Comments Add Comment

‘अख्तियारमा छापा मार्ने अधिकार हामीलाई छैन’

'कांग्रेसले केही भनेको छैन, समितिको बहुमतले जे भन्छ, त्यही हुन्छ'

महाअभियोग सिफारिस समितिका ११ जना सदस्य मध्येबाट समितिको सभापति चयन गर्नुपर्ने हो । तर, महाअभियोग सिफारिस समितिको सभापति कसले लिने भन्नेमा दलहरुबीच अझैसम्म कुरा मिलेको छैन ।

kumari-laxmi-rai-nepali-congressदलहरुबीच कुरा नमिलेमा समितिको बहुमतबाट सभापति चयन हुने त छँदैछ । तर, लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउने प्रकरणमा समितिको बहुमत एमाले र माओवादी केन्द्रसँग छ । यद्यपि यो बहुमत अहिले सभापति चयनमा भन्दा पनि महाअभियोग लगाउने सिफारिस गर्नमा उपयोग हुँदैछ ।

समितिको कार्यविधि बहुमतले सिफारिस गर्न सक्ने गरी बनाइएको छ । यदि कांग्रेस सहमत नभए पनि एमाले र माओवादी मिले भने महाअभियोगका लागि समितिबाट सिफारिस हुन सक्छ । तर, यसैको कचिंगलका कारण महाअभियोग सिफारिस समितिले अहिलेसम्म सभापति पाएको छैन ।

सभापतिको चयन हुन नसक्दा जेष्ठताकै आधारमा कांग्रेस सांसद कुमारी लक्ष्मी राईले समितिको अध्यक्षता गरिरहेकी छन् । ६७ वषर्ीया राईसँग अनलाइनखबरले लोकमानको महाअभियोग प्रकरणबारे गरेको संक्षिप्त कुराकानी यस्तो छः

महाअभियोग सिफारिस समितिको सभापति चयन गर्न किन सक्नुभएन ?

समितिको सभापति हामीले छान्ने होइन, दलहरुवीच भागवण्डा होला । त्यो नहुञ्जेल जेष्ठ सदस्यको हिसाबले मैले अध्यक्षता गर्नेछु ।

लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अहिलेसम्म तपाईहरुको समितिमै आउन सकेन, किन होला ?

यो कुरा त हामीलाई भन्दा पनि सभामुखलाई थाहा होला । संसदमा प्रारम्भिक छलफल सकिएपछि समितिमा पठाउने हो । तर, यसबीचमा संसदको बैठक लामो समयसम्म स्थगित गरियो । खासमा यति लामो समय नलगाएको भए पनि हुन्थ्यो होला । तर, यो त दलहरुबीचको सहमतिका लागि पनि हुन सक्छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाको भारत भ्रमण र भारतीय राष्ट्रपतिको नेपाल भ्रमणसँग यसको साइनो भएर पो हो कि ?

त्यस्तो त किन होला र ? तर, यसबीचमा हामीले बिजनेश नपाएकै हो ।

अब महाअभियोग समितिले आफ्नो काम कसरी अघि बढाउँछ ?

अहिले त हामीले हाम्रो समितिको कार्यविधि बनाउँदैछौं । कार्यविधि समितिले पारित गरेपछि हामी आफ्नो काम अघि बढाउछौं । यसका लागि कात्तिक २६ गते हामीले समितिको बैठक डाकेका छौं । त्यही बैठकले महाअभियोग सिफारिस समितिको काम गर्ने दायरा र कार्यविधि तय गर्ने छ । अस्ति नै कार्यविधि पारित गर्ने भनिएको थियो, तर केही सदस्यले थप अध्ययन गर्नुपर्छ भनेपछि अहिलेसम्म रोकिएको हो ।

कार्यविधिमै तपाईहरु वीच विवाद चाहिँ किन ?

त्यस्तो विवाद होइन, तर केही विषयमा थप छलफल आवश्यक देखियो । हामी कार्यविधि सर्वसम्मतरुपमै पारित गछौर्ं । धेरैजसो विषय हामीलाई संविधानले नै निर्देशित गरेको छ ।

समितिले लोकमानको आवास लगायतमा छापा मार्ने समेत अधिकार राखेर कार्यविधि बनाएको कुराले विवाद आएको भनिन्छ नि ?

