Comments Add Comment

माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

२ कात्तिक, रौतहट । घर लिपपोत गर्नका लागि मंगलबार विहान लालबकैया खोला छेउँमा माटो लिन गएकी एक किशोरीको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । रौतहटको सितलपुर बैरगनिया ८ गम्हरिया टोलका रामपुकार यादवको १५ वर्षीया छोरी रुबी कुमारी यादवको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

Rautahat-Mapउनी विहान साढे ९ बजेको समयमा गाउँलेहरुसँग माटो लिन गएकी थिइन् । ढिस्कोले पुरिएको उनको शव स्थानीय बासिन्दा र सन्तपुर दोस्तियाका प्रहरीहरु मिलेर बाहिर निकालेका थिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

दिपावली र छठका बेला घर लिपपोत गर्न माटो लिन जाने क्रममा वर्षेनि रौतहटमा ढिस्कोले पुरिँदा ज्यान जाने गरेको छ ।

यसैबीच गत सोमबार वागमती नदीमा नुहाउने क्रममा वेपत्ता भएकी बसतपुर गाविसकी एक वृद्धा अझै फेला परेकी छैनन् ।

सोमवार दिउँसो १२ बजेको समयमा बसतपुर गाविस ८ चण्डिहाकी ८० वर्षीया चन्द्रकला देवी गिरी वागमती नदीमा डुबेर वेपत्ता भएकी थिइन् । खबर प्राप्त हुनासाथ स्थानीय बडहर्वा र बसतपुर प्रहरी चौकीबाट खोजतलासका लागि प्रहरी खटाइए पनि अहिलेसम्म फेला पर्न नसकेको डिएसपी भण्डारीले बताए ।

आज पनि डुंगाको मद्दतबाट उनको खोजी जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment