११ कात्तिक, काठमाडौं । ब्रिक्सको आठौं शिखर सम्मेलनका बेला चीनले भारतीय भूमिमै नेपालसँग सम्झौता गर्ने इच्छा प्रकट गरेको तथ्य खुलेको छ ।
तर, चीनको त्यो प्रस्तावलाई अस्वीकार गर्दै काठमाडौं या बेइजिङमा मात्रै यस्तो सम्झौता हुन सक्ने नेपालले जवाफ दियो, जसका कारण गोवामा दुई देशवीच कुनै समझदारीमा कुनै हस्ताक्षर भएन ।
चीनले गोवामै नेपालसँग सम्झौता गरौं भनेको तर, आफूहरुले त्यसलाई नमानेको प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ बालुवाटारमा आयोजित सम्पादकहरुसँगको छलफलमा बताए ।
अघिल्लो साता भारतको गोवामा भएको चीन र नेपालका अधिकारीहरुको भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्रीसहित १२ जनाको सहभागिता थियो । चीनका तर्फबाट राष्ट्रपति र विदेशमन्त्रीसहित करिब दुई दर्जनको उपस्थिति थियो ।
सी जिनपिङ यो वर्ष नेपाल नआउने
गोवामा भएको दुई देशका नेताहरुको औपचारिक छलफलमा नेपालले यसैवर्ष अर्थात डिसेम्बरभित्रै नेपाल भ्रमणमा आउन चिनियाँ राष्ट्रपतिलाई आग्रह गरेको समेत प्रधानमन्त्रीले प्रचण्डले बताए । ‘तपाई साँच्चै आउने हो कि हैन ? भनेर आफूले सोध्दा चिनियाँ राष्ट्रपतिले म आउँछु भनेर अमूर्त जवाफ दिएको प्रधानमन्त्रीको भनाइ छ ।
‘यही वर्षमा आउनुपर्यो भन्दा आउने मात्रै भन्नुभयो ।’ प्रधानमन्त्रीले पत्रकारसँग भने, ‘पछि अनौपचारिक भेटमा फेरि सोधें-साँच्चै आउने हो कि हैन ? उहाँले म यो वर्ष आउन सक्दिँन, अर्को वर्ष लागेपछि तयारी गरौं, म आउँछु भन्नुभयो । डिसेम्बरसम्म आउन सक्दिँन भन्नुभयो ।’
प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको ‘वन बेल्ट वन रोड’ नीतिलाई नेपालले समर्थन गर्ने र यसबाट नेपालले फाइदा उठाउनुपर्ने बताए । र, यसमा नेपालका राजनीतिक पार्टीहरुमा पनि विमति नरहेको र । हामीले यसलाई समर्थन गर्दा इण्डियाले आपत्ति नजनाउने प्रधानमन्त्रीले स्पष्ट पारे ।
प्रतिक्रिया 4