+
+

मंसिर १० देखि हेवाखोलाले विजुली उत्पादन थाल्ने

 पुष्प दुलाल पुष्प दुलाल
२०७३ कात्तिक २२ गते १२:२९

hewa-khola
२२ कात्तिक, काठमाडौं । पाँचथरको ‘हेवाखोला- ए’ जलविद्युत आयोजनाले यही मंसिर १० गतेदेखि विजुली उत्पादन सुरु गर्ने भएको छ । कुल १४.९ मेगावाट उत्पादन क्षमताको आयोजना विजुली उत्पादनको अन्तिम चरणमा पुगेको हो ।

आयोजना निर्माण गर्न २ अर्ब ४० करोड रुपैयाँ खर्च भएको आयोजनाका सञ्चालक बसन्त नेम्वाङले अनलाइनखरलाई बताए । आयोजनामा सानिमा बैंकको नेतृत्वमा माछापुच्छ्रे र इन्भेष्टमेन्ट बैंकको ऋण लगानी छ । आयोजनाको अध्यक्ष शिक्षा तथा वित्तीय क्षेत्रमा स्थापित व्यावसायी तथा सांसद उमेश श्रेष्ठ अध्यक्ष छन् ।

‘आयोजनाको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । मंसिर १० गतेदेखि परिक्षण उत्पादन सुरु गर्छौं,’ सञ्चालक नेम्वाङले भने, ‘पुस लाग्नुअघि नै व्यावसायिक उत्पादन पनि सुरु भइसकेको हुनेछ ।’

आयोजनाको चार किलोमिटर टनेल, बाँध, इलेक्ट्रोनिक जडान, विद्युत् गृहलगायतको काम सम्पन्न भइसकेको उनको भनाई छ ।

सञ्चालक नेम्वाङकाअनुसार आयोजनाका कूल विद्युत उत्पादन क्षमता १४.९ मेगावाट भएपनि सुख्खायाममा ९ मेगावाट मात्रै उत्पादन हुने छ । यो आयोजना २०६८ सालदेखि निर्माण थालिएको थियो ।

गत असार मसान्तअघि नै आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको भएपनि भूकम्प, भारती नाकाबन्दी र नेपाल विद्युत प्राधिकरणले ट्रान्समिसन लाइन निर्माण गर्न ढिलाई गरेपछि प्रभावित भएको नेम्वाङले बताए ।

‘हामी त दुई महिनाअघि नै आयोजना निर्माण गर्न सक्थ्यौं तर प्रसारणलाइन नबन्दा उत्पादित बिजुली खेर जान्छ भनेर केही ढिला गरेका हौं,’ उनले भने ।

प्राधिकरणले १३२ केभी क्षमताको प्रसारणलाइन निर्माण गरिरहेको छ । प्रसारणलाइनका पोलहरु गाडिइसकेका भएपनि तार भने टाँगिएको छैन । अहिले ३३ केभीए क्षमताको प्रसारणलाइनबाट फिदिम सवस्टेशनसम्म उत्पादित बिजुली पुर्‍याउने नेम्वाङले बताए ।

जिल्लाको याङ्नाम गाविसमा हेडबक्स र नांगिन गाविसमा पावरहाउस छ । यो आयोजना तल हेवा खोलाबाटै २१ मेगावाट विद्युत क्षमताको ‘तल्लो हेवा जलविद्युत् आयोजना’ निर्माणाधीन छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको कात्तिक अन्तिममा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेपछि उर्जा मन्त्रालयले विद्युत आयोजनाहरु चाँडोभन्दा चाँडो सम्पन्न गर्ने कार्ययोजना बनाएको थियो ।

तर, विद्युत आयोजनाहरुले भोग्नुपर्ने समस्या समाधानमा सरकारले जुन भूमिका निभाउनुपर्दथ्यो त्यो हुन नसक्दा विद्युत आयोजनाहरु समयमा सम्पन्न हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?