कार्यविधिमा छापामार्ने कुरा आएजस्तो लाग्दैन । छापा मार्ने अधिकार हामीलाई संविधानले दिएको छैन । छापा मार्ने कुरा कहाँबाट आयो, मलाई अचम्म लागिरहेको छ । त्यस्तो कार्यविधि बन्न सक्तैन ।

तर, समितिकै सदस्यहरुले विषेशतः एमाले र माओवादीका सांसदले आवश्यक परेमा खानतलासी गर्न सकिने भनेका छन् नि ?

त्यो विषयमा छलफल हुँदैछ । संविधान र सांसदको नियमावलीसँग बाझिने गरी कार्यविधि बनाउन मिल्दैन । हामी आगामी बैठकमा यस विषयमा गम्भीर छलफल गर्छौं । र त्यसैमा खानतलासी गर्ने, छापामार्ने जस्ता कुराको टुंगो लाग्छ ।

नेपाली कांगे्रस लोकमानप्रति लचिलो भएकै कारण कार्यविधिमा विमति आएको हो कि ?

मलाई त्यस्तो लाग्दैन । अहिलेसम्म कांगे्रस पार्टीले हामीलाई लोकमानप्रति लचिलो हुने वा कडा हुने कुनै निर्देशन दिएको छैन । हामी हाम्रो प्रक्रिया अनुसार काम गर्छौं ।

अहिलेसम्म महाअभियोग समितिमा लोकमानबारे कुनै प्रस्ताव आएकै छैन । प्रस्ताव नै नआई लचिलो वा कडा भन्ने हुँदैन ।

समितिले आफनो कार्यविधिभित्र रहेर महाअभियोग लागेका व्यक्तिउपर अनुसन्धान गर्न सक्छ । सम्बन्धित व्यक्तिलाई बयानका लागि बोलाउन सकिन्छ । महाअभियोग लगाउने सांसदहरुलाई पनि बोलाएर बयान लिइन्छ । यी सबै विषयहरु प्रक्रिया अनुसार अघि बढछन् ।

लोकमानलाई पनि बयानका लागि बोलाउनुहुन्छ ?

समितिमा लोकमानविरुद्धको महाअभियोग प्रस्ताव आएपछि त्यसबारे छलफल हुन्छ ।

अहिलेसम्म हाम्रो समितिमा एकजना न्यायाधीश आनन्दमोहन भट्टराईविरुद्धको उजुरीमात्रै आइपुगेको छ । माननीय सांसद रामकुमार राई, रुक्मणी चौधरीलगायत तीनजनाको उजुरीउपर छानविन हुनेछ । वास्तवमा लोकमानभन्दा अघि न्यायाधीशको महाअभियोगबारे हामीले टुंगो लगाउनुपर्ने छ ।

यसरी तीनजना सांसदलाई रीस उठ्दैमा महाअभियोग लगाएर साध्य होला र ?

यो विषय समितिले टुंगो लगाउँछ । संविधान र संसदको आफ्नै नियमावली छ । कुल सांसद संख्याको एक तिहाइ नभई महाअभियोग प्रस्ताव दर्ता हुँदैन । अहिले हाम्रो समितिसमक्ष आएको भनेको उजुरी मात्रै हो, यो उजुरीउपर हामी छानविन गर्छौं ।

कुनै पनि व्यक्तिलाई महाअभियोग लगाएर हटाउने वा महाअभियोग लगाउन नपर्ने भन्ने सिफारिस कसरी गर्नु हुन्छ ?

यसैका लागि कार्यविधि बन्दैछ । समितिका १० सदस्यमध्ये बहुमतले महाअभियोग लगाउनुपर्ने मत जाहेर गरेमा सोहीबामोजिम हुनेछ । वास्तवमा महाअभियोग लागेका व्यक्तिउपरका सबै अनुसन्धान गर्ने कागजपत्र अध्ययन गर्ने र महाअभियोग लगाउनुपर्ने वा नपर्ने टुंगो लाग्छ ।

यसको मतलव समितिले महाअभियोग नलगाउने र लोकमानलाई जोगाउने निर्णय पनि गर्न सक्छ ?

त्यो त समितिले निर्णय गर्ने हो । समितिको बहुमतले जे भन्छ, त्यही हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment