ‘हामीले कम्पनी बचाउनका लागि यसो नगरी सुखै छैन’ कम्पनीका अध्यक्ष लीम वी चाईले निक्केइ रिभ्युसँग भने-‘निश्चित मात्रामा बिदेशी कामदार नभई फ्याक्ट्री चल्दैन, एक बर्षदेखि नयाँ कामदार ल्याउन दिइएन, हामीले थाइल्याण्ड र चीनमा विस्तार नगरी सुखै छैन ।’

टप ग्लोबको नाफामा यो बर्ष मात्रै ३६ प्रतिशतले गिरावट आएको छ ।

मलेसियामा निर्माण, उत्पादनमूलक उद्योग र प्लान्टेसन क्षेत्र बिदेशी श्रमिकका निर्भर छन् । तर, मलेसियाले अबैधानिक कामदारको संख्या कटौत ीगर्न बिदेशी कामदार लिन निरुत्साहित गर्ने र अबैधानिकलाई पुनः बैधानिक बनाउने प्रकृया सुरु गरेसँगै यहाँ कामदार अभाव तीव्र भएको छ ।

त्यसमाथि मलेसियामा कार्यरत मजदुरहरुले आफ्नो सम्झौता अबधि सकिएपछि पुनः मलेसिया आउने रहर नगर्दा यहाँ बिदेशी कामदारको संख्यामा गिरावट आइरहेको छ । गत बर्ष २२ लाख बिदेशी श्रमिक रहेकोमा यो बर्ष घटेर १९ लाखमा झरेको द स्टार दैनिकले जनाएको छ ।

यसै सातामात्र कृषि, पुष्प तथा पोल्ट्री व्यवसाय गर्ने व्यवसायीले प्रधानमन्त्री कार्यालयका मन्त्रीलाई भेटेर आफ्नो क्षेत्रमा ६३ हजार बिदेशी कामदार चाहिएको जानकारी गराएका छन् । तत्कालै सरकारले बिदेशी कामदार ल्याउन अग्रसरता नदेखाए मलेसियाको अर्थतन्त्रमै नकरात्मक असर पर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री कार्यालयका मन्त्रीले यो मामिलामा प्रधानमन्त्री नाजिव स्वयं जानकार रहेको भन्दै उनकै अग्रसरतामा यो अभावलाई सम्बोधन गर्ने तयारी भइरहेको बताएका छन् । ताइवानी लगानीकर्ताहरुको समूहले पनि मलेसियामा रहेका आफ्ना ९० प्रतिशत उद्योगमा बिदेशी कामदारको अभाव भएको गुनासो गरेका छन् ।

पछिल्ला दिनमा नेपाल सरकारले फि्र भिसा, फि्र टिकटको प्राबधान लागू गरेपछि मलेसियाबाट नेपाली कामदारको माग ह्वात्तै घटेकेा छ ।

मलेसियाले बंगलादेशी कामदार ल्याउन लगाएको प्रतिबन्ध व्यवहारिक रुपमा फुकुवा गरिसकेकेा छैन् । मलेसियाको न्यून पारिश्रमिकका कारण फिलिपिन्सका कामदारको प्राथमिकता पनि अन्य देशतिर केन्द्रीत छ ।

रिंगेटमा आएको गिरावट, तेलको भाउ घट्दा मलेसियाको अर्थतन्त्रमा देखिएको अस्थिरता आदिका कारण पनि कामदारहरुको पहिलो रोजाई मलेसिया हुन छाडेको छ ।

मलेसिया सरकारले भने व्यवसायीहरुलाई बिदेशी कामदारमाथिको निर्भरता घटाउन, अदक्ष तथा अर्धदक्ष कामदारको सट्टा दक्ष कामदारमा ध्यान दिन तथा प्रबिधिको प्रयोगमार्फत् कामदारको माग कम गरी अटोमेसनमा लैजान व्यवसायीलाई आग्रह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